Loading...
स्रोतसाधनको परिचालन गरेर विकास गर्छौं : गुरुङ

प्रताप बानियाँ




प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोत र साधनहरुको परिचालन गरेर प्रदेशको विकास गर्ने बताउनुभएको छ । शनिबार म्याग्दीको बेनीमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ वि वान नेपालको तेस्रो क्याबिनेट वैठकको उद्घाटन गर्दै उहाँले स्रोतसाधनको परिचालनसहित प्रदेशको विकास गरिने बताउनुभएको हो ।
शुन्य मैदानमा रहेको हुँदा आफू धेरै चिन्तित भएको बताउँदै उहाँले प्रक्रियामुखी भन्दापनि अब परिणाममुखी नतिजा आउने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले ४ नम्बर प्रदेशलाई चारवटा ‘स’ शान्त, सुन्दर, समृद्ध र सभ्य बनाइने भन्दै कृषि, पर्यटन र जलविद्युतको विकासमा जोड दिइने बताउनुभएको छ । कृषि, पर्यटन, जलस्रोत र खनिज पदार्थका हिसाबले ४ नम्बर प्रदेश धनी रहेको हुँदा कृषिलाई आधुनिकीकरण गरी अगाडि बढ्ने र जलस्रोत तथा पर्यटनको विकासमा ध्यान दिइने उहाँको भनाइ छ ।
मुख्यमन्त्री गुरुङले संसारमा सबैभन्दा अग्लो उचाइमा रहेको ताल तिलिचो, अग्लो भन्ज्याङ थोरङ्लापास र गहिरो अन्धगल्छी ४ नम्बर प्रदेशमै रहेको बताउँदै ती क्षेत्रको विकास र प्रवद्र्धन गरी पर्यटकहरु भिœयाउने बताउनुभयो । भाषा र संस्कृतिका हिसाबले पनि ४ नम्बर प्रदेशभित्रका सबै गाउँहरु ‘लिभिङ म्युजियम’ रहेकोले होमस्टे सञ्चालन गरिने बताउनुभयो । पर्यटकीय हिसाबले हिमाल, तालतलैया, एकसिङ्गे गैंडा, नाउरको शिकार खेल्न पाइने ढोरपाटन शिकार आरक्ष र देशको सबैभन्दा ठूलो संरक्षण संस्था एक्याप र एनक्याप क्षेत्र प्रदेश ४ भित्रै रहेको हुँदा अब ती क्षेत्रहरुको विकास गरिने बताउनुभएको छ ।
आवश्यक नीतिनियम र कानुनहरुको निर्माण गरी तत्काल स्थानीय तहलाई बलियो बनाइने भन्दै मुख्यमन्त्री गुरुङले योजना निर्माणका साथै नीति र तयारीका लागि आफूहरु प्रारम्भिक छलफलमा रहेको जानकारी दिनुभयो । उहाँले सरकारले पूर्णता पाउने क्रममा रहेकाले त्यसपछि प्रदेशको आवश्यक नीतिनियम तयार गरी स्थानीय तहमा लागू गरिने बताउनुभयो । देशमा गणतन्त्र स्थापना भैसके पनि यसलाई निषेध गर्ने तत्व अझै रहेको र डनवादका रुपमा उद्यमी र व्यवसायीहरुलाई दुःख दिने हुँदा यसलाई निर्मूल पार्नुपर्ने मुख्यमन्त्री गुरुङले बताउनुभयो ।
;
यसैबीच शनिबारै नेकपा एमाले म्याग्दीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले भ्रष्टाचार, घुसखोरी र अनियमितताको नियन्त्रण गर्नका लागि जनताले कम्युनिष्टलाई मत दिएको बताउनुभएको छ । उहाँले प्रत्येक जिल्लाहरुलाई एउटा–एउटा उत्पादनसँग जोड्नुपर्ने बताउँदै स्थानीय स्तरबाटै अग्र्यानिक खेतीतर्फ जोड दिनुपर्ने बताउनुभयो । माटोपानी र हावा सुहाउँदो खेतीपाती गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ ।
यसैगरी म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले दीगो विकासको अवधारणा अनुसार विकास निर्माणका क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले देश विकासमा निजी क्षेत्रको योगदान रहेको भन्दै उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि आफूले पहल गर्ने र लगानीमैत्री वातावरण निर्माण गर्ने बताउनुभएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads