Loading...
जेसीज कप फुटबलको उपाधि वेष्ट प्वाइन्टलाई

म्याग्दी जेसीजको आयोजनामा मङ्गलबार सदरमुकाम बेनीमा सम्पन्न १६औं अन्तरमावि जिल्लास्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्टले जितेको छ । बेनीको खुल्लामञ्चमा भएको फाइनल खेलको प्रतिस्पर्धाबाट माउण्ट एभरेष्ट आवासीय माविलाई पराजित गर्दै न्यु वेष्ट प्वाइन्टले उपाधि हात पारेको हो ।  


प्रतियोगिताको पहिलो हाफमा निरन्तर दवाव दिँदै एक गोलले अग्रता लिएको माउण्टले दोस्रो हाफमा थप १ गोल गर्दै अग्रता लिएको थियो । तर, पछि माउण्टलाई लगातार तीन गोल प्रहार गर्दै वेष्ट पोइन्ट १६औं जेसीज कपमा च्याम्पियन भएको छ । निरन्तर दवावमा राखेको माउण्टले दोस्रो हाफमा आफ्नो दवावलाई कायम गर्न नसकेपछि  प्रतियोगितामा उपविजेता भएको छ । 
यसअघि १५औं जेसीज कपका विजेता र उपविजेता क्रमशः माउण्ट एभेरेष्ट र न्यु वेष्ट प्वाइन्ट आवसीय माविको खेल हेर्न खुल्लामञ्चमा खचाखच दर्शक भरिएका थिए । विगतमा तीन पटकसम्म फाइनलमा भिडेका माउण्ट र वेष्ट प्वाइन्टको निकै रोमान्चक खेल भएको थियो । पहिलो हापमा निकै कमजोर प्रर्दशन गरेका वेष्ट पोइन्टका खेलाडीले दोस्रो हापमा खेलेको खेलबाट दर्शक समेत चकित परेका थिए । खेलाडिलाई हौसला दिन खुलामञ्च पुगेका दुवै विद्यालयका विद्यार्थी र समर्थकको चर्को हुटिङले खुल्लामञ्चमा थप रौनकता छाएको थियो । यसपटकको विजेता वेष्ट प्वाइन्टले हालसम्म एकपटक जेसीज कपमा विजेता र ९ पटकसम्म उपविजेता भएको थियो । 
प्रतियोगितामा प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले विजेता खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरेका थिए । विजेता विद्यालयलाई नगद ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई १७ हजारको साथमा कप, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसअघि फाइखेल प्रतियोगितालाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद थापाले जिल्लामा हुने खेलकुद प्रतियोगिताले विद्यार्थीको खेल प्रतिभाको पहिचान गर्न सजिलो हुने बताएका छन् । 
पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बराल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा अनुशासित टिमतर्फ बुद्ध एकेडेमी, उत्कृष्ट खेलाडि वेष्ट पोइन्टका किस्मत पुन, सर्वाधिक गोलकर्ता महेश पुन, उत्कृष्ट गोलरक्षक सञ्जन बराईली, म्यान अफ द म्याच मनिश श्रेष्ठ, उत्कृष्ट डिफेन्डर माउण्टका ललित सापकोटा, उत्कृष्ट स्टाइकर वेष्ट पोइन्टका महेश पुन, उत्कृष्ट मिडफिल्डर माउण्टका भूवन घर्ती, राईजिङ खेलाडी वेष्ट पोइन्टका टिपेन पुन र उत्कृष्ट कोच वेष्ट पोइन्टका दिपेन राई भएका छन् । 
उत्कृष्ट खेलाडीलाई मेडल, ट्रफी, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । विद्यालयस्तरमा लोकप्रिय मानिने जेसीज कपबाट उत्पादन भएका खेलाडीहरूले विभिन्न व्यावसायिक क्लबबाट समेत खेल खेल्ने गरेका छन् । कार्यक्रमको अवसरमा चौथो जेसीज कप–२००५ का प्रकाश माविका सर्वाधिक गोलकर्ता कुमार गुरुङ, प्रथमदेखि पाँचौं जेसीज कप खेलाउने पूर्व अफिसियलद्वय दिपेन्द्र श्रेष्ठ र मुन्ना केसीलाई सम्मान गरिएको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads