Loading...
बोक्सी अारोपमा युवती कुटिँदा रमिते मेयरः सामाजिक काममा पछाडि

काठमाडाैं । धनगढीमा बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।
अाजको नयाँ पत्रिकामा खबर छ-घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने ।
बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।
इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए ।
अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी
बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।
पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने ।
शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए ।
घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’
युवतीको अवस्था खतरामुक्त
सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको टाउको, छाती, आँखा, पेट, खुट्टा, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको चिकित्सकले बताए ।
ढाड र आँखामा बढी चोट देखिए पनि अवस्था भने खतरामुक्त रहेको डा. सजन केसीले बताए । भित्री चोट बढी लागेको देखिएको उनले बताए ।
पीडित युवती राधाले आँखा, घाँटीलगायत शरीरका विभिन्न भाग दुखिरहेको बताएकी छिन् । आफू राम्रोसँग बोल्न सक्ने अवस्था नरहेको उनले बताइन् ।
संलग्नलाई कारबाहीको माग
बोक्सी भन्दै यातना दिनेलाई कारबाही हुनुपर्ने माग पीडित पक्षले गरेको छ । ‘मेरी छोरीमाथि यातना दिनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
कुटपिट गर्ने अरूलाई पनि प्रहरीले पक्राउ गर्नुपर्छ,’ पीडितकी आमा फुलकेशरी चौधरीले माग गरिन्, ‘दोषीलाई उम्किन नदिइयोस् ।’ पीडित पक्षले राहत र क्षतिपूर्तिसमेत माग गरेको छ ।
पीडितलाई भेटे मेयरले
घटनाका मुख्य दोषी छुटाउन भूमिका खेलेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बोक्सीको आरोपमा कुटिएर घाइते भएकी किशोरीलाई भेटेका छन् ।
सेती अञ्चल अस्पताल पुगेर शनिबार उनले पीडित र पीडितका आफन्तलाई भेटेका हुन् । पीडित युवतीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संलग्नलाई कारबाही गराउन सहयोग गर्ने बताए ।
‘फलफूल लिएर आउनुभएको थियो । एकछिन बसेर जानुभयो,’ पीडितकी दिदी सन्ध्या योगीले भनिन्, ‘उपचारमा र दोषीलाई कारबाही गर्न सहयोग गर्छौँ भन्नुभयो ।’
घटना भएकै दिन अभियुक्त रामबहादुरलाई पक्राउ गरिए पनि मेयर चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकायालगातको रोहवरमा प्रहरीले रिहा गरेको थियो ।
मेयर चौधरीले घटनाका विषयमा पत्रकार सम्मेलनसमेत गरे । धनगढीमा पत्रकार बोलाएर उनले प्रहरी चौकीमा घटना मिलाउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरे ।
‘भिड भएकाले प्रहरी चौकीमा गएको कुरा साँचो हो, तर मिल्नुपर्छ भनेर मैले भनेको छैन,’ उनले भने, ‘जाहेरी स्पष्ट नभएर प्रहरीले उजुरी दर्ता नगरेको होला ।’ जाहेरी स्पष्ट नभएकाले दर्ता नभएको प्रहरीले आफूलाई बताएको पनि उनले जनाए ।
प्रहरी चौकीभित्र पस्नुभयो, घटनाबारे बुझ्ने कामसम्म तपाईंले गर्नुभएन, आफ्नो दायित्व होइन ठान्नुभएको हो ? पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जिम्मेवारी हो । दोषीलाई कारबाही हुनुपर्छ । कारबाहीका लागि हामी पनि सहयोग गर्र्छौँ ।
घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि
बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् ।
उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् ।
बोर्डको अध्यक्ष ममताप्रसाद आफैं  छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् ।
प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा : मिलापत्र गराउनेलाई कारबाही होस्
बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो ।
खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे ।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ ।
यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’
पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् ।
सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् ।
‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ ।
समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’
सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् ।
पुरुष सांसद बोलेनन् 
बोक्सीको आरोपमा युवतीमाथि भएको जघन्य अपराधविरुद्ध महिला सांसद बोले, तर पुरुष सांसदको मन छोएन । उनीहरूले संसद्को कार्यसूची शिरोपर गरे, जघन्य घटनालाई पाखा लगाए । तीन महिला सांसद बोलेपछि बैठकमा प्रदेश सभा नियमावली प्रस्तुत गरिएको थियो ।
त्यसो त सुरुमै नियमावलीको मस्यौदा सीधै पेस गर्ने कार्यसूचीमै बैठक अघि बढ्न खोजेको थियो । तर, महिला सांसदहरू चुप लागेनन् ।
बोक्सी आरोपमा भएको जघन्य अपराधबारे संसद्मा बोल्न पाउनुपर्ने माग उनीहरूले सभामुखसमक्ष राखे । अन्ततः तीन महिला सांसदलाई बोल्न दिने र त्यसपछि मस्यौदा पेस गर्ने सहमति बैठकले ग¥यो । यो निर्णयमा पुरुष सांसदहरूले ताली बजाए ।
‘तीनजना महिला सांसद बोलेपछि मस्यौदा पेस गर्ने सहमति गरायौँ,’ सांसद पूर्णा जोशीले भनिन्, ‘बैठक सुरु हुनुअघि यही सहमति गरिएको हो ।’
पीडितलाई मन्त्री र सांसदको आश्वासन
प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले पीडित किशोरी तथा उनका आफन्तलाई भेटेर उपचार, राहत र संलग्नलाई कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
पीडितलाई भेट्न अस्पताल पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताइन् ।
यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, उपसभामुख निर्मला बडाल जोशी, सांसदहरू वीरमान चौधरी, मालामतीदेवी राना, माया तामाङ बोहरा, सुशीला बुढाथोकीलगायत पनि शनिबार सेती अस्पताल पुगे ।
उनीहरूले पीडित र पीडितका परिवारलाई भेटेर स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिए । भेटपछि सांसद चुनकुमारी चौधरीले दोषीलाई कारबाही गर्ने, पीडितको उपचार र राहतका लागि पहल गर्ने आश्वासन दिइन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads