Loading...
गरिबीमा बाचेको कालिकाेट

कालिकोट । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो । छरछिमेकले एक साता खाना बनाएर खुवाए ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ- महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ । सबै उठेर बस्न सक्ने भएका छन् । ६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन् ।
पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन । सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन । मानेको परिवार धेरैजसो मागेर गुजारा चलाउँछन् । कम फरकमा जन्माएका १० वर्षमुनिका ५ छोराछोरी र दुई बूढाबूढीलाई बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउँ भन्ने चिन्ता छ ।
‘मलाई त छाककै चिन्ता छ हजुर !,’ १३ वर्षको उमेरमा दाउरा काट्न स्थानीय खडीखोला जंगल गएका बेला रूखबाट लडेर मेरुदण्डमा चोट लागेर अवलांग बन्न पुगेका मानेले कान्तिपुरसँग भने, ‘रोगबिमार पनि गरिबलाई नै लाग्न्या रै’छ ।’ पहिले बिहे गरेका दुई पत्नी पोइल हिँडेपछि उनले शारीरिक अपांगता (खुट्टा) भएकी नन्दा विकलाई भित्र्याए ।
‘म ढाडको बिमारी, बूढी खुट्टाकी,’ शुक्रबार सिलौटामा पिसेको कोरो नुनखुर्सानीसँग मकैको सुक्खा रोटी खाँदै गफिएका उनले भने, ‘खाने मुख बढाउने त मन थिएन, के गर्नु ! सुरुमा छोरी जन्मिए, छोरा अन्तिममा मात्र भए ।’ उनको भनाइले नै पुष्टि गर्छ– यो गाउँमा चरम लैंगिक विभेद छ । छोरी जति भए पनि छोरा जन्माउनै पर्ने मान्यताले उनका १०, ८ र ५ वर्षीया ३ छोरीपछि २ वर्ष र ४ महिने दुई छोरा छन् । उचित लालनपालन नहुँदा सबै सन्तान कुपोषणग्रस्त छन् ।
महामारीको जरा खोतल्दै जाँदा गरिबीसम्म पुगिन्छ । जहाँ चरम गरिबी, त्यहीं बर्सेनि महामारी फैलन्छ । यहाँको दलित बस्ती त्यसको उदाहरण हो । बस्तीका ९५ प्रतिशत परिवारलाई आफ्नो खेतबारीको उत्पादनले ३ महिनाभन्दा बढी खान पुग्दैन । बर्खेयाममा मौसमी तरकारी फल्छ । सिँचाइयोग्य जमिन नहुँदा अधिकांशको बारीमा हिउँदमा त्यो पनि फल्दैन । गाउँको पुछार र छेउमा गहुँ छरेको हरियो जग्गा देखिन्छ तर गैरदलित समुदायको ।
दलित समुदायको त पानी नलाग्ने पाखो मात्र छ । बजारबाट दाल, चामल, नुन र तेल किनेर लैजान्छन्, तरकारी किनेर खाने चलन कमै छ । बरु चाउचाउ, बिस्कुट, चकलेट बढी उपभोग हुने गर्छ । धेरैजसो पुरुष ज्याला–मजदुरी गरेर कमाएको रकम मदिरामा सिध्याउँछन् । यही प्रवृत्तिले महिला हिंसा बढाएको छ । प्रजनन स्वास्थ्यबारे अज्ञानता, छोराछोरीबीच विभेद, बालविवाह, बहुविवाह, छाउपडी प्रथाजस्ता अन्धविश्वास व्याप्त छ गाउँमा । सोही गाउँका ५० वर्षीय नौले विकको ८ जनाको परिवार मोटेलीवाडामा खरको छाप्रोमा बस्छ । ३५ वर्षीया अम्मकला नौलेसँग पोइल आएपछि भर्ताछातीबाट न्याउका लागेर (झडकेलो सन्तानका रूपमा) खाडाचक्र ४ आएका ४ छोरी र २ छोरासहित सबै भाइरल ज्वरोमा परे ।
औषधिमूलो गरेर बिराम निको भए पनि उनको परिवारमा पोसिलो खाना, सरसफाइ, स्वच्छ खानेपानीको अभावले परिवारका सबै सदस्य संक्रमित भएको स्थानीय वडा सदस्य जया विश्वकर्मा बताउँछन् । त्यहींका सज्जने विकको परिवारको पनि हालत माने र नौलेको भन्दा फरक छैन । यी परिवारसँग न बस्ने बास छ न खाने गाँस र लगाउने लत्ताकपडा ।
गत वर्ष यही गाउँमा जनता आवासका लागि सरकारले १० वटा घर निर्माण गर्न १० लाखका दरले जनता आवास कार्यक्रमको बजेट दियो तर त्यो केही टाठाबाठाले हात पारे । उनीहरूबारे सोधीखोजी गर्ने कोही नहुँदा अर्काको घरगोठमा बस्न बाध्य छन् । एक सय ९० घरधुरीमा १ हजार ४ सय जनसंख्या रहेको ताडीको दलित बस्तीमा महिला साक्षरता ३९ प्रतिशत र पुरुष साक्षरता ५३ प्रतिशत रहेको अधिकारकर्मी बाले विश्वकर्माले बताए । गाउँमा चरम गरिबीले जीवनयापन नै कठिन रहेको उनको दाबी छ ।
समुदायको सेवा क्षेत्रमा ३ वटा विद्यालय छन् । भाइरल फैलिएपछि बढी बालबालिकामा नफैलियोस् भनेर यही गाउँका ३ सहित खाडाचक्रका १६ विद्यालय ४ दिनका लागि बन्द भएका छन् । ‘कतिपय बच्चा त स्कुल पनि नांगै आउँथे,’ स्थानीय नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर बोगटीले भने, ‘अवस्था नाजुक छ ।’ सरसफाइ, पोषण, खाद्य असुरक्षा, चेतनाको कमी नै दलित बस्तीका मुख्य समस्या रहेको बोगटीको ठम्याइ छ ।
उनका अनुसार दिवा खाजा र दलित छात्रवृत्तिका आसले बालबालिका विद्यालय भर्ना भए पनि नियमित छैनन् । विश्वकर्माको तुलनामा सूचीकार समुदायका बच्चा अझ अनियमित हुने गर्छन् । गाउँमा कोही जन्मँदा, कसैको विवाह गर्दा, मृत्यु हुँदा बाजा बजाउन गएका अभिभावककै पछि लागेर बालबालिकाहरू जाने भएकाले विद्यालयमा अनियमित हुने गरेको उनले सुनाए । अधिकांश पुरुष एक दशकअघिसम्म ज्याला–मजदुरी गर्न भारत जान्थे ।
अचेल सदरमुकाम मान्म, स्थानीय सडक र गाउँघरमा हुने विकास निर्माणका काममा गएर ज्याला मजदुरी गर्छन् । त्यही ज्यालाले परिवारको लालनपालनलगायत सबै काम गर्छन् । केही पुरुष जंगलबाट दाउरा ल्याएर सदरमुकाममा बेचेर गुजारा चलाउँछन् । अधिकांश महिला घरायसी कामधन्दामा संलग्न हुने गरे पनि केहीले गिट्टी कुट्ने, सडकमा ढुंगा बोक्ने काम गरेर जीविका चलाउँछन् ।
गाउँमा स्वच्छ खानेपानी अभाव छ । २०५० यता वडा नं. ४ मा सबै गरी ६ वटा खानेपानीका योजना सञ्चालन भए पनि कुनै धारामा पानी झरेन । ‘योजना आए,’ स्थानीय वसन्त विश्वकर्माले भने, ‘पानी आएन ।’ उनका अनुसार १ सय ९० घरधुरी रहेको यति ठूलो बस्तीमध्ये चिउरेला र गाल्लीखोलामा दुई वटा पाइपका धाराबाट मात्र पानी आउँछ ।
अरू सबै बस्तीका बासिन्दा परम्परागत धारा, कूवा र खोलाको पानी खान बाध्य छन् । गाउँटोलमा सरसफाइको कमी छ । घरघरमा चर्पी बनाइए पनि पानी अभावले प्रयोगमा छैनन् । ६ वर्षअघि कालिकोट जिविसले ३० लाखको योजना दिए पनि धारामा पानी नझरेरै बजेट सकिएको गुनासो स्थानीयको छ । ‘पाइप ल्याएर बिछ्याए,’ स्थानीय लालमनि विकले गुनासो पोखे, ‘धारा पनि बनाए, पानी नै नझरेर योजना सकियो ।’ उनले गाउँका केही टाठाबाठाले विकासे योजना ‘खाने गरेको’ सुनाए ।
चेतनाको कमी, रूढिवादी परम्परा, कुसंस्कार, चरम गरिबीजस्ता समस्याले बेलाबेला फैलिने महामारीको सिकार पनि यहाँका अधिकांश दलित बस्ती हुने गरेका छन् । भाइरल ज्वरोले महामारीको रूप लिएको यहाँको घटाली गाउँ, मोटेलीवाडा, गाल्लीखोला, चिउरेलाका सबै बस्तीमा दलित समुदायको बसोबास छ ।
यही वडाका बद्रीगाउँ, आचार्य गाउँ र वडा नं. ४ को पाण्डे तथा शाही टोलमा केही भाइरलका बिरामी परे पनि छिटफुट बिरामी मात्र सिकिस्त थिए । तर, दलित बस्तीमा एकै परिवारका ९ जनासम्म बिरामी परेको खाडाचक्र ४ का वडाध्यक्ष धनसिंह कामी बताउँछन् । ‘बिरामी त अरू जातिका पनि परेका हुन्,’ गत वैशाखमा एमालेबाट वडाध्यक्ष जितेका कामीले भने, ‘दलितलाई मात्र छुट्याएजस्तो गरेर सबै बिरामी परे ।’ उनको परिवारका पनि ४ जना सदस्य बिरामी परेको उनले सुनाए ।
यही भाइरलबाट स्थानीय दत्त विश्वकर्माका ९ महिनाका छोरा लक्ष्मण, संगीता सुनारकी एकमहिने छोरी रश्मि, गोबी विश्वकर्माका डेढ महिनाका छोरा दीपक र ६३ वर्षीय दाने विकको ज्यान गयो भने वडा नं. ३ का २ वृद्ध र २ का ३ वृद्धवृद्धाको मृत्यु भयो । चिकित्सकले दुई बालबालिकाबाहेक अन्यलाई पुरानो बिमारका कारण ज्वरो आएर मृत्यु भएको भन्दै भाइरलको महामारी भन्न चाहेनन् ।
मृत्यु भएका बालबालिका सबै एउटै टोलका हुन् । खाडाचक्र ४ का मात्र ३६ जना जिल्ला अस्पतालमा भर्ना भएका थिए । केहीलाई सन्चो भए पनि केही अझै बिरामी छन् । तीन सातादेखि खाडाचक्र ४ दलित टोल, वडा नं. २ मेग्र, पोरिपाल्नीसहितको दलित बस्ती, खाडाचक्र ५ को दाहा मोटेला र वडा नं. ६ को गोरालवाडाको दलित बस्ती, सान्नी त्रिवेणी ६ बुडगाउँको दलित टोल, लालु सितलाको दलित टोल, रास्कोट ९ फुकोट, पचालझरना ७ मयकोटलगायतका दलित तथा विपन्न बस्तीमा भाइरल ज्वरोले महामारीको रूप लिए पनि सरोकारवाला नियन्त्रणमा उदासीन रहे ।
खाडाचक्र ४ मा भाइरलबारे सूचना दिँदा जिल्ला स्वास्थ्य प्रमुखले सुरुमा त होइन भनेर टारे । गत माघ ६ गते जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीसहित ८ जना स्वास्थ्यकर्मी गाउँ गएपछि महामारी भएको जानकारी दिए । खाडाचक्र ४ मा माघ ६ गते २ सय ६० र वडा नं. २ मा ५ सय ५४ गरी ८ सय १४ जनाको परीक्षण गरे ।
आइतबार दुवै वडामा थप ३ सय बिरामी सदरमुकाम मान्मसँगै जोडिएका बस्तीमा फेला परेपछि नियन्त्रण गर्न जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर थप औषधि र स्वास्थ्यकर्मी माग गर्ने निर्णय लियो ।
खाडाचक्र ४ का ६ जना बिरामीबाट नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाइएकोमा सबैमा भाइरल इन्फ्लुएन्जा भएको प्रमाणित भइसकेको छ ।
यहाँको भाइरल प्रकोपको समाचार प्रेषण गर्दा किन नियन्त्रण हुन सकेन भनेर आफूलाई दबाब आएको बताउँदै जिल्ला स्वास्थ्य प्रमुख डा. अली र म्यादी आन्दोलनमा जिल्ला छाडेर गएका प्रजिअ बद्रीनाथ गैरे सोमबार जिल्ला फर्किएलगत्तै चिकित्सकले पुष्टि नगरेको मृतकको संख्या बढी किन भनेको भन्दै सञ्चारकर्मीलाई थर्काएका थिए । ‘जिल्ला स्वास्थ्यले नभनेर अरूले भाइरल ज्वरो कसरी भन्न मिल्छ ?’ प्रजिअ गैरेले भनेका थिए, ‘भाइरलले एक जना मरेको हो, अन्य अरू नै कारणले मरेका हुन् ।’
‘मर्न त दिनमा कति मान्छे मर्छन् मर्छन्,’ उनले भने, ‘कि हरेक मान्छेको रेकर्ड हुनुपर्‍यो ।’ उनले मिडियाले अनावश्यक बढाइचढाई गरेको आरोप लगाएका थिए । मंसिर दोस्रो साता मुगुको खत्याड भेकमा सुरु भएको भाइरल इन्फ्लुएन्जा कालिकोटको विकट पलाता गाउँपालिकाको खिन, धौलागोह, थिर्पु हुँदै पचालझरनाबाट फैलिँदै सदरमुकामसम्म आएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अली बताउँछन् ।
विगतमा महामारीले चर्को रूप लिने यहाँको विकट पलाता क्षेत्रमा यसपटक केही बिरामी पर्नेबित्तिकै गाउँपालिकाले औषधि र स्वास्थ्यकर्मी घरघर पठाएर भाइरल ज्वरो नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । पलातासँग सिमाना जोडिएको पचालझरनामा पनि गाउँपालिकाले १ हजार १ सय बिरामीको उपचार गराएर मानवीय क्षति रोकेको अध्यक्ष खडगराज सेजुवाल बताउँछन् ।
जिल्लामा हुने प्राय: सबैजसो महामारी दलित तथा विपन्न बस्तीमा छिटो फैलिने गरेको छ । गरिबीको दुष्चक्रमा पनि उनीहरू नै भएको दलित अधिकारकर्मी छाया सुनारले बताइन् । गरिबी निवारण कोषले गरेको अध्ययनअनुसार कालिकोटका २३ हजार घरधुरीमध्ये १८ हजार गरिब छन् । १२ हजार घरधुरी त ‘क’ वर्गको गरिबीमा पर्छन् ।
कालिकोटको ५२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । ३ नगरपालिका ६ गाउँपालिका रहेको कालिकोटमा कुल जनसंख्या डेढ लाखमध्ये १९ प्रतिशत दलित जनसंख्या छ ।
कालिकोटमा महामारी र क्षति
०५५ मंसिरदेखि फागुनसम्म भर्ता, सुकाटिया, कालिका, मान्म, राम्नाकोट, बदालकोट, नानीकोट, रकु, लालु, कोटवाडा, माल्कोटका बस्तीमा भाइरल इन्फ्लुएन्जाले १ सय ३७ को मृत्यु, करिब ४ हजार प्रभावित
०५९ माघदेखि चैतसम्म दादुरा, रूघाखोकीबाट १७ को मृत्यु, १ हजार प्रभावित
०६३ चैतदेखि ०६४ असोजसम्म २३ गाविसमा फैलिएको झाडापखाला र हैजाबाट १ सय ५३ को मृत्यु, बदालकोटको खर्ककोटमा एकै परिवारका ७ जनाको मृत्यु, धौलागोहमा मात्र ४१ जनाको मृत्यु, २ हजार बढी प्रभावित ।
०७२ कालिकोटको मान्म १ चिनाडी कोइरेल गाउँ र मेहेलमुडी ७ तिकुवामा रूघाखोकी र ज्वरोबाट ५ जनाको मृत्यु, ६ सय बढी बिरामी ।
०७४ मंसिर तेस्रो सातायता फैलिएको भाइरल ज्वरोबाट खाडाचक्र ४ मा ३ बालबालिकासहित ८ को मृत्यु, जिल्लाभर ४ हजार बिरामीको उपचार ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads