Loading...
जातिय व्यवस्था नै देश बिकासमा बाधक

पूर्ण बहादुर विश्वकर्मा(पहाडी)
समाज संस्कार परिवर्तन गर्न सहज काम होइन, तर म सक्छु, हामी सक्छौ भन्ने सोच राखेर अगाडि बढ्यो भने सायद यो संसारमा गर्न नसकिने कुनै कुरा छैन । त्यसैले त आज संसार आधुनिक र कम्प्युटराइज भएको सबैलाई अबगत, अनिवार्य नै भएको छ । संसारमा उत्पत्ति भएको जति पनि ज्ञान, विज्ञान छन् सबै मानवीय देन हो । समाज व्यवस्था अनि धर्मको निर्माण कुनै ईश्वर, अल्लाह वा भगवान कसैले गरेको होइनन् यो सबै विभिन्न कालखण्डमा मानवद्वारा गरिएको समय अनुकुल परिवर्तन हो । मानव आदिम काल देखि वैज्ञानिक युग सम्म आई पुग्दा संसारमा धेरै परिवर्तन भएको छ । त्यसैले त हामी अहिले २१ औं शताब्दीको मानव हौ भन्ने गर्दछौ ।
तर त्यही २१ औं शताब्दीमा मानव–मानव बीच जातपात छुवाछूत मारमा खेप्दै छ नेपाल र नेपाली समाज, सिङ्गै जात व्यवस्थाले नेपाली समाजको प्रगतिलाई पारेको असरको विषय नेपाली समाज र राजनीतिको केन्द्रीय बहसको विषय कहिले बन्ला ? यो गम्भीर विषयमा कस्ले चासो राखिदिने, घरघरबाट जात व्यवस्थाको उँचनीच सिकेर आएका बालबालिका स्कुलमा प्राथमिक कक्षामा टेक्नबित्तिकै जात व्यवस्थालाई नैतिक वैधता दिने तरबार बोकेको चित्रसहितको क्षत्री ‘क्ष’ सिकाउने हाम्रो शिक्षाले समाजमा कस्तो शिक्षा दिन्छ भन्ने कुरा यहाँनेर लेखी राख्नु आवश्यकता देखिन्न । घर देखि समाज, स्कुलको प्राथमिक कक्षा देखि नै वर्ण व्यवस्था, जात प्रथा र त्यसको अमानवीय असरबारे कहिले शिक्षा दिन तयार होला नेपालको राज्य ? नेपालमा गैरदलित समाजभित्रको दलितप्रति उदार प्रगतिशील हिस्सा नै धेरै हदसम्म भ्रमग्रस्त छ । अहिले पनि मानवीय भन्दा वर्ण व्यवस्था व्यबहार हद भन्दा बढी छ । जातमा आधारित उँचनीच, पवित्र–अपवित्रलाई आफ्नो सोचको आम्बल बनाएको समाजले रुढीग्रस्त सोचाइमा रहेको भ्रम त छँदैछ, त्योभन्दा उदेकलाग्दो कुरा के छ भने मानवलाई पशु सरहको व्यावहार गर्ने पशुलाई मानव भन्दा उपल्लो स्थानमा राखेर पुज्ने जस्ता काम भएका छन ।
नेपाली समाज अझै पनि वर्ण व्यवस्था, जात व्यवस्था बाट संचालीत छ। त्यसको असर ६० लाख नेपाली जनतालाई परेको त छ नै जातीय व्यवस्थाको थुप्रै भ्रमहरूका बीचमा नेपाली समाज उभिएको छ। नेपाली समाजलाई गहिरिएर अध्ययन गर्यो भने हाम्रो संस्कृतिका हरेक मूल्य, मान्यता र आदर्श सबै कुनै न कुनै रूपमा वर्ण व्यवस्था अथवा जात व्यवस्थाद्वारा निर्धारित वा प्रभावित पाइन्छ। हाम्रो सौन्दर्य दृष्टि र सौन्दर्य मूल्यमा जात व्यवस्था यसरी घुसेको छ । तर व्यक्तिको जात थाहा पाउनेबित्तिकै या त बढी सुन्दर देखिन थाल्छ या त कुरूप देखिन थाल्छ। सुन्दरता जातको टाङमुनि छिरेको समाज व्यवस्था हिन्दू उच्च जातले राम्री भन्ने रङ र बान्कीको छोरी दलित परिवारमा जन्मिई भने भनिन्छ, आम्मोइ कति राम्री बाहुनीजस्ती राम्री रै छ रे सम्पूर्ण सुन्दरताको भकारी खास जातको भागमा र कुरूपता जति दलित समुदायको भागमा जस्तो गर्ने यो समाजले वर्गीय सम्मानको नारा लगाउदै हिड्ने नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पनि परिवर्तनलाई स्वीकार गर्न निकै कठिनाइ गर्छन् । बस यात्रा गर्दा एउटै सिटमा बसेर दलित र गैरदलित यात्रा गरिरहँदा सबै कुरा ठीक हुन्छ तर जब गैरदलितले सँगैको सहयात्री दलित भएको थाहा पाउँछ त्यसपछि एकाएक त्यस गैरदलितको दिमागमा सहयात्री दलितबारे सबै विषयमा कम्तीमा सयमा ८० प्रतिशत सोचाइ वर्ण व्यवस्था, जात व्यवस्थामा पुग्छ ।
दलित भन्ने जान्नेबित्तिकै अघिभन्दा कम सुन्दर अघिभन्दा कम बुद्धि भएको, सोचाइको राख्ने नेपाली समाज वास्तवमा वर्ण, जात व्यवस्थाले उच्च जाती हु भन्ने अधिकांशलाई जातिय विभेदको साँचोमा ढालेको छ । अझ रोचक कुरा के छ भने अधिकांस आर्य र खस जाती संग दलितहरू थर र गोत्र मिल्छ । तर दलितहरूले गौतम, घिमिरे, भट्टराई, खड्काथोकि आदि थर लेख्दा दलितले जात ढाँटे भन्ने गरिन्छ । हामीले यी कुरा खुब गर्छौ, नेपाल र नेपाली गरिब भए नेपालमा बिकास हुन सकेन युवाहरू बिदेशीनु बाध्य भए । स्वदेशमा रोजगारको व्यवस्था भएन । हामी संगै ब्यापार ब्यबसाय गरेका देश हामी भन्दा अगाडि गए तर नेपाल सधै यस्तै यस्तै भन्दै ! नेपाल र नेपाली समुदायको बारेमा वास्तविकता नेपालका बौद्धिक समुदायले कहिले पनि बुझ्ने कोशिश गरेनन् । वर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले सामाजिक जीवनलाई मात्र जटिल बनाएको होइन बरु यसले त सिङ्गै विज्ञान, प्रविधि र व्यापारको नेपाल र नेपालीको विकासमा समेत व्यापक बाधा खडा गरेको छ । नेपालमा आयुर्वेद, योग शिक्षा , ज्योतिषशास्त्र गज्जब विकसित भयो तर भौतिकशास्त्र , रसायनशास्त्र किन विकसित हुन सकेन ? नेपालका व्यापारी किन विश्वभरि व्यापार गर्न गएनन् ? त्यसको एउटा गम्भीर कारण जात व्यवस्था नै हो। 
कसरी सुरु भयो वर्ण, जात व्यवस्था ?
भारत र नेपालमा वर्ण व्यवस्था बाट जातीय व्यवस्था कसरी सुरु भयो भन्ने प्रश्नमा भारतमा आर्यको शक्ति कमजोर हुँदै जादा आफ्नो शक्तिलाई बलियो बनाउन मनु नामको आर्यले मनुस्मृति नामको सामाजिक विधानको रचना गरेका थिए । 
मनुस्मृतिको रचना संगै श्रेणीबद्धतालाई कायम राख्न वर्ण व्यवस्थामा जातीयताको निर्माण गरेर गोत्रको आधारमा जाति भित्र पनि उच र निच जातीयताको आधारमा विभेद सुरु भयो । मनुस्मृतिले व्यवस्था गरेको चार वर्णको आधारमा कुनै पनि जातीले आफ्नो जाती भन्दा तल्लो जाति संग बिबाह गर्न पुर्णरुपमा बन्देज लगाउने काम भयो । यदि बिबाह गरेको खण्डमा अपबित्र अशुद्ध हुनेछ । मात्रै वर्ण व्यवस्था अनुसार बिबाह गर्न समाजलाई निर्देश दिने काम भयो ।
मनुले यहाँ पनि निकै चलाखि पुर्ण तरिकाले बिबाहको लागि आर्य अर्थात ब्राह्मणहरुमा कुनै पनि नियम लागू गरिएन । ब्राह्मणहरुले त्यहाँ रोटी–बेटीको रिश्तालाई मान्यता दिए त्यसैले उनिहरुको सामुहिक एकता कायम रह्यो । त्यही नियम क्षेत्री वर्णमा पनि लागू भयो, त्यसैले उनिहरुको सामुहिक एकता कायम रह्यो, शुरुमा यो नियम लागू भएन त्यसको परिणाम उच्च÷नीचको भावना बिकास भयो र एकता हुन सकेन । 
स्थानीय वासीले प्राय आर्यको बिरोध गर्न हुँदा मनुले स्थानीय वासीलाई कम्जोर बनाउन मनुस्मृति नामक वर्ण व्यवस्था नयाँ विधानमा शूद्र वर्ण व्यवस्था पनि कायम गरे । शूद्र वर्ण व्यवस्थामा जातीय पदानुक्रमको साथ–साथै जातीयता लाई समुदायमा बिभाजन गर्ने काम भयो । शूद्र समाज नुमा वर्ण व्यवस्था सबै भन्दा तल्लो तहको वर्णको रुपमा व्यवस्था गरियो । नुमा वर्णको जातिलाई अछुत भन्निथ्यो । ऋगुवैदिक वर्ण व्यवस्थाले नुमा वर्णको जातिलाई जबर्जस्ती नराम्रो अमानवीय काममा गर्न बाध्य बनाउने गर्द्थ्ये त्यसैले अन्य वर्णका जातीले अछुत भनेर छुदैन थिए । आर्यहरुले यो व्यवस्थालाई टिकाउन शास्त्रमा पुनर्जन्मको सिद्धान्त रचना गरे स्थानीय वासीलाई अछुत र गुलाम बनाएर राख्नको लागि वर्ण व्यवस्थालाई जाती व्यवस्थामा परिवर्तन गरेका थिए । समय समयमा आर्यहरुले समाजलाई आफ्नो पकडमा राख्न आधारहिन झुठो धर्म शास्त्र लेख्ने काम गरे । भारतमा आर्य र हिन्दुले जातीयताको सुरुवात गरेको इतिहास पाइन्छ ।
मनुको जाति व्यवस्थाको रोग नेपालमा करिब ७ सय वर्ष पहिले नेपाल (उपत्यका) प्रवेश गरेका ब्राह्मणहरुले राजा जयस्थिति मल्लमार्फत १४ औ शताब्दी (सन् १३८२–१३९५) छुवाछुत र जातप्रथा कायम गराउन वर्णश्रम व्यवस्था भित्र्याएका हुन् । जहाँ आर्यहरु प्रवेश गर्नुपुर्व कहिँ पनि जाती प्रथा थिएन । संसारमा अनेक प्रकारका विभेद छन् तर जातका आधारमा विभेद आर्यहरुको राज्यसत्ता सञ्चालन भएको भारत, पाकिस्तान, बंगलादेश, नेपालमा छ । नेपालको तराई–मधेसमा वर्ण व्यवस्था बागमती उपत्यका वा पहाडबाट झरेको नभई वर्ण व्यवस्था सङ्गठित गरिएको भारतको केन्द्रीय भागबाट सर्दै फैलँदै आइपुगेको हो। त्यसैले तराई–मधेसका जातहरूको बनावट भारतको जातको बनावटसँग ठ्याक्कै मिल्छ। अर्कातिर महाकाली नदीदेखि गोरखासम्मको पहाडी क्षेत्रका आर्य–खस राज्यमा वर्ण व्यवस्था न तराई–मधेसबाट गएको थियो न त जयस्थिति मल्लले पु¥याएका हुन्। तराई–मधेस र पश्चिम पहाडमा प्रवेश गरी सङ्गठित गरिएको वर्ण व्यवस्थालाई राजा पृथ्वीनारायण शाहले नेपालमा शासन सत्ता सञ्चालन गर्न सुरु गरेदेखि जङ्गबहादुर राणाद्वारा जारी मुलुकी ऐन सम्म आइपुग्दा सिङ्गै नेपाललाई जात व्यवस्थाका आधारमा सञ्चालन गरियो। पृथ्वीनारायण शाहको शासनभन्दा पहिले वर्ण व्यवस्था नै नभएका जनजातिले पनि जात व्यवस्था मान्नुपर्ने नत्र सजायको भागीदार हुनुपर्ने मुलुकी ऐनमा जातैपिच्छेका संहिता किटान गरिएको थियो। 
नेपालको राजाहरुको इतिहासलाई हेर्ने हो भने १८ औं शताब्दीमा गोरखाका राजा नरभुपाल शाहको दोस्रो विवाह लम्जुङे राजा मगरकी छोरी कौशल्यावती देवी संग भएपछि उनीबाटै सन् १७२३ मा पृथ्वी नारायण शाहको जन्म भएको हो । पृथ्वी नारायण शाहको शासन सत्ता अघि नेपालमा विभिन्न ५२ वटा गणराज्य थिए । किर्तिपुर भक्तपुर र ललितपुरलाई कब्जामा लिएपछि वि.सं. १८२५ मा नेपाल अधिराज्य घोषणा भएको हो । त्यस बेला आफ्नै प्रकारले राज्यहरु सञ्चालन भएका थिए । पछि पृथ्वीनारायण शाहले असली हिन्दुस्तान बनाउने रणनीतिसहित ४ वर्ण, ३६ जातमा विभाजन गरे । जस्तै आर्य ब्राह्मणहरुलाई उपाध्यय र जैसी, खसलाई क्षेत्री र खत्री, किरातलाई राई र लिम्बु आदि । त्यसपछि मनुस्मृतिको आधारित राज्यसत्ता सञ्चालन भयो । नेपालको लिखित कानुन मुलुकी ऐनका नाममा विर नरसिंह कुवर जो शक्तिमा आएपछि जंगबहादुर राणा कहलिए उनले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरि वर्णवादी हिन्दु व्यवस्थालाई संस्थागत गरे । राणा शासन वि.सं. १९०३ देखि २००७ सम्म १०४ वर्षसम्म सञ्चालन हुदा नेपालमा १ सय २५ जात बनेका थिए । त्यस संगै नेपालमा जातीय भेदभाव र छुवाछुत चरम रुपमा रहयो । 
जातीय विभेद विरुद्धको आन्दोलन कहिले देखि शुरु भयो ?
पश्चिम नेपालको बाग्लुङ्गबाट जातीय विभेदको अन्त्य हुनुपर्छ भन्ने चेतना सबैभन्दा पहिला विकास भएको पाइन्छ । वि.सं. २००४ सालमा भगत सर्वजित विश्वकर्माको नेतृत्वमा ‘विश्व सर्वजन संघ’ स्थापना गरि अछुत समुदायबाट विद्रोहको शुरुवात भएको पाइन्छ । जातीय आधारमा भेदभाव तथा छुवाछुत गर्न नपाइने आन्दोलन शुरु भयो । पछि छुवाछूत अन्यको विभिन्न संघ संगठन खुल्ने क्रम जारी रहयो । अछुत जातिलाई सम्बोधन गर्ने गरि दलित शब्द प्रयोगमा ल्याउने प्रयास भए पनि प्रयोगमा आउन सकेको थिएन । वि.सं. २०२० सालमा तत्कालिन राजा महेन्द्रले छुवाछुत गर्न नपाउने कानुन घोषणा गरेका थिए । तर त्यो घोषणा दराजमा सिमित हुन पुग्यो ।
दलित शब्द र आन्दोलन 
दलित आन्दोलन संगै दलित शब्द कसरी आयो भन्ने कुरा मा निकै बहस हुने गरेको छ । यो शब्द सबैभन्दा पहिला कस्ले प्रयोगमा ल्याएको थियो, भन्नेमा पनि धेरै कुरा आउने गरेको छन् । वास्तवमा यो शब्द १८३१ मा मोल्सवर्थ डिक्शनरीमा दलित शब्द सुरुवात भएको थियो । त्यस पछि भारतमा १९२१ देखि १९२६ को बीचमा स्वामी श्रद्धानंदले प्रयोगमा ल्याएका थिए । त्यस बीचमा ड़ा‘ भीमराव अंंबेडकरले पनि दलित शब्द को प्रयोग गरेको पाइन्छ । दिल्लीमा आयोजित एक सभामा पिछडिएका वर्गलाई दलित शब्दले सम्बोधन गरेका थिए तर चल्ती चलनमा आएको थिएन । पछि १९७२ मा भारतको महाराष्ट्रमा दलित पैंथर्स भन्ने सामाजिक(राजनीतिक संगठनको स्थापना भएको पाइन्छ । यो संगठन अफ्रीकी(अमेरिकी ब्लैक पैंथर आंदोलन बाट प्रभावित भएर खोलिएको थियो । यो संगठन संगै भारतमा दलित शब्दको सामाजिक प्रयोगमा आएको हो । 
नेपालमा दलित शब्द र सम्बोधन २०४६ को आन्दोलन पछि मात्रै भएको हो । १० वर्षको जनयुद्ध र ०६२र ६३ को जनआन्दोलन पछि गठन भएको संविधानसभा बाट नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा पनि भएको छ । दलित शब्दलाई बैधानिक रुपले संविधानमा लेख्ने काम भयो । जातीय आधारमा छुवाछुत तथा भेदभाव गरेमा कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा गम्भिर अपराधको रुपमा संविधानमा समेत उल्लेख भएको छ । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय ऐन)–२०६८ समेत लागु भएको छ । संविधान, ऐन तथा कानुनहरु बनेता पनि त्यसको कार्यान्वय भएको छैन । कार्यान्वयन गर्ने निकायमा आज पनि त्यहि मनुस्मृति वादी , बर्ण व्यवस्थाका पक्षपातीहरु आशिन रहेका छन् । दलित अधिकारकर्मीहरुको समेत चेतना र शिक्षा त्यही बस्तुवादी चिन्तनबाट स्कूलिङ्ग भएका कारण ठोस् रुपमा परिवर्तन भइरहेको छैन । अहिलेसम्म सयौंको संख्यामा जातीय विभेद अन्त्यको माग राखी दलितका संघसंगठन खुलेका छन् । दलित मुक्तिका निम्ति काम गछौं भन्ने ति संघ संगठनहरुलाई यतिसम्म थाह छैन कि उनीहरु साच्चिकै यो परापूर्वकाल देखि वा सनातन रुपमा चलिआएको परम्परा हो भन्ने सोचि रहेका छन् र केहि सय वर्ष अघि मात्रै शासक वर्गले नियोजित रुपमा छरेको भ्रम र गरेको अन्याय हो भन्ने कुरा जान्न जरुरी छ। 
अझ बुझ्नै नसकिने कुरा त के हो भने कतिपय दलित नेतृत्वले हरेक दिन बिहान ३३ कोटी देवि देवताको भक्ति गान लगाउने निधारमा रातो अबिरको टीका टल्काउने अनि दलितको कार्यक्रममा गएर वर्ण व्यवस्था र हिन्दु धर्मले विभेद र्गयो भन्दै भाषण गर्ने । वर्ण व्यवस्थामा आधारित हिन्दु धर्म संस्कार भित्रै बाट जातीय सम्मान र मुक्ति खोज्नु भनेको पिपलको रुखमा अम्बा खोज्नु सरह नै हो । सिङ्गो दलित समुदाय बीचमा पनि यति गहिरो फुट छ कि आवश्यक एकता हासिल गर्न जहिले पनि हम्मेहम्मे पर्ने गरेको छ । छुवाछूत भेदभावबीचको फुटको सन्दर्भको विश्लेषण धेरै महत्त्वको छ । किनभने दलित, दलित बिचको जातीय फुट हावाको चक्रव्यूहमा फस्न पुग्छ र पत्तै नपाई माथिल्लो वर्गको सेवामा निरन्तर सेवारत हुन अभ्यस्त हुँदै जान्छ। अहिलेसम्मको इतिहासले पनि देखाएको त्यहीँ नै हो । नेपालमा जातपातका विरुद्ध गैरदलित प्रगतिशील हिस्साले पनि आवाज उठाउन जरुरी छ । दलित समुदायले अहिलेसम्म परिवर्तनको लागि गरेको आन्दोलनमा गैरदलित सबै अग्रगामी परिवर्तन चाहनेले एकपल्ट सोच्नैपर्ने भएको छ( कि असी वर्ष लामो सामन्तवादविरोधी लोकतन्त्रको यात्रामा कहाँ गल्ती भयो जसको कारणले २१ औं शताब्दीमा पनि वर्ण व्यवस्था र जात प्रथाले हामीलाई लज्जा बोध गराएको छ । जात व्यवस्था बाट देश बिकास र मानव सम्मानमा लागेको ब्रेक् लाई चलायमान बनाउन अब सयुक्त रुपमा आवाज उठाउन आवश्यकता छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads