Loading...
मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनभिज्ञ

काठमाडौं । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६१६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ । मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो संख्यामा नागरिक मृत्यु तथा बेपत्ता भएको जनाएको छ । तर, माओवादी केन्द्रले आफ्नो पार्टीबाट कति नेता तथा कार्यकर्ता मारिए भन्ने तथ्यांक राख्न सकेको छैन ।
मूल पार्टी माओवादी केन्द्र एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।आजको नयाँपत्रिका दैनिकमा खबर छ– मूल पार्टी माओवादीबाट छुट्टिएर गएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई अस्तित्व जोगाउनै कठिन छ । सशस्त्र द्वन्द्वमा आफ्ना कार्यकर्ता कति मारिए, कति बेपत्ता भए, कति अंगभंग भए भन्नेबारेमा यकिन तथ्यांक नभएको माओवादी केन्द्रका नेताहरू बताउँछन् ।
माओवादी केन्द्रले ‘जनक्रान्तिका महान् सहिद परिवार समाज’ भन्दै भ्रातृसंगठन पनि बनाएको छ । यस्तै, क्रान्तिकारी माओवादी र नेकपाले पनि सहिद तथा बेपत्ता परिवारलाई समेट्ने संगठन बनाएका छन् । तर, ती संगठनले आफ्नो पार्टीबाट सहादत हुनेसहित तथा बेपत्ताको सूची बनाउनेतर्फ चासो दिएका छैनन् ।
‘जनक्रान्तिका महान् सहिद परिवार समाज’ की सचिवालय सदस्य धर्मशीला चापागाईंले वास्तविक तथ्यांक राख्न नसकिएको बताइन् । ‘हामीले प्रचण्ड प्रधानमन्त्री हुँदा जनयुद्धमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका थियौँ,’ उनले भनिन्, ‘त्यो वेला देशैभर करिब सात हजार जति तथ्यांक संकलन भएको थियो । तर, प्रचण्ड सरकार ढलेपछि त्यो पनि अधुरै भयो ।’ द्वन्द्वमा सहादत भएका व्यक्तिका छोराछोरीका लागि भन्दै देशका विभिन्न पाँच ठाउँमा विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा एकदेखि १२ कक्षासम्म निःशुल्क पढाउने व्यवस्था गरिएको चापागाईंले बताइन् ।
यस्तै, क्रन्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले जयनुद्धमा कति आफ्ना नेता–कार्यकर्ता मारिए भन्ने वास्तविक तथ्यांक नभएको स्वीकार गरे । ‘हामी पार्टीको अन्तर्संघर्षमै रुमल्लियौँ, त्यतातिर ध्यान नै गएन,’ गजुरेलले भने, ‘सहिद तथा बेपत्ता अंगभंगका विषयमा राख्न सकिने तथ्यांक पनि राखिएको छैन ।’ पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल हुँदा राज्य वा आफ्नै पार्टीबाट वास्तविक तथ्यांक राखेको भएमा यस्तो समस्या नहुने गजुरेलको भनाइ छ । यस्तै, कृष्ण सेन इच्छुक प्रतिष्ठानले पनि द्वन्द्वमा मृत्यु, बेपत्ता र अंगभंग भएकाको तथ्यांक राखेको छैन ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads