Loading...
चौतारीले मनायो स्थापना दिवस

वामपन्थी पत्रकारहरुको समूह प्रेस चौतारी नेपालले सोमबार देशैभर आफ्नो स्थापना दिवस मनाएको छ । प्रेस चौतारीले २०औं स्थापना दिवसको अवसरमा राजधानी र देशका विभिन्न जिल्लाहरुमा विविध कार्यक्रमहरु गरेर स्थापना दिवस मनाएको हो ।
यसैक्रममा प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २०औं स्थापना दिवसको अवसर पारेर म्याग्दी जिल्लास्थित बेनी अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको जनाएको छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई लक्षित गरी पूर्ण स्वास्थ्यलाभको कामनासहित मौसम अनुकुल हुनेगरी विभिन्न किसिमका फलफूलहरु वितरण गरेको थियो । 
दिवसको अवसरमा आयोजित कार्यक्रममा बिरामीलाई फलफूल वितरण गर्दै नेकपा एमाले म्याग्दीका उपाध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले स्थापना कालदेखि नै प्रेस चौतारी नेपालले गर्दै आएको राम्रा कामलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न जिल्ला शाखा म्याग्दी प्रतिबद्ध रहनुपर्ने सुझाव दिए । उनले सूचनाको माध्यमबाट कुनै पनि नागरिक बञ्चित हुन नहुने भन्दै सबैले सहज रुपमा सूचना पाउनुपर्ने बताए । सत्यतथ्य र निष्पक्ष सूचना तथा समाचारमूलक जानकारी एवं सन्देशहरु सम्प्रेषण गर्ने सञ्चारमाध्यहरुको कर्तव्य भएको हुदाँ सञ्चारकर्मी, पत्रकार र सञ्चार संघसंस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने प्रमुख केसीको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष तारानाथ शर्माले दर्शक, श्रोता र पाठकको रुचि अनुसारका सामाग्रीहरु उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिँदै सिमान्तकृत वर्गका आवाजहरुलाई समेट्नुपर्ने बताएका छन् । अस्पताल विकास समिति म्याग्दीका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख डा. रोशन न्यौपानेले समयसमयमा हुने जिल्लास्थित विभिन्न संघसंस्थाको सामाजिक गतिविधिले बिरामीलाई राहतको महशुस हुने बताएका थिए । 
उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोग सदस्य अमृत बास्कुने, नेकपा एमाले जिल्ला सचिव बालकृष्ण सुवेदी, प्रचार विभाग प्रमुख सुरत केसी, प्रेस चौतारी म्याग्दीका निवर्तमान अध्यक्ष डिपी शर्मा, पत्रकार महासंघका सचिव गोरखनाथ सुवेदी लगायतले बिरामीलाई फलफुल वितरण गरेका थिए । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षता तथा स्वागत र कोषाध्यक्ष अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा शाखाका पदाधिकारी, जिल्लास्थित स्थानीय एवं राष्ट्रिय सञ्चारमाध्यमममा कार्यरत सञ्चारकर्मी, पत्रकार, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads