Loading...
नेतालाई मन्त्री बनाउनुपर्ने अाेलीलार्इ दबाब

काठमाडाै । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी नेताहरूसँग अन्तिम परामर्श गरेका छन् ।मन्त्री बन्न एमालेका सांसदहरु अन्तिम रस्साकस्सीमा लागेका छन् ।
आजकाे नयाँ पत्रिकामा खबर छ- माओवादीमा प्रत्यक्ष जितेका अधिकांशले मन्त्रीको आकांक्षा देखाएका छन् । सम्भव भएसम्म आज(सोमबार) बेलुकीसम्म मन्त्रीहरूको शपथ गराउने गरी ओलीले आइतबार शीर्ष नेताहरूसँग परामर्श गरेका हुन् ।
‘सोमबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने सम्भावना छ,’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्थायी समितिको निर्णयपछि प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेताहरूसँग पनि परामर्श गरिसक्नुभएको छ । सोमबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ ।
यी हुन् पहिलोपटक मन्त्रीका लागि आकांक्षी 
एमालेभित्र ३० जनाभन्दा बढी नेता मन्त्रीका आकांक्षी छन् । पटक–पटक दोहोरिएकादेखि एकपटक पनि अवसर नपाएका पदाधिकारी तहका नेताहरू मन्त्रीका आकांक्षी छन् । यसपटक अवसर नपाएका पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो तहका राम्रा छवि बनाएका नेतालाई मन्त्री बनाउनुपर्ने दबाब प्रधानमन्त्रीमाथि छ ।
प्रदेश १ बाट सचिव योगेश भट्टराई, भानुभक्त ढकाल, यज्ञराज सुनुवार र वसन्त नेम्बाङ आकांक्षी छन् । उनीहरूमध्ये कसैले पनि मन्त्री बन्ने अवसर पाएका छैनन् ।
२ बाट रघुवीर महासेठ र सुमन प्याकुरेल आकांक्षी छन् । महासेठ एकपटक मन्त्री भइसकेका छन् ।
३ बाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, रामवीर मानन्धर, महेश बस्नेत आकांक्षी छन् । उनीहरूमध्ये श्रेष्ठ र बस्नेत एकपटक मन्त्री भइसकेका छन् ।
प्रदेश ४ बाट युवा नेता रवीन्द्र अधिकारी, जगत विश्वकर्मा र पद्मा अर्याल छन् । अधिकारी, विश्वकर्मा र अर्यालले अवसर पाए पहिलोपटक मन्त्री बन्नेछन् ।
५ बाट भने पदाधिकारी तहकै नेता आकांक्षी छन् । उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी समिति सदस्य छविलाल विश्वकर्मा आकांक्षी छन् ।
त्यस्तै, ६ बाट धनबहादुर बुढा, नवराज रावत, ७ बाट प्रेम आले, गणेशसिंह ठगुन्ना र नारदमुनी राना थारू मन्त्री बन्ने दौडमा छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजुलाई हराएका कारण राना चर्चामा रहे पनि यसअघि रातो पासपोर्ट दुरुपयोगमा मुछिएका कारण उनलाई बनाउन नहुने भन्दै प्रदेशकै अन्य नेताहरूले लबिङ गरिरहेका छन् ।
मन्त्री नबन्नेलाई पार्टीमा जिम्मेवारीको प्रस्ताव 
एमाले उपाध्यक्ष भीमबहादुर रावलले मन्त्री नबन्ने पार्टीका पदाधिकारीलाई महवपूर्ण जिम्मेवारी दिनुपर्ने विकल्प अघि सारेका छन् ।
मन्त्रीका आकांक्षी रावलले महासचिव ईश्वर पोखरेल, सचिवहरू प्रदीप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण विष्टलगायत सबै पदाधिकारी मन्त्री बन्ने दौडमा देखिएपछि पार्टीमा नयाँ प्रस्ताव अघि सारेका हुन् ।
स्थायी समिति बैठक र ओलीसँगको भेटमा रावलले त्यस्तो प्रस्ताव राखे पनि प्रस्ट खुलाएका छैनन् । पार्टी एकीकरण हुन लागिरहेका वेला रावलको पछिल्लो प्रस्तावलाई विभिन्न कोणबाट टिप्पणी भइरहेको एक नेताले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads