Loading...
गोप्य भेलामा नेता नारायणकाजीले दिए कार्यकर्तालाई यस्तो निर्देशन

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आगामी चैत १९ वा २० गते एमाले र माओवादीबीच पार्टी एकता गर्ने तयारी भइरहेको बताएका छन् । आज भक्तपुरमा विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिले आयोजना गरेको गोप्य प्रशिक्षण कार्यक्रममा पार्टी एकताको मितिबारे खुलासा गरेका हुन् ।
उनले भने,‘पार्टी एकताको मिति कम्युनिस्ट पार्टी स्थापना भएको दिन ९ बैशाख (लेनिन जयन्ती २२ अप्रिल)लाई तोकिएको थियो । आजको नयाँपत्रिका दैनिकमा खबर छ–तर, अहिले पार्टी एकता चैतको १९ वा २० गते गर्ने गरी तयारी भइरहेको छ, तपाईहरु पनि त्यही अनुसार तयारीमा जुट्नुहोला ।’ एकीकृत पार्टीको अन्तरिम विधान र सांगठानिक संरचनाबारे खाका तयार भइसकेको बताएका श्रेष्ठले आगामी तीन दिन भित्रमा पूर्णता दिनेगरी आजैबाट गम्भिर छलफलमा जुट्ने बताए ।
उनले भने,‘संविधान कार्यान्वयन र त्यसको विकास, शान्ति र सरकार, वैज्ञानिक समाजवाद निर्माण गर्ने विषयमा सहमति भइसकेको छ ।’ पार्टी एकता सम्मानजनक रुपमा हुने बताएका श्रेष्ठले सत्तामा पुग्न र पद लोलुप भएर मात्रै एकता हुन लागेको नठान्न विद्यार्थीहरुसँग आग्रह गरे । उनले समाजवाद निर्माणकै लागि पार्टी एकता गर्न लागिएको जिकिर गरे । विद्यार्थीहरुलाई सोही अनुसार तयारी गर्न पनि उनले निर्देशन दिएका छन् ।
श्रेष्ठले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे हस्तक्षेप गर्न पनि निर्देशन गरे । उनले नेपालको संविधानले अंगिकार गरेको शासकिय स्वरुप संसदीय व्यवस्था अनुरुपको भए पनि राजनीतिक र सामाजिक रुपमा भने संसदीय प्रकारको नभएको जिकिर गरे । नेता श्रेष्ठले नेपालका वामपन्थी दलहरुले सामन्ती व्यवस्था फालेकाले मुलुक अब समाजवादी दिशामा अघि बढ्ने बताए ।
अहिलेको गणतन्त्र मुलभूत रुपमा पुजीवादी चरित्रकै भए पनि वामपन्थीको वर्तमान सरकारले समाजवादी दिशामा लैजाने बताए । उनले कांग्रेस निरंकुश र स्वेच्छाचारी पार्टी भएको भन्दै रोश प्रकट गरे । श्रेष्ठले कांग्रेसप्रति कटाक्ष गर्दै भने,‘भारतमा विजेपीले चुनाव जितेपछि कस्तो गर्‍यो रु लेनिनको शालिक ढाल्यो । नेपालको कांग्रेस पनि विजेपी भन्दा कम छैन । निकै निरंकुश र स्वेच्छाचारी छ ।’
उनले विद्यार्थी संगठन पार्टीको साखा नभइ विद्यार्थीको पीडा मर्म बुझ्ने संगठन बनाउन पनि निर्देशन दिए । श्रेष्ठले विद्यार्थीहरुलाई समाजवाद उन्मुख शिक्षा प्रणालीको विकासमा जुट्न र संठनमा आन्तरिक कमिकमजेरी भए त्यसलाई मिलाएर अघि वढ्न विद्यार्थी संगठनका नेताहरुलाई निर्देशन दिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads