Loading...
जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम


‘सबल र सक्षम जनप्रतिनिधिमार्फत समृद्ध नेपालको निर्माण गरौं, दीगो विकास सामाजिक न्याय र सुशासनसहित समाजवादको यात्रा तय गरौं’ भन्ने मूल नारासहित जनप्रतिनिधिलाई तालिम दिइएको छ । नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सदरमुकाम बेनीमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको हो । 
गएको बैशाख ३१ गते पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबाट म्याग्दीको नगरपालिका, गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधिहरुलाई तालिम दिइएको नेकपा एमाले म्याग्दीले जनाएको छ । केन्द्रमा नेकपा एमाले र माओवादीको पार्टी एकताको अन्तिम तयारी भैरहेको अवस्थामा जिल्लामा समेत स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सयुक्त रुपमा तालिम दिएर स्थानीय तहमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने प्रयास गरिएको बताइएको छ ।
नेकपा एमाले र मओवादी केन्द्र म्याग्दीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई कार्य सम्पादनलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको जनाएका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा निर्वाचित वाम गठबन्धनका जनप्रतिनिधिलाई दैनिक कार्यसम्पादन, कानुन निर्माण, योजना निर्माणलगायत विविध विषयमा केन्द्रित भएर सञ्चालन गरिएको तालिमको नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र माओवादी केन्द्रका पोलिट व्युरो सदस्य एवं जिल्ला संयोजक गोविन्द पौडेलले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई जनताको आवश्यकता पुरा गर्न स्थानीय तहमा प्राप्त बजेटलाई प्रभावकारी कार्यान्वयन, आर्थिक रुपमा सफल बनाउन, राजश्व र गैर राजश्वको व्यवस्थापन, न्यायिक समितिमार्फत गर्नुपर्ने काम लगायतका स्थानीय तहमा आवश्यक नीतिनियम बनाउन खेल्नुपर्ने भूमिका जस्ता विषयमा केन्द्रित भएर प्रशिक्षण दिइएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए । 
तालिमको उद्घाटनसत्रमा केन्द्र र प्रदेशमा वामपन्थीको सरकारका कार्यक्रमलाई स्थानीय तहमार्फत जनताको धेरदैलोमा पुग्ने गरी कार्यसम्पादन गर्न कार्ययोजना बनाउन जनप्रतिनिधिलाई निर्देशन दिइएको थियो । तालिमको नेकपा एमालेका ऊर्जा तथा वातावरण विभागका रामबहादुर राउत, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका छविन्द्र बेलबासेले विभिन्न विषयमा प्रशिक्षण दिइएको नेकपा एमाले म्याग्दीका सचिवालय सदस्य सन्तोष रावलले जानकारी दिएका छन् । 
तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, नगर तथा गाउँ कार्यपालिकाका सदस्य, वडा सदस्यहरूको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागी हुन छुटेका वामपन्थी जनप्रतिनिधिलाई गाउँपालिकास्तरमै आवश्यकता अनुसार तालिम तथा प्रशिक्षण कार्यक्रम गरिने जनाइएको छ । उद्घाटन सत्रको अध्यक्षता एमाले म्याग्दीका अध्यक्ष श्रेष्ठ, स्वागत जिल्ला उपसचिव देवबहादुर घले र सञ्चालन सचिव बालकृष्ण सुवेदीले गरेका थिए । तालिममा सहभागिले तालिमले कार्यसम्पादनमा सहज हुने विश्वास व्यक्त गरेका छन् । जनप्रतिनिधिलाई राज्यले दिनुपर्ने तालिम जिल्लामा पार्टीले दिएको उनीहरु निर्वाचित भएपछिको पहिलो कार्यक्रम आयोजना भएको जनाइएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads