Loading...
कामी हुँ कहाँ-कहाँ लगाउँछौ ताल्चा ?




विश्वास खड्काथोकी



 नयाँ पत्रिका राष्ट्रिय दैनिकको समाचार डेक्समा छु । र, मलिन अनुहार बनाएर किबोर्ड थिचिरहेको छु, ‘एउटा कामीको ‘वीर्य’ भएकैले मैले राजधानीमा कोठा भाडामा पाइनँ !’ सँगै सम्झिरहेछु, समृद्ध मुलुकको सपना ।यतिवेला लेख्नुपर्ने त मैले सिल्क रोड, पर्यटन विकास वा हाइड्रोका बारेमा थियो होला । या आर्थिक सम्मृद्धिको सूचकांकको समीक्षा गर्नुपर्ने थियो । त्यो पनि नगरे राजनीतिक गठजोड र त्यसका परिणामबारे विश्लेषण गर्नुपर्ने त पक्कै थियो होला !


विडम्बना ! जब म राजधानीमा नै जातका आधारमा कोठाबाट बहिस्कृत हुन्छु, अनि यो दबिएको मस्तिष्कले कसरी सोच्न सक्छ तिम्रो समृद्धि ? जसरी शिक्षाबाट वञ्चित भएका लाखौँ दलितले सयौँ वर्षसम्म आफूमाथि भएको विभेदबारे थाहा नपाउँदै मृत्यु वरण गरे । त्यसैले लेख्दै छु, मजस्ता ‘अमान्छेहरू’का कुहिरोमा हराएका भयंकर पीडा ।


काठमाडौंको धुलो र कार्बन खान थालेको चार वर्ष पुग्यो । यो बीचमा मैले नटेकेका कुनै मन्त्रालय छैनन्, कुनै फाइभस्टार होटेल छैनन् । सयौँको पीडा र अनुभवदेखि एनआरएनको सम्ममेलनसम्म पुगेर रिपोर्टिङ गरेँ । फिचर तयार पारेँ । थुप्रै रिसोर्टमा पुगेर जातीय भेदभाव तथा छुवाछुत कसुर सजायँ ऐनबारे आयोजित सेमिनारमा भाग लिएँ, बोलेँ, बहस गरेँ । व्यक्तिगत जीवनमा थुप्रै संघर्षका थुम्काहरू उक्लिँदै हिँडे र हिँड्दै छु । त्यसैले त लागिरहन्थ्यो, स्वतन्त्र पक्षीजस्तै आफ्नो बेगमा उँडिरहेछु । कहिलेकाहीँ अलि ठूलो हावाको झोक्काको अवरोध न हो !


कोठा पाउनकै लागि पनि ठूलै संघर्ष गर्नुपर्छ काठमाडौंमा ! कहिलेकाहीँ मलाई काठमाडौंका माइक्रोबस र कोठाहरू उस्तै लाग्छन् । बल्लतल्ल पायो, कि सिट मिल्दैन, कि त ‘गीत’ मिल्दैन । निकै ठूलो संघर्षले पाएको छु, सिंहदरबारभन्दा करिब पाँचसय मिटरको दूरीमा, फ्ल्याट ।


मेरो नातागोतामा म नै पहिलोपटक काठमाडौं आएर बसेको सदस्य हुँ । मेरो एउटै उद्देश्य थियो, पत्रकारिता । पत्रकारिताको उद्देश्य हो, मानव अधिकार ! बिस्तारै काठमाडौं आउने आफन्तको आकार बढ्न थाल्यो । कोही पढ्न, कोही काम गर्न, कोही विदेश जान । र, त्यसको बलियो आधार बनिरहेको छु, म । उहाँहरू मेरैमा आश्रय लिनुहुन्थ्यो । धेरथोर सहयोग गर्थें ।


फ्ल्याटमा बस्नेको संख्या अलि ठूलो हुन थालेपछि थप कोठाको खोजी गर्‍यौँ र पाइयो पनि अर्काे फ्ल्याट । फ्ल्याट पाएको दिन पार्टी नै भयो कोठामा ! प्रायः चिया पसलमा सुनिने एउटा किस्सा छ नि– ‘काठमाडौंमा ‘केटी’ पाउन बरू सजिलो छ । कोठा पाउन मुस्किलै हो ।’ अनि नगरेर भयो पार्टी !


एउटै फ्ल्याटमा आधा दर्जन मानिस बस्न गाह्रो थियो । त्यसैको विकल्प खोजेका थियौँ । जसमा बस्ने सम्झौता भएको थियो, रिमराज सुनार, मिलन विश्वकर्मा र विक्रम सुनार । मिलन र विक्रम पत्रकारितामै छन् । रिमराज लोकसेवाको तयारीमा व्यस्त ।कोठाका लागि अग्रिम रकम दियौँ । बीचमा थुप्रैपटक घरबेटीसँग भेटघाट नभएको पनि होइन । आइतबार सबै सामान लिएर उनीहरू नयाँ फ्ल्याटमा पुगे । कोठामा त ताल्चा पो ठोकिएको रहेछ ! घरबेटी श्यामप्रसाद गौतमले भन्नुभयो, ‘अहिलेलाई प्याक भइसक्यो, पछि बोलाउँला ।’ फ्ल्याटमा बस्न पुगेका साथीहरू त आफैँ ‘फ्ल्याट’ भएर फर्किए ।


यी सबै कुरामा म ‘अपडेट’ थिएँ । अपराह्न म अफिसका लागि हिँडे । मामासहित उनीहरू श्यामप्रसादलाई भेट्न पुगे । देख्नासाथ श्यामप्रसादसँगै उभिएकी श्रीमती कमलाले प्वाक्कै भनिछन्, ‘तपाईंहरूको जातका कारण फ्ल्याट दिन नसक्ने भयौँ । अहिलेसम्म तपाईंजस्तालाई दिएका पनि छैनौँ ।’
नयाँपत्रीकाबाट



0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads