दरखाने की नजर हान्ने !

कृष्णराज शर्मा
आजकल हाम्रो बागलुङमा सुन पसलको विज्ञापन खुब देख्न पाईन्छ । स्थानीय धौलागिरी टिभीमा स्थानीय समाचार हेर्दा सुनका गहना हेरेपछि मात्र समाचार  हेर्न पाईन्छ । एफएम रेडियोहरूमा पनि सुनलाई सुनेपछि समाचार सुन्न पाईन्छ । सञ्चार माध्यमको टिक्ने आधार भनेकै विज्ञापन भएकाले टिभीले विज्ञापन बजाउनु अनौठो पनि भएन । सुनको विज्ञापन पछि तीजको मेलालाग्दै गरेका र लाग्ने विज्ञापन पनि संगसंगै बज्छन् । त्याहाँपनि महिलाहरू सुनले ढाकिएर नृत्य गरिरहेको देख्छौं । यो पनि अर्कोखाले सुनको विज्ञापन हो । हाम्रा चाडपर्व यसरी भौंतारिए की सुन र फेशन बिना ती चाडपर्व हुनै सक्दैनन् । हाम्रो सँस्कृति नै सुनमा दौडिंदै छ । हिंजोका दिनमा यति अचाक्लि थिएन । आजका दिनमा सक्नेले सक्कली सुन देखाएर चाड मनाउँछन् । नसक्नेले पनि तँ भन्दा म के कम भन्दै नक्कली सुन भिरेर होमिन्छन् । यस्तो प्रकारको प्रतिस्पर्धाले समाजलाई अस्वस्थ्य बनाउँछ । अनेक किसिमका रोगले समाज संक्रमित हुन्छ । अर्को तर्फ बजारमा पनि सक्कली भन्दा राम्रा नक्कली गहना पाईन्छन् । सक्कली सुनको शुद्धतामा आम मान्छेमा शतप्रतिशत विश्वास छैन । शंकै शंकाका बीच सुनको खरिद गरिन्छ । त्यसैले एकदिन सक्कली सुनका गहना शरिरमा लगाएर अरू दिन बैंकमा राख्नु भन्दा एकदिन नक्कली गहना लगाएर थुपुक्क बाकसमा राख्नु उत्तम हो र स्वाभिक छ । सक्कली गहना लाउनेलाई बढी जलत्रास उत्पन्न हुन्छ । नक्कली गहनाधारीलाई न डर न त्रास / ताल र चाल मिलाएर नाच्न समस्या हुँदैन । जे जसो भएपनि,महिलाहरूका लागि गहना र महंगो फेशन देखाउन र बाहिर देखिने बहानाको महत्वपूर्ण दिन बनेको छ तीज । त्यसो त,महिलाहरूको ठूलो तप्का यो रमझम बाट बिमुख पनि छन् । वाहुन क्षेत्री समाजमा बढी देखिएको यो तीज अहिले अन्य जाती र समुदायमा झनबढी लागेको छ । त्यो जाती र समुदायको संमृद्धताले देखाउने तडकभडकमा पिल्सिएको तीज बिशेषको समुदाय सुस्ताउन पुगेको देखिन्छ । जो जसले जसरी प्रस्तुत भएपनि सामाजिक सद्भाव बढाउन भने यो तीजले धेरै मद्दत गरेको बुझ्न कठीन छैन ।
सुनमा लिप्त हुनु भनेकै महिला हुनु हो । लोग्नेलाई जसरी पनि सुनका गहना बनाईदिन बाध्य पार्ने पनि महिलानै हुन् । जसरी पनि तीनतोलाको सिक्रि बनाईदेऊ नत्र मेरो मुख हेर्न पर्दैन,होईन भने मेरो पिठ्यूँ हेर भनेर घुर्क्याउने महिलाहरू पनि छन् । यसरी कति दिन पिठ्यूँ हेरेर बस्नु मुख त हेर्नै पर्यो ! सुन किन्न बाध्य पारेको मर्का सुनाउँछन् कम आम्दानीको श्रोत हुने पुरूषहरू । कर्मचारीहरूको तलब थोरै हुने पिडा यसैमा गएर गाँसिएको छ । हुन त सुन किन्ने कुरामात्र नभै थुप्रै समस्याले घेरेको हुन्छ उनीहरूलाई । फेरीपनि बर्षमा अलिकति सुन जोड्नै पर्ने जिद्दी रहन्छ श्रीमतिहरूको । घर सपार्ने र बिगार्ने दुवैको जिम्मेवार महिला हुन् भन्ने आरोप लगाउनेहरूका लागि यो एउटा उदाहरण हो ।
अर्कोतिर वडाका छोटे नेता देखि बडे नेताका श्रीमतिहरू र नेतृहरू पनि सुन जोड्नै पर्ने मान्यताले ग्रसित छन् । नेता ईमान्दार हुँदाहुंदै पनि श्रीमतिको तमकले भ्रष्ट बनेका थुप्रै नेताहरू छन् । यिनीहरू बैंक ब्यालेन्स गरेर देखिनेगरि पैसा जम्मा गर्नुभन्दा सुन जोड्नु सुरक्षित उपाए ठान्दछन् । नेताका श्रीमतिहरू र नेतृहरू सार्वजनिक समारोहमा गरगहना प्रदर्शन गर्दैनन् । सादा जीवन उच्चविचारका महान् नारी जस्ता देखिन्छन् । तर भित्र भित्र कोहीभन्दा कमका हुँदैनन् । डा.बाबुराम र हिसिला दम्पत्तिकी छोरी मानुषीको विवाहका बेला देखिएको दृश्य सबैलाई थाहा छ ।  एक मन्त्राणीले जनताको घरदैलोमा गएर भोट माग्ने बेलामा नाक कान घाँटी बुच्चै राखेर भोट माग्थिन् । मानौं उनी सधवा होईनन् विधवा जस्ति देखिन्थिन् । जब तीजमा माईत पुगिन् लटरम्म गहना फलेको शरिरमा नाचेर फेसबुकमा फोटो देखाएको यि आँखाले देखेकै हो । भित्र भित्र लोग्नेलाई केहीगर्न नसक्ने हुतीहारा भनेर खालो काढ्ने बाहिर चैं जननेता कि जनसेवी श्रीमति बनेर सुन लुकाउने पनि महिला नै हुन् /अहिले हाम्रो परम्परागत तीजलाई यही नौटंकीले भड्किलो बनाएको दुनियाँले बुझेका छन् ।
यहाँ सबैखाले महिलाहरू एकै हुन भन्न खोजिएको होईन । कतिपय धनी महिलाहरू गहना भएर पनि लगाउन खासै रूची राख्दैनन् । जसको प्रशस्त सुन राख्ने र लाउने बैध आधार छ । तर पनि एकतोला सुन पनि उनको शरिरमा देख्न मुश्किल पर्दछ । लगाउन खोज्दैनन् । गहनाको बोझ मान्छन् । चिडचिडाहट हुन्छ ति महिलालाई । गहना प्रदर्शन गर्नु गहना नहुने अरू महिलाहरूलाई खिस्सि गर्नु हो भन्ने मान्यता राख्छन यिनीहरू । पछिल्लो चरणमा विदेश जाने चलनले घरबस्ने र अझ बजारमा डेरा जमाएर बस्नेहरूमा गहना र फेशन प्रदर्शनको ह्वीमको कारण परम्परागत धनी महिलाहरू भन्दा यि महिलाहरूमा तडक भडक बढेको छ ।
गहना र नारी पर्यायबाची शब्द हुन् । गहना नारीको हक हो । त्यसैले हिन्दु धार्मीक ग्रन्थहरूमा बर्णित कथाहरूमा पनि अप्सराहरूको बयान गर्दा उनको रूप सौन्दर्यमा गहनाले दोब्बर आकर्षक बनाएको हुन्छ । अर्कोतिर महँगा साडीको प्रदर्शन पनि उस्तैछ । सबै महिलाहरूमा सुन र महँगा साडीमा पहुँच पुग्दैन । एउटा त्यस्तो वर्ग खडा भएको छ चाडबाडमा जसले अर्को वर्गलाई खिस्सि गरेको छ । सामाजिक र सार्वजनिक भएर देखापर्ने यस्ता भड्किला प्रदर्शनले कुनैपनि चाडवाडमा एउटा पक्ष खुलेर बाहिर आउन सकेको देखिंदैन ।
अहिले सदरमुकाममा हप्तौं अघिदेखि तीजको अबसर पारेर दर खाई राखिएको छ । महिलाहरू ती कार्यक्रमहरूमा सहभागी हुन लोभिन्छन् । तर त्याहाँ साथीसंगी बराबर भएर जान नसक्ने देखेर मन गएपनि तन लान नसक्ने भएर रोकिन्छन् । सदरमुकामका दर्जनौं दर खाने कार्यक्रमहरू हुन्छन् । हरेक कार्यक्रममा नयाँ साडी देखाउन नपाएर नजाने पनि गरेका छन् । यस्तो हुनुमा समाजमा देखापर्दै गएको नयाँ जमातले प्रेरित गरेको पाईन्छ । स्थानीय विभिन्न संघ संस्थाहरूमा युवा नारीहरूको बढ्दो सहभागिताले समाज अझ अनुशासित बन्नु पर्नेमा उत्ताउलो बन्नु दुःखद पक्ष हो । यसो हुनुमा महिलाहरू मात्रै दोषी नभई पुरूष युवाहरूको पनि दोष छ । युवा महिलाहरूको सहभागितामा व्यापकता दिएसंगै भड्किलो बन्दैगएको कुरा समाजका सामाजिक अभियन्ताहरूले व्यक्तगर्न थालेका छन् । पाँचवटा नयाँ साडीलाई पुग्ने पाँचवटा दरखाने कार्यक्रमा पुगेपछि छैठौंमा आएको निम्तोमा कुनै बहाना बनाएर घरमै थन्किन्छन् । अघिल्ला पांचवटा कार्यक्रमा खिचिएको फोटोको साडी दोहोरिनु उनकालागि अपमान हुनजान्छ ।  फेसबुकको फोटोमा एउटै फेशन देखिनु छी हुनु हो भन्छन् उनीहरू । त्यसैले जाँदैनन् । कोही भने आँफूलाई साथी बनाएर लाने । त्याँहा पुगेपछि मलाई एक्लै छोडेर ऊ भने नजर हान्न जानेकी,म त जान्न भन्दै घरै बस्छन् ।कतिपय महिला दिदीबहिनीहरू सुन र फेशन अभावका कारण नछुने भएको बताएर बोलाएको ठाउँमा पुग्दैनन् । घरमै घरधन्दाको बहानामा बस्न बाध्य छन् तीजमा । समाजको नजरमा पुग्दो परिवारकी महिला भएर पनि स्वतन्त्र महिलाको दाँजोमा पुग्न नसक्दा तीज लाग्दैन ति महिलालाई । यि बाहेक अनेकन कारणले गर्दा तीजको रमाईलोमा पुग्न पाउँदैनन त्यस्ता महिलाहरू । ग्रामीण जीवन र शहरीया जीवनमा तीजको भिन्नाभिन्नै रूप छ । शहरीया जीवनमा सबैका आँखा पुग्छन । ग्रामीण जीवनमा तीजको छुट्टै मौलिकता बसेको छ ।
माथी उल्लेखित प्रसँग शहरीया हो । गाउँका दिदीबहिनीहरू सामान्य पहिरनमा जति तीजमा रमाउँछन शहरमा त्यो देखिंदैन । गाउँका खेतबारी तीज नाच्छन् । रूख विरूवा पाखो खरबारी सबै नाच्छन् । चराचुरूङ्गीले कराएको आवाज गीत बनेर गुञ्जन्छ । जे हेर्यो त्यो रमाईलो । हिलो पनि रमाईलो धूलो पनि रमाईलो । किनकी जन्मी खेली हुर्केको परिबेष बाताबरण त्यसै रमाईलो । न त्याहाँ महँगो सुन र साडीको कुरा छ न त भद्दा गीतको । आमा दिदीबहिनी संगै हुँदाको रमाईलो,बजारमा जति नक्कल र बेत्ताल पारेपनि कहाँ पाउनु ! अन्तमा हिन्दु नारीहरूको महानपर्व हरितालिका तीजको अवसरमा सबै तह र क्षेत्रमा रहेका महिला दिदीबहिनीहरूमा तीजमा मात्र नभई सँधै खुशि छाईरहोस् । आपत विपदमा रहेका महिला दिदीबहीनीहरूको आँगनमा उज्यालो छिरोस् । तीजको शुभकामना !

आइतवार, भदौ १९, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...