Loading...
संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास

काठमाडौ । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ- संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ । त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ ।
एमाले र फोरमका दोस्रो तहका नेताबीच बुधबार कुराकानी भएको थियो । ‘एमालेसँंग कुराकानी सकारात्मक भएको छ, शीर्ष तहमा पुन: छलफल गरी संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ,’ फोरम नेता रामसहाय यादवले कान्तिपुरसँग भने, ‘संविधानको विषयमा साझा समझदारी बनेपछि सरकारमा जाने/नजानेबारे औपचारिक टुंगो लाग्नेछ ।’
संविधान संशोधनको विषयमा आवश्यकता र औचित्यका आधारमा टुंगोमा पुग्न सकिने धारणा एमालेले राख्दै आएको छ । यो विषयलाई समय तोकेर ठोस रूपमा अघि बढाउन फोरम नेताहरूले एमाले नेतासँग आग्रह गरेका थिए ।
‘संविधान संशोधन नगरी अब प्रदेशहरू पनि चल्न सक्दैनन्, सातवटा प्रदेशमध्ये ६ वटा एमाले–माओवादीले नेतृत्व गरेका छन् । यो संशोधन अब २ नम्बर प्रदेशको विषय मात्र बनेन,’ यादवले भने, ‘यसैले संविधान संशोधनको आवश्यकता र औचित्य छ भन्ने हाम्रो भनाइ हो ।’
एमाले सचिव प्रदीप ज्ञवालीले सकेसम्म मधेसी दलहरू पनि सरकारमा आऊन् भनेर नै कुराकानी भइरहेको बताए । छलफल सकारात्मक रहेको पनि उनले बताए । फोरम अध्यक्ष यादवले गत सोमबार एमाले–माओवादी एकता संयोजन समितिको बैठक चलिरहेकै बेला बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए ।
त्यस भेटमा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । ओलीले अबको मूल ध्यान विकास निर्माण भएकाले त्यसका लागि केन्द्र र प्रदेश सरकार मिलेर जानु आवश्यक रहेको भन्दै यादवलाई सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।
‘प्रदेश आफैंमा स्वतन्त्र रूपमा चल्न सक्ने अवस्था रहँदैन, धेरै स्रोतसाधन केन्द्रमै निर्भर रहनुपर्छ त्यसैले तपाईंहरू नेतृत्वको प्रदेश २ को पहिलो सरकारको सफलताका लागि पनि केन्द्रमा मिलेर जाँदा राम्रो हुन्छ,’ ओलीले भनेका थिए । त्यो भेटपछि बुधबार त्यसबारे दोस्रो तहका नेताहरूबीच पुन: कुराकानी भएको हो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads