Loading...
नृत्यमा जमेकी मेघ्ना


मिलनकुमार लामा  
काठमाडौं । नृत्यमा सानैदेखि रुचि राख्ने बुटवलकी मेघ्ना रजाली मगर अहिले यस क्षेत्रमा जमेकी छन् । सानै उमेरमा आमाबाबुको मायाबाट अलग हुनुपरेको पीडा लिएर उनले नृत्यमा आफू लाई अब्बल सावित गर्न निकै मिहिनेत गरिन् । आफ्नो गन्तव्यमा पुग्न निरन्तर विचलित नभई उनी लागिरहिन् ।
पद्ममकन्या क्याम्पस बागबजारबाट नृत्यमा स्नातक गरेकी मगरले अहिले ललितपुरको सातदोबाटोमा बेल डान्स स्कुल सञ्चालन गरेकी छन् । बेली, कन्टेम्प्रोरेरी र हलिउड डान्समा विशेष रुचि राख्ने मगर अहिले बालबालिका र युवामाझ लोकप्रिय छन् । कुनै समय ट्युसनका लागि ल्याएको पैसा नाच सिक्नमा खर्च गरेको उनले कहिले नबिर्सने बताउँछिन् ।
नेपालमा सयौँ स्टेजमा आफ्नो कला प्रस्तुत गरिसकेकी उनले विदेशमा भने स्टेज नपाएको बताइन् । ‘दुबई, मलेसिया, हङकङ लगायतका देशबाट डिमान्ड आए पनि एम्बेसीले भिसा नै दिँदैन,’ उनले दुखेसो पोख्दै भनिन्, ‘जे भए पनि प्रयास भने छाड्दिनँ ।’  अहिलेसम्म १९ वटा गीतमा मोडलिङ गरेकी उनले ७ गीतमा कोरियोग्राफरको भूमिका निभाएकी छन् ।
मगर भन्छिन्, ‘यदि मैले आएकाजति सबै प्रस्तावलाई स्वीकारेको भए सयौँ गीतमा मेरो कोरियोग्राफी र नृत्य हुने थियो । तर, मैले आफ्नो करिअर र भूमिकामा सधैँ सचेत भए र रोजेर मात्रै काम गरे ।’ नृत्यका क्षेत्रमा बेथिति हुने उनले घुमाउँरो पाराले जनाइन् । कुनैवेलामा डान्स स्कुल खोल्न लागेकोभन्दा खिसी गर्नेहरूले अहिले सम्मान गरेर नजिक हुन खोजेको अनुभव उनले सुनाइन् ।
आफ्नो विगतलाई सम्झेर उनी कुराकानीका क्रममा भावुक हुँदै भनिन् ‘सायद मैले परिवारको साथ पाएको भए मेरो १३ वर्षको उमेरमा जबरजस्ती विवाह हुने थिएन होला । आमा र बुबा ज्युँदो हुँदाहुँदै मलाई सबैले टुहुरो छोरी भनेर बोलाउँदैन्थे होला ।’ सानैमा बुबाले बेवास्ता गरेको र आमाले अर्कैसँग विवाह गरेर गएको पीडाले अहिले पनि उनलाई घोचिरहन्छ ।
विवाहबारे प्रसंगमा उनले लजाउँदै भनिन्, ‘मेरो पेसालाई सम्मान गर्ने र मेरो पीडा बुझ्ने योग्य केटा पाएमा घरजम बसाउने योजनामा छु ।’ राजधानीको संघर्षले आफूलाई जीवनबारे बुझ्न र बाँच्न सिकाएको बताउने मगरले मोडलिङ क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन राज्यले विशेष पहल गर्नुपर्नेमा जोड दिइन् ।
श्रोत http://www.souryadaily.com

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads