Loading...
एकताको टुंगो नलागेसम्म माओवादी केन्द्र सरकारमा सहभागी नहुने

काठमाडौ । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ ।
अाजकाे कान्तिपुर दैनिकमा खबर छ- बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाएन ।
प्रधानमन्त्री ओलीसहित एमालेका दुई मन्त्रीले मात्र शपथ लिए ।‘पार्टी एकता र सरकारसम्बन्धी दुई दलको छलफल नटुंगिएका कारण हामीले अहिले मन्त्री नपठाएका हौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘केही राजनीतिक र वैचारिक विषय टुंग्याउन बाँकी छन् ।’
माओवादी केन्द्रका प्रमुख नेताहरू बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसेका थिए । बैठकले प्रधानमन्त्रीमा ओलीलाई तत्काल समर्थनसहितको पत्र राष्ट्रपतिकामा पुर्‍याउने तर सरकारमा सामेल नहुने निष्कर्ष निकालेको थियो । खुमलटार बैठकपछि माओवादीको समर्थन रहेको भन्दै दाहालले लेखेको पत्रसहित नेता नारायणकाजी श्रेष्ठ मात्र एमाले नेताहरूसँगै राष्ट्रपति कार्यालय पुगेका थिए ।
त्यहाँ दाहालले राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाएको आफ्ना ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको बेहोराको पत्र श्रेष्ठले हस्तान्तरण गरेका थिए । बुधबारको वार्तामा दुई दलबीच बिहीबार वाम एकता संयोजन समितिको बैठक बसी बाँकी विषय टुंग्याउने सहमति थियो । तर, बिहीबार बिहानैदेखि प्रधानमन्त्री नियुक्तिसम्बन्धी काममा अल्झिएकाले दुई दलको बैठक हुन सकेन ।
शुक्रबार दुई दलबीच छलफल हुने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् । उक्त बैठक सहमतिमा पुगे माओवादीले ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्रीहरू पठाउनेछ । नत्र बाहिरै बसेर समर्थन मात्र गर्नेछ । नेताहरूका अनुसार बुधबार झन्डै चार घण्टा चलेको बैठकमा प्रधानमन्त्री आलोपालो गर्ने र पार्टीको सैद्धान्तिक विषय के हुने भन्नेमा कुरा मिल्न सकेको थिएन ।
दुवै पार्टीका अध्यक्ष पार्टीको संयुक्त नेतृत्व गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत थिए । तर, सरकारको नेतृत्व पनि ओली र दाहालबीच आलोपालो हुनुपर्ने, समय पनि किटान गर्नुपर्ने माओवादीको अडान थियो ।
छलफलमा दुई पार्टीका अध्यक्षको संयुक्त नेतृत्वको विषय टुंगिए पनि अन्य शीर्ष नेताका बारेमा के गर्ने भन्ने स्पष्ट धारणा बनिसकेको थिएन । दुवै दलका प्रमुख नेताले एकता प्रक्रियामा आफ्नो पनि स्थान सुरक्षित होस् भन्ने चाहेका छन् । उनीहरूको भूमिका अहिले नै के हुने भन्ने तय नहुँदा त्यसको प्रभाव बुधबारको वार्तामा पर्‍यो । अब शुक्रबार बिहानैदेखि बस्ने एकतासम्बन्धी बैठकले यो विषयसमेत निरूपण गर्नुपर्नेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads