Loading...
अधिकारसंगै कर्तव्यको पालना भएमात्रै मानव अधिकारको कार्यान्वयन सहज हुने


कास्की । ०७४ फागुन ७ गते
नागरिकका अधिकार संगै कर्तव्यको पालना भएमात्रै मानवअधिकारको कार्यन्वयन सहज हुने प्रदेश नम्वर ४ का प्रमुख बाबुराम कुँवरले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले फागुन ७ गते पोखरामा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ को सार्वजनिकीकरण तथा मानव अधिकार विषयक विचार गोष्ठीमा बोल्दै प्रदेश प्रमुख कुँवरले सो कुरा बताएका हुन्् ।
कुँवरले मुलुक नयाँ संरचना संगै कानुन कार्यान्वयनको चरणमा भएकोले स्थानीय तहमा कानुन निर्माण गर्न जनताले जनप्रतिनिधिलाई झक्झक्याउन आवश्यक रहेको बताए । साथै जनप्रतिनिधिले पनि जनताको अपेक्षा अनुरूप कानुन निर्माण गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । इन्सेकले गैरसरकारी निकायका तर्फबाट मानव अधिकार उल्लंघनका विषयलाई अभिलेख गरेकोमा कुँवरले धन्यवाद दिए । 
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगको निमित्त प्रमुख नितु गर्तौलाले मानवअधिकार बर्षपुस्तक मानवअधिकारको अभिलेखीकरणको महत्वपुर्ण स्रोत रहेको बताइन् । साथै महिलाको नागरिकता तथा बालबालिकाको जन्मदर्ता भएका कारण अधिकारको उपभोग गर्नबाट बञ्चित भएको बताउँदै इन्सेकले सो विषयको पनि अभिलेख गर्न आवश्यक रहेको बताईन् ।
सोही कार्यक्रममा आफ्ना भनाई राख्दै नेकपा एमालेकी जिल्ला सचिवालय सदस्य विजया सुवेदीले आफुमाथि भएका मानव अधिकार हनन्का घटना नसहन तथा उजुरी गर्न सबै सचेत हुनुपर्नेे बताईन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला सह संयोजक हरि नारायण गिरीले स्थायी सरकार र कानुनको पुर्ण पालना भएमात्रै अधिकारको रक्षा हुने भनाई राखे । राष्ट्रिय जनमोर्चाका गण्डकी ईञ्चार्ज शंकर बरालले भ्रष्टाचार अझैसम्म पनि व्याप्त रहेको हुँदा स्थानीय सरकारले सो कुरा नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
शान्तिका लागी नागरिक समाजका सञ्जाल कास्कीका अध्यक्ष बिष्णु बरालले राजनीतिक अस्थिरता अन्त्य संगै देश समृद्धिको यात्रामा अगाडि बढेको हुनाले सुशासन बिना कसैको अधिकार सुरक्षित नहुने हँुदा सबै सचेत हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका पुर्व अध्यक्ष पुण्य प्रसाद पौडेलले नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार, आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार र राजनैतिक अधिकारका विषयलाई जनतासामु पस्किन संचारकर्मीलाई समेत सहज बनाएको बताए ।
सोही कार्यक्रममा आफ्ना भनाई राख्दै गैसस महासंघका सचिव राम प्रसाद सुवेदीले इन्सेकले मानव अधिकार वर्ष पुस्तक मार्फत द्धन्द्धको समयमा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना अभिलेख गरेका कारण द्धन्द्धपीडितलाई न्याय दिने कार्यमा समेत सहज बनाएको बताए ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रको मानव अधिकारको अवस्थाको प्रस्तुतीकरण गर्दै इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले पश्चिमाञ्चल विकास क्षेत्रमा सन् २०१७ मा राज्य पक्षबाट २ सय ६४ जना र गैरराज्य पक्षबाट १ हजार ८ सय ५८ जना पीडित भएको इन्सेकले अभिलेख गरेको बताए । खकुरेलले इन्सेकको अभिलेख अनुसार यस वर्ष पश्चिमाञ्चलमा राज्य पक्षबाट निर्वाचन बिथोल्न सक्ने तथा निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा १० जना महिला सहित २ सय २३ जना ब्यक्ति गिरफ्तार भएको उल्लेख गरे । पश्चिमाञ्चल विकास क्षेत्रमा यस वर्ष गैरराज्य पक्षबाट भएका विभिन्न घटनामा परि २२ जना महिला सहित ३४ जना ब्यक्तिको हत्या भएको घटना पनि इन्सेकले अभिलेख गरेको संयोजक खकुरेलले बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुँवरले वर्ष पुस्तक २०१८ सार्वजनिक गर्नुका साथै उत्कृष्ट जिल्ला प्रतिनिधिलाई पुरस्कार प्रदान समेत गरेका थिए । सोही क्रममा प्रदेश नम्बर ४ बाट उत्कृष्ट हुने गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेती तथा प्रदेश नम्बर ५ बाट उत्कृष्ट हुने गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्याललाई जनही सात हजार रुपियाँ पुरस्कार र कदरपत्र सहित सम्मान गरिएको थियो ।
इन्सेक पोखराकी प्रलेख अधिकृत सुमित्रा भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन् भने सञ्चालन इन्सेक पोखराकी कार्यक्रम संयोजक सवनम शर्माले गरेकी थिईन् ।
इन्सेक पोखरा

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads