Loading...
म्याग्दी महोत्सबको भव्य उद्घाटन (फोटो फीचर र भिडियो)

प्रताप बानियाँ 
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्रोधसाधनको अधिकतम प्रयोग गरेर देशको आर्थिक विकास गर्नुपर्ने बताएका छन् । छैटौं म्याग्दी महोत्सवको आज सदरमुकाम बेनीमा उद्घाटन गर्दै उनले देशमा रहेको प्राकृतिक स्रोत र साधनहरुको प्रयोग गरी नयाँ नेपाल निर्माणमा लाग्नुपर्ने बताएका हुन् । 
उनले भने, ‘यतिन्जेल हामीले राजनीतिका लागि विकासका कुरा ग¥यौं, अब विकासका निम्ती राजनीतिका कुरा गरेमा नयाँ नेपाल निर्माण सम्भव छ ।’ उनले दुःखलाई सुखमा बदलेर नेपाली जनताको मुहारमा खुशी ल्याउनुपर्ने बताए । अध्यक्ष प्रचण्डले पूर्वाधार, जलविद्युत र पर्यटनको विकासमा गति दिन नसके, स्थायित्व र समृद्धिको पक्षमा आएको जनमतको सम्मान गर्न नसकेमा देश फेरी ठूलो दुर्घटनामा पर्नसक्ने बताएका छन् । 
उनले छिमेकी देश भारत र चीनमा भएको विकासबाट नेपाल लाभान्वित हुनुपर्ने भन्दै विश्वका धेरै देशहरुमध्ये नेपाललाई पनि १० वर्षभित्रमा समृद्ध देशमा लैजान सकिने पर्याप्त सम्भावना रहेकाले त्यसको सङ्कल्प गर्नुपर्ने बताए । उनले हेटौंडा–काठमाडौं रेलमार्ग, तराईमा पूर्व–पश्चिम रेलमार्ग, केरुङ–ठोरी राजमार्ग हुँदै कलकत्तासम्म जोड्ने राजमार्ग निर्माण गर्न सकेमा देशमा आर्थिक परिवर्तन तुरुन्तै आउने सम्भावना रहेको बताएका थिए । उनले अब उत्तरी देश चीनसँगको कोरला नाका पनि खुल्ने बताएका छन् । 
वाम गठबन्धनका शीर्ष नेता समेत रहेका प्रचण्डले अब बन्ने सरकारले कुनकुन क्षेत्रलाई प्राथमिकता दिएर कुनकुन जिल्लामा कुन क्षेत्रलाई जोड दिने भनेर गृहकार्य समेत सुरु गरिसकेको खुलासा गरे । उनले आगामी दिनमा निजी र सार्वजनिक क्षेत्रले सहयात्रा गरेर अगाडि बढ्ने बताउँदै देश विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए । ७० वर्षदेखि राजनीतिक संघर्षबाट देखेको सपना शान्त, सुशासनयुक्त र समृद्ध नेपाल निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।
म्याग्दी महोत्सब उद्घाटन भन्दा पहिला बजारमा निकालीएको झाँकीको भीडियो

स्थानीय, प्रदेश र संघसहित तीन तहको निर्वाचनसँगै देश अब नयाँ चरणमा प्रवेश गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले नौ–नौ महिनामा सरकार फेरिरहने प्रचलनले गर्दा देशले दीगो विकासको गति लिन नसकेको र नेपाली जनताले शान्ति तथा स्थायित्वको महशुस पाउन नसकेको हुँदा आफूहरु वाम गठबन्धन बनाएर चुनावमा गएको बताउनुभयो । राजनीतिक स्थिरता र लोकतन्त्रको राम्रो अभ्यासका लागि नीति, सिद्धान्त, विचार र एजेण्डा मिल्ने पार्टीसँग गठबन्धन गरिएको बताउँदै नेता प्रचण्डले कसैका विरुद्धमा गठबन्धन नगरिएको स्पष्ट पार्नुभयो । 
म्याग्दी जिल्ला पर्यटकीय हिसाबले ठूलो सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले बाटोघाटोको विस्तार, होटल तथा लज सञ्चालन गरेर पर्यटनको विकास गर्न सकिने बताउनुभयो । जडिबुटीको हिसाबले पनि म्याग्दी अग्रणी जिल्ला भएकाले यसको खोज एवं अनुसन्धान गर्नसके म्याग्देली जनताको जीवनमा आश्चर्यजनक परिवर्तन आउन सक्ने प्रचण्डको भनाई छ । यसैबीच कार्यक्रमको अवसरमा प्रमुख अतिथि प्रचण्डले सहायक जिल्ला वन अधिकृत एवं जडिबुटी विशेषज्ञ चन्द्रमणि सापकोटाद्वारा लिखित ‘धौलागिरि हिमालय क्षेत्रमा पाइने जडिबुटी’ नामक पुस्तकको समेत विमोचन गर्नुभयो । उक्त अवसर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा निर्मित लिफ्ट सिचाईं प्रविधिको मोबाइलको एप्स अन गरेर प्रचण्डले आयोजनाको उद्घाटन पनि गरेका थिए । 
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले म्याग्दी जिल्ला पर्यटकीय प्रचुर सम्भावना भएको बताउँदै आफू योजना आयोगमा हुँदा जिल्लाको विकास निर्माणमा जोड दिएको बताए । उनले प्रचण्ड प्रधानमन्त्री हुँदा देशमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई जोड दिएको हुँदा म्याग्दीमा पनि विकासे योजनालाई उच्च प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले म्याग्दी जिल्ला हिमालय क्षेत्र भए पनि हिमाली जिल्लामा पर्न नसकेको भन्दै हिमाली जिल्लामा पार्न प्रचण्डको ध्यानाकर्षण समेत गराएका छन् । उनले जिल्लामा सडकको कालोपत्रे विस्तार, पर्यटकीय एवं धार्मिक क्षेत्रका विकास, जडिबुटीको परिचालन, 
‘उद्योग व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नाराका साथ म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला–२०७४ आयोजना गरिएको छ । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने लक्ष्य राखिएको छ । ६ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको महोत्सवस्थल परिसरभित्र कुल १८० ओटा विभिन्न प्रकारकार व्यापारीक स्टलहरु रहेका छन् । महोत्सवको अवसरमा कृषि प्रदर्शनी मेला समेत सुरु भएको छ । महोत्सवमा कृषि, पर्यटन र जडिबुटीलाई जोड दिइने जनाइएको छ । 
महोत्सव उद्घाटन हुनुपूर्व बेनीबजारमा विभिन्न जातजाति तथा जनजातिहरुले आ–आफ्नो भेषभूषमा ¥याली निकालेका थिए । 
प्रचण्डलाई ३० किलोको मालाः
छैटौं म्याग्दी महोत्सवको उद्घाटन गर्न बेनी आउनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ३० किलोको माला लगाएर स्वागत गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई म्याग्दीका उद्योगी, व्यापारी र महिला उद्यमीहरुले सयपत्री र मखमली फुलबाट निर्मित ३० किलोको माला लगाएर स्वागत गरेका थिए । 
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्य, द्वितीय उपाध्यक्ष राजेश शाक्य, निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा र सल्लाहकार सुदर्शनकुमार श्रेष्ठले माला प्रचण्डलाई लगाइदिएका थिए । 












0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads