Loading...
संसदमा प्रधानमन्त्री ओली र गगन थापाको बाझाबाझ

काठमाडौं । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन जनाउने क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठ वटा प्रधानमन्त्रीको समर्थक आफू बसेको स्मरण गराए। ‘१० वर्षमा १० प्रधानमन्त्री भयौं। आठ वटा प्रधानमन्त्री बनाउने प्रस्तावक मै भएछु,’ उनले भने, ‘भविष्यमा कति प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा मेरो नाम लेखिने रहेछ ? ’ दाहालले यस्तो धारणा राख्दा संसद्मा हाँसो छाएको थियो।
कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता विजय गच्छदारले आधिकारिक धारणा राखिसकेपछि कांग्रेसकै अरू तीन सांसदले प्रधानमन्त्रीको प्रस्तावको पक्षमा बोल्ने मौका पाएका थिए। आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ– सांसद गगन थापाले संविधान संशोधनको कुरा गर्नु मात्र पनि राष्ट्रघात भन्ने एमालेले अहिले संशोधनको कुरा गरेको भन्दै व्यंग्य गरे। स्पष्ट बहुमत हुँदाहुँदै दुईतिहाइको समर्थन खोज्नुले ओली ‘तानाशाही’ बन्ने खतरा रहेको थापाले आरोप लगाए। वाम गठबन्धनको घोषणापत्र कार्यान्वयनका लागि अब दिनगन्ती सुरु भएको भन्दै उनले थपे, ‘घोषणापत्रको प्रतिबद्धता अब नगदमा चाहिन्छ, खनखन पैसा गनेजस्तो।’
जवाफमा ओलीले कटाक्ष गरे। कांग्रेसका युवा नेता गगनको उमेरजति आफूले लोकतन्त्रका लागि लडेको भन्दै लोकतन्त्र मास्ने कुनै पनि आशंका नगर्न आग्रह गरे। कार्यान्वयन गर्न नै चुनावी घोषणापत्र बनेको उनले बताए। ‘बिहान–बिहान पाठ पढेर पारि तर्नका लागि होइन, देश बनाउनका लागि हो। कार्यान्वयन हुन्छ’, उनले भने। एकलव्यले गुरु नपाएजस्तो आफूले गुरु नपाए पनि काम गरेर देखाउने ओलीले बताए। ‘दलीय आधारमा नमिले पनि यो बैठकबाट बाहिर निस्केपछि ड्राइभर, गार्डले केपी ओलीलाई किन भोट दिनुभएन भनेर सोध्लान्,’ उनले ठट्यौली शैलीमा कांग्रेसलाई लक्ष्य गर्दै भने, ‘फर्की–फर्की आफ्नै मनले पनि सोध्ला, जवाफ दिने काम तपाईंहरूको ।’

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads