Loading...
म्याग्दी क्याम्पसको २७औ वार्षिकोत्सव


सन्तोष गौतम
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले मङ्गलबार विभिन्न कार्यक्रम गरेर २७औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बेनीबजारमा ¥याली गर्नुका साथै क्याम्पसमा औपचारीक समारोहको आयोजना गरिएको थियो । क्याम्पसबाट सुरु भएको विद्यार्थी, प्राध्यापक र सञ्चालकहरुको ¥याली बजार परिक्रमा गरेर सभामा परिणत भएको थियो । 
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले म्याग्दीको शैक्षिक विकासमा म्याग्दी बहुमुखी क्याम्पसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्तर वृद्धिसँगै म्याग्दी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आङ्गीक बनाउन पहल गर्नुपर्ने बताए । प्रदेशसभा सदस्य विनोद केसी र जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा जोड दिए । 
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष तथा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले म्याग्दी क्याम्पसमा स्नाकोत्तर तहको कक्षा सञ्चालनको तयारी भएको जानकारी दिए । पहिलो चरणमा व्यवस्थापन सङ्कायमा स्नाकोत्तर तहको कक्षा सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालयबाट अनुमतिको प्रक्रियामा रहेको उनले बताए । जिल्लाको आवश्यकता र सम्भाव्यताको अध्ययन गरेर प्राविधिक विषय सञ्चालन गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । 
जिल्लामै स्नाकोत्तर तह र प्राविधिक विषयको अध्ययन गर्ने सुविधा भएमा धेरै विद्यार्थीहरुलाई राहत पुग्ने तथा उच्च शिक्षामा पहुँच बढ्ने अपेक्षा गरिएको छ । सो कार्यक्रममा प्रध्यापक संघका सभापति भोलानाथ घिमिरे, अभिभावक संघका अध्यक्ष रामप्रसाद सुवेदी, स्ववियु सभापती सावित्रा खत्रीले मन्तव्य राखेका थिए । 
कार्यक्रममा पबि बलभद्र स्मृति छात्रवृत्ति कोषका मदन थापा, दलबहादुर स्मृति कोषका चिरञ्जीवी बोगटी र कलावती छात्रवृत्ति कोषका भक्त कार्कीले मन्तव्य राखेका थिए । तीनवटै कोषबाट छात्रवृत्ति र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 
सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र क्याम्पस प्रमुख टिकाराम सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । वि.स २०४८ पुस १८ गतेदेखि म्याग्दी क्याम्पस सञ्चालन भएको थियो । समुदायद्वारा सञ्चालित म्याग्दी क्याम्पसमा हाल कक्षा ११ देखि स्नातक तहसम्म नौ सय जनाभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी संकायको पठनपाठन सञ्चालन हुँदै आएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads