Loading...
अब राष्ट्रपति रनिङ शिल्ड गाउँगाउँमै

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तहमा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुँदै आइरहेको प्रतियोगिता यसवर्ष पहिलोपटक स्थानीय तहमा हुन लागिरहेको हो । 
जिल्ला खेलकुद विकास समिति म्याग्दीले मङ्गलबार मंगला गाउँपालिकाको बाबियाचौरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको छ । यही फागुनको तेस्रो साता अर्थात् १६ गतेदेखि १९ गतेसम्म मंगलाको बाबियाचौर, रनबाङ र मालिका गाउँपालिकाको दरबाङ बजारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ । 
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले ग्रामीण भेगमा सञ्चालित विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित स्थानीयस्तरमा खेलकुद प्रतियोगिताको आयोजना गरिएको बताए । उनले सदरमुकाममा आयोजना हुने हरेक प्रतियोगितामा ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा प्रशस्तै क्षमता भए पनि त्यो देखाउन नसक्ने र खेल शिक्षकले पनि गुनासो गर्ने गरेपछि परिवर्तित सन्दर्भलाई मध्यनजर गरी स्थानीयस्तरमा प्रतियोगिता गर्न लागिएको बताएका छन् । 
प्रतियोगिता अन्तर्गत दरबाङमा भलिबल, रनबाङमा एथ्लेटिक्स र बाबियाचौरमा कबड्डी प्रतियोगिता सञ्चालन गरिने अध्यक्ष विश्वकर्माले जानकारी दिए । उनका अनुसार मार्सल आर्ट अन्तर्गत सदरमुकाम बेनीमा तेक्वान्दो, कराँते र उसु प्रतियोगिता गरिने भएको छ । प्रतियोगितामा बेनी नगरपालिका र पाँचवटा गाउँपालिकामा रहेका सबै विद्यालयको सहभागिता गराइने आयोजकको भनाई छ । प्रतियोगितालाई ‘मिनी महोत्सवको रुपमा लिइएको हुँदा सबै क्षेत्रबाट आवश्यक सहयोग प्राप्त हुने अध्यक्ष विश्वकर्माले बताए । 
पत्रकार भेटघाट कार्यक्रममा मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले पूर्वाधारहरुको परिस्थितिलाई हेरेर स्थानीय तहमा खेलकुद प्रतियोगिता आयोजना गर्नु महत्वपूर्ण उपलब्धि हुने बताएका छन् । उनले ग्रामीण क्षेत्रका विद्यार्थीको शिक्षासँगै खेलकुद क्षेत्रको समेत विकास हुने बताउँदै स्थानीय तहको विकासमा पनि खेलकुद क्षेत्रले सहयोग पु¥याउने बताए । खेलकुद महत्वपूर्ण र अपरिहार्य विधा भएको उनको भनाई छ । 
मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले स्थानीय तहमा हुने खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आफूहरु लागिपर्ने बताउँदै खेलकुदका लागि आवश्यक सबै सहयोगहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले जिल्लामा केन्द्रीत खेलकुद गतिविधिलाई गाउँस्तरमा ल्याउनु ठूलो उपलब्धि भएको भन्दै गाउँस्तरमा हुने खेलसम्बन्धी गतिविधिहरुलाई जिल्ला हुँदै राष्ट्रियस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका थिए ।
मालिका गाउँपालिका उपाध्यक्ष खरमाया बिटालुले खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक व्यवस्थापनका सबै सहयोग गरिने बताइन् । मालिका–६ दरबाङका वडाध्यक्ष सन्तोष सुवेदी, मंगला–२ का कार्यवाहक वडाध्यक्ष राजु पाण्डे र जनप्रिय मावि दरबाङका प्रधानाध्यापक दिवाकर सुवेदीले ग्रामीण क्षेत्रमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा विद्यार्थीमा खेल क्षेत्रको विकास हुने भएकाले यसलाई सफल बनाउन आफूहरुले सबै किसिमका सहयोग गर्ने बताएका थिए । 
प्रतियोगिता सम्पन्न गर्नका लागि कुल १६ लाख ९५ हजार रुपैयाँ खर्चको प्रस्ताव गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ९५ हजार, ५५ हजार र ३५ हजार रुपैयाँसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । त्यस्तै सबै खेल विधामा उत्कृष्ट खेलाडीहरुलाई जनही नगद १ हजार पाँचसय तथा मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिने खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले जानकारी दिए । 
त्यसैगरी आयोजक, सह–आयोजक, सहयोगी संघसंस्था र व्यक्तिलाई समेत मायाको चिनोसहित सम्मान गरिने जनाइएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न जातजातिको भेषभूषा, झाँकी एवं ¥याली, स्थानीय लोकसंस्कृति प्रदर्शन, बाजागाजा र नाचगानलगायत प्रस्तुती गरिने भएको छ । प्रतियोगिताको उद्घाटन समारोह दरबाङमा सुरु गरिने र समापन बाबियाचौरमा गरिने कार्यक्रम तय गरिएको छ । 




0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads