Loading...
जन्मस्थान ढिकुरपोखरीमा घर बनाउने प्रचण्डकाे याेजना

काठमाडाै । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जन्मस्थान कास्कीको ढिकुरपोखरीमा घर बनाउने बताएका छन् । शनिबार अन्नपूर्ण काठमाडौं समाजको साधारणसभामा उनले धेरैले आफूलाई जन्मस्थानमा घर बनाउन सुझाब दिँदै आएको बताए ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- ‘साथीहरूले आफू जन्मिएको ठाउँमा एउटा झुप्रो बनाए हुन्थ्यो भनेर भनिराख्नु भएको थियो,’ प्रचण्डले भने, ‘म सोच्दै छु, त्यहाँ गएर बस्न एउटा सानो घर बनाइयो भने त्यहाँको विकास निर्माणमा सहकार्य गर्न सजिलो हुन्छ ।’
अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्ने उनले बताए । प्रचण्डले संरक्षकत्वको भूमिकाका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकार गरेका छन् ।
ढिकुरपोखरी अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको परिवार कास्कीको ढिकुरपोखरीबाट चितवन सरेको थियो । प्रचण्ड करिब एक दशकसम्म काठमाडौंको लाजिम्पाटमा बस्दै आएका थिए । उनी केही समयअघि मात्रै ललितपुरको खुमलटारमा सरेका छन् ।
विकास र समृद्धि सरकारको प्राथमिकतामा
प्रचण्डले मुलुकको विकास र समृद्धि सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । उनले राजनीतिक स्थायित्व कायम हुने आधार सिर्जना भएको उल्लेख गर्दै अब सरकारले विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने भनाइ राखे ।
प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेर सिंगो राष्ट्रका लागि केही गर्नुपर्छ भने भावना मनमा राखे पनि तत्कालीन राजनीतिक संक्रमणको मूलभूत आवश्यकता संविधानसभाबाट संविधान निर्माण गरी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु रहेकाले अन्य विषय ओझेलमा परेको बताए ।
संविधान कार्यान्वयनको अत्यन्तै संवेदनशील पक्ष तीनै तहको निर्वाचन सम्पन्न भई सबै तहका सरकारले काम अगाडि बढाउने तयारी गरिसकेकाले अब विकास र समृद्धितर्फ मुलुक अघि बढ्ने सुनिश्चित आधार तयार भएको उनको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads