Loading...
प्रधानमन्त्री केपी शर्मा ओलीको त्यो भ्रमण र यो भ्रमण ?


काठमाडौं –गणतन्त्र स्थापनापछि नेपाल–भारत सम्बन्धलाई अहिले दुई भागमा हेरिएको छ ।
पहिलो–संविधान निर्माणपछि भारतको व्यवहार ।
दोस्रो–चुनाव सम्पन्न भएपछि भारतको व्यवहार ।
संयोगले यी दुवै भागका भुक्तभोगी हुन् प्रधानमन्त्री केपी शर्मा ओली, जो अबको ६ दिनपछि भारत भ्रमणमा जाँदैछन् । तर, चीन ओलीको पहिलो भ्रमण आफ्नो देशबाट गराउन चाहन्थ्यो ।
ओली पहिलो पटक भारत भ्रमण जाँदा देशमा भर्खरै संविधान जारी भएको थियो, जहाँ भारतको देखिने असन्तुष्टि थियो ।
आफ्नो पहिलो भ्रमणमा ओली अहिलेजस्तो शक्तिशाली प्रधानमन्त्री पनि थिएनन् । अहिले झन्डै दुई तिहाई संसद समर्थनको प्रधानमन्त्री र स्थायी सरकारको हैसियतमा उनी भ्रमण जाँदैछन् ।
शक्ति र नेपालको राजनीतिक वातवरण दुवै हिसावले ओलीको पहिलो र दोस्रो भ्रमण फरक छ ।
तर, मुख्य र धेरैको चासो चाहिँ भ्रमणका मुद्दाहरु के हुन्छन् भन्ने मै छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरी प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका नेता तथा मन्त्रीसँग भेटेर दिल्ली गए । लगत्तै भारतले प्रधानमन्त्री ओलीको भ्रमण घोषणा गरेको थियो । जब कि नेपाल त्यतिबेलासम्म प्रधानमन्त्री ओलीको भ्रमणबारेमा अनभिज्ञता जनाईरहेको थियो ।
दिल्ली पुगेको उद्योगमन्त्री मात्रिका यादवले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग पनि भेट गरेका थिए, जहाँ ओलीको भ्रमणवारे कुराकानी भएको थियो ।
भारतमा ओलीको भ्रमणका तयारीवारे समाचार आईरहदा पनि परराष्ट्र मन्त्रालय बोलेन् । अन्तत पराराष्ट्रमन्त्रीले मुख खोल्नै पर्यो ।
उनले सञ्चारकर्मीसँग भनेका थिए, ‘भारत भ्रमणको बारेमा अहिले कुनै तयारी छैन । भारतले पनि प्रस्ताव पठाएको छैन ।’
तर, केही दिन नबित्दै उनै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भारत भ्रमण तालिका सार्वजनिक गरे ।
भारत प्रधानमन्त्री ओलीको भ्रमणका लागि हतारमा थियो ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा भन्छन्, ‘प्रधानमन्त्री ओलीको भारत भ्रमण यस्तो अवस्थामा भइरहेको छ, भारत नेपालप्रति सकारात्मक देखिएको छ । जब कि यसअघि ओलीले भ्रमण गर्दा नेपालप्रति भारतको दृष्टिकोण अहिले भन्दा फरक थियो । यसलाई फलदायी कसरी बनाउन सकिन्छ त्यो भ्रमणपछि मात्र थाह हुन्छ ।’
नेपाल–भारतको सम्बन्ध सुधारन्मुख अवस्थामा छ । दुवै तर्फबाट प्रयास भइरहेको छ ।
सविधान निर्माणपछि नेपालले सम्बन्ध सुधारका लागि हात अगाडी बढाएको थियो । भारतले वास्ता गरेको थिएन ।
अहिले भारतले सम्बन्ध सुधारका लागि हात बढाएको छ ।
नेपालले त्यसलाई सकारात्मक रुपमा लिँदै अगाडी बढेको छ ।

सविधान निर्माणपछि नाकाबन्दीसम्मको अवस्था झेलेका नेपालले चुनावपछि भारतको पटक पटक बधाई खाएको स्मरण पूर्वपरराष्ट्रमन्त्री थापाले गरे । उनले भने, ‘सविधान निर्माणपछि नेपालीले नाकाबन्दीको अवस्थाबाट गुज्रनु पर्यो तर चुनावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफै नेपालका प्रधानमन्त्री ओलीलाई तीन–तीन पटक फोन गरेर बधाई दिनुभयो,यो समान्य कुरा होइन ।’
एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदाको समस्या र अहिलेको समस्यामा धेरै भिन्नता छन् ।
‘प्रधानमन्त्री ओली स्वयंले जनतालाई र संसदलाई धेरै आश्वासन दिएका छन् । यस अवस्थामा भारत भ्रमण हुन लागेको छ । पक्कै पनि नेपाली जनताको हितमा भ्रमण हुनेछ भनि अहिलेलाई विश्वास गर्न सकिन्छ ।’ थापाले भने ।
प्रधानमन्त्री ओलीले नेपाली जनतालाई विकास र समृद्धिका सपना देखाएका छन् ।
हरेक अंगलाई उनले विशेष निर्देशन दिँदै भनेका छन्, ‘अब जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवं कार्यक्रमबाट नेपालीको मुहारमा खुसियाली ल्याउने महाअभियान शुरु भएको छ । यसमा अब कुनै कम्परमाइज हुँदैन ।’
प्रधानमन्त्री ओलीको भारत भ्रमण परम्परा जोगाउने नहोस् भन्ने चासो चारैतिरबाट आइरहेको छ ।
कुनै समय दिल्लीलाई मक्कामदिनाको संज्ञा दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री उपेन्द्र यादवले पनि भ्रमण परम्पराको निरन्तरता जस्तो नहोस् भनि सुझाव दिएका छन् ।
भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुङ्गा सावित होस् भन्ने चाहना नेपाली जनताको रहेको उनको भनाई छ । उनले यसअघि प्रधानमन्त्रीको रुपमा ओलीले गरेको भारत भ्रमण र अहिलेको भ्रमणमा फरक रहेकाले दुई देश बीचका सम्बन्धलाई अझै उच्च गर्नुपर्ने सुझाव दिए ।
उनले नेपाल भारतबीचको राजनीतिक विश्वास कायम गर्नुपर्ने, भारतलाई नेपालको विकासमा मुख्य साझेदारको रुपमा लिनुपर्ने र भूपरिवेष्ठित नेपालको हैसियतमा अन्तराष्ट्रिय मुल्यमान्यता अनुसार भारतबाट पाउने सुविधाहरु पाउनुपर्ने वतावरण बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

पूर्वपरराष्ट्रमन्त्री यादवजस्तै काँग्रेस नेतृ एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि परम्परागत शैलीको भ्रमण नहोस् भनि सचेत गराएकी छिन् ।
उनले भने, ‘बदलिँदो परस्थितिमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भइरहेको छ । विगतको जस्तै परम्परा निभाउने काम नहोस् । विकास र समृद्धिका लागि विशेष पहल होस् र यो भ्रमणले नेपालको विकासमा उच्चकोटीका योगदान होस् ।’
यसो हेर्दा भारतले पनि नेपालका लागि केही गर्न चाहेको जस्तो देखिन्छ । दुवै देशलाई फाइदा हुने गरि यसको फाइदा लिनुपर्छ भन्दै नेतृ कोइरालले रेल्वे कनेक्टीभिटी, विजुली, सिँचाईलगायतमा भारतसँग सहयोग लिन सकिने सुझाव दिइन् । उनले भनिन्, ‘यो भ्रमण परम्परागतभन्दा डेभलोपमेन्टको क्षेत्रका लागि उपयोगी हुनुपर्छ ।’
भारत भ्रमणको परम्परा तोड्ने पक्षमा पूर्व पराराष्ट्रमन्त्री कमल थापा पनि देखिएका छन् । २०७२ मा अ‍ोली प्रधानमन्त्री भएको बेला थापा पराराष्ट्रमन्त्री थिए । उनले सम्बन्ध सुधारका लागि पटक पटक भारत गए । विभिन्न स्तरमा छलफल र संवाद गरे तर वतावरण त्यति सहज हुन सकेको थिएन ।
तर, उनी रातोपाटीसँगको अन्तरवार्तामा दावी गर्दै भनेका छन्, ‘हामी सरकारमा जाँदा भारतले नाकाबन्दी लगाएको अवस्था थियो । त्यो नाकाबन्दीलाई नेपालको राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच नआउने गरी हामीले कूटनीतिक माध्यमबाट समाधान गर्र्यौं र भारतसँगको सम्बन्धलाई सामान्यीकरण र सुदृढ गर्ने कार्य गर्यौं । अर्कोतर्फ नेपालको दीर्घकालीन र बृहत्तर हितलाई दृष्टिगत गरी अर्को छिमेकी मुलुकसँग दुई पक्षीय सम्बन्धको दीर्घकालीन खाका निर्माण गर्यौं ।’
त्यतिबेलाको सरकार चीनतिर ढल्केको थियो । भारतसँग सम्बन्ध चिसिएपछि चीनसँग सम्बन्ध विस्तार गरेको बारेमा पूर्वमन्त्री थापा भन्छन्, नेपाल भूपरेष्ठित भए तापनि अहिलेसम्मको हाम्रो मानसिकता भारतवेष्ठित रहँदै आयो । हाम्रो छिमेकमा चीन पनि छ भन्ने कुरा हामीले हेक्का राख्ने गरेका थिएनौँ । जसको परिणाम स्वरूप नेपालले बेला–बेलामा नाकाबन्दीको पीडा सहनु पर्यो ।’
विगतमा भारत र चीनसँग भएका सहमति र सम्झौतालाई कसरी कार्यान्वयन गर्ने तथा तथा यी दुई मुलुकसँगको सम्बन्धलाई कसरी विस्तार गर्ने यो विषय प्रधानमन्त्री अ‍ोली भारत भ्रमणबाट फर्केपछि  बुझ्न सकिने उनले बताए ।
ओली आफै पनि भारतसँगको सम्बन्ध सुधारमा लागिरहेको बामगठबन्धनका एक तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । आइतवार प्रकाशिते अन्तर्वातामा प्रचण्डले भारसँग सम्बन्ध सुधारमा ओलीले अहिले धेरै मिहिनेत गरिरहेको बताएका छन् ।
‘विगतका सबै अनुभवहरूबाट दुवै छिमेकी मित्रसँग असल सम्बन्ध विकास गर्नेमा विमति छैन । सन्तुलित सम्बन्धले मात्र नेपाली जनताको समृद्धिको आकांक्षा पूरा गर्न सकिन्छ । म प्रधानमन्त्री भएका बेला १० महिना चीन र भारतलाई विश्वासमा लिन सकिँदो रहेछ भन्ने उदाहरण बनेको छ । वाम गठबन्धनको सरकार बनेपछि भारत र चीनसँग सन्तुलित सम्बन्ध बनाउन प्रयत्न गर्नुपर्छ । केपी ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ । मैले पनि सहजीकरण गरिरहेको छु । हामी कोहीपरस्त होइन, नेपालपरस्त हो ।’ प्रचण्डले भनेका छन् ।
बामगठबन्धनले आफ्नो घोषणा पत्रमा भारत र चीनसँग घनिष्ठ र सुदृढ सम्बन्ध बनाउने बताएको थियो । ‘छिमेकी तथा बाह्य मुलुकहरूसँग गरिएका सबै असमान र अपमानजनक सन्धिसम्झौताहरूलाई राष्ट्रिय हितअनुरूप प्रतिस्थापित गरिनेछ । समानता, पारस्परिक लाभ र सम्मानलगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिनेछ । यिनै सिद्धान्त र मान्यताका आधारमा छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध घनिष्ठ र सुदृढ बनाइनेछ ।’ घोषणापत्रमा छ ।
स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध बनाउने दावी गरेका बामगठबन्धनका नेता ओलीले प्रधानमन्त्रीको हैसियतमा भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गर्न कदम चाल्छन कि चाल्दैनन ? यो चासोपूर्वक हेरिएको प्रश्न हो ।
यसबाहेक सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कुन तहको संवाद हुन्छ भन्ने पनि छ ।
Source :ratopati 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads