अध्ययन भन्छ – बुढ्यौलीलाई रोक्न असम्भव छ

बुढ्यौलीको छायाँलाई आफूमाथि पर्न नदिन मानिसले सक्दो प्रयास गरिरहेको छ। अनुहारको चाउरी छोप्नदेखि अमरत्व प्राप्त गर्नसम्मका लागि अनेकौँ अनुसन्धान र प्रयोग भएका छन्। तर पछिल्लो एक अनुसन्धानले बुढ्यौलीलाई रोक्न सम्भव नरहेको निष्कर्ष निकालेको छ।युनिभर्सिटी अफ एरिजोनाका अनुसन्धानकर्ताहरुले गणितीय हिसाबले बुढ्यौलीलाई रोक्न असम्भव रहेको बताएका हुन्।
‘गणितीय हिसाबले बुढ्यौली अवस्यम्भावी छ। यसबाट बच्ने तार्किक, सैद्दान्तिक र गणितीय कुनै बाटो छैन,’ युनिभर्सिटी अफ एरिजोनाकी प्राध्यापक तथा अनुसन्धानकर्ता जोआना मासेलले भनेकी छन्। मासेल र पाउल नेल्सन नामक अर्का अनुसन्धानकर्ताले ‘इन्टरसेल्युलर कम्पिटिसन एन्ड इनएभिटेबिलिटी अफ मल्टिसेल्युलर एजिङ’ शीर्षकमा उमेर वृद्धिसम्बन्धी एक अध्ययन गरेका छन्।
उनीहरुको अध्ययनको निष्कर्ष मानिसको शरीरमा फरकफरक कोसिकाहरुले कसरी काम गर्छन् भन्ने तथ्यमा आधारित रहेको बताइएको छ। मानिस बुढो हुँदै जाँदा शरीरका कोसिकाहरुमा दुईमध्ये एक थोक हुन्छ। या त कोसिका राम्ररी काम गर्न नसक्नेगरी सुस्त हुन्छ (उदाहरणका लागि कोसिकाले पिगमेन्ट उत्पादन गर्न छोडेपछि कपाल फूल्न थाल्छ) या त्यो कोसिकाको संख्या अनियन्त्रित रुपमा बढ्न थाल्छ। अर्को शब्दमा भन्न हो भने यो क्यान्सर बन्दछ। अनुसन्धानकर्ताहरुका अनुसार क्यान्सरको लक्षण नदेखिए पनि बुढो हुँदै जाँदा हामी सबैको शरीरमा क्यान्सर कोसिका विकसित हुने गर्दछ।
अनुसन्धानकर्ताहरुले शरीरका कोसहरुबीच हुने आन्तरिक प्रतिस्पर्धाको गणितीय नमुना तयार गरेका थिए। उमेरवृद्धिसम्बन्धी उद्विकासको वर्तमान बुझाइअनुसार उमेर वृद्धिलाई तब मात्रै रोक्न सकिन्छ, जब विज्ञानले स्वस्थ कोसिकालाई मात्र छनोट गर्नसक्ने तरिका पत्ता लगाउँछ। अर्थात् प्राकृतिक छनोटको सिद्दान्तअनुसार सुस्त कोसिकाहरुलाई हटाउन सके मात्रै उमेरवृद्धिलाई रोक्न सकिन्छ। यसको एउटा तरिका उमेरवृद्धिसँग सम्बन्धित सुस्त कोसिकाहरुलाई हटाएर अन्य कोसिकालाई अखण्ड राख्नु कोसिकाहरुबीचको प्रतिस्पर्धालाई प्रयोग गर्नु हो। तर यो उपाय त्यति सहज नभएको मासेल र नेल्सनले बताएका छन्।
यो अध्ययनमा मासेल र नेल्सनले कोसिकाहरुको प्राकृतिक छनोट ठीक भए पनि बुढ्यौली रोक्न नसकिने बताएका छन्। किनभने कोसिकाहरुबीच प्रतिस्पर्धा हुँदा त्यसको फाइदा क्यान्सर कोसिकाले उठाउँछ। ‘यदि हामीले सुस्त कोसिकालाई हटायौँ भने त्यसले क्यान्सर कोसिकालाई अझ फैलिन मद्दत पुर्‍याउँछ। र हामीले क्यान्सर सेलहरुलाई हटायौँ वा कम गर्‍यौँ भने त्यसले सुस्त तथा राम्ररी काम नगर्ने कोसिकाहरुलाई जम्मा हुन सहयोग पुग्नेछ। यी दुईमध्ये कुनै एक काम तपाईंले गर्नुभयो भने अर्को काम गर्न सक्नुहुन्न। दुवै काम एकै पटक गर्न सम्भव छैन,’ नेल्सनले भनेका छन्।
यो अनुसन्धानले बुढ्यौली ‘निर्विवाद सत्य’ र ‘बहुकोसीय जीव (मल्टिसेल्युलर) को प्राकृतिक सम्पत्ति’ भएको विषयमा गणितीय समीकरण प्रस्तुत गरेको नेल्सनले बताएका छन्। ‘बुढ्यौली किन आउँछ भनेर मानिसहरु खोजी गरिरहेका छन्। उमेरवृद्धिलाई प्राकृतिक छनोटले किन रोक्न सकेन? उमेरवृद्धि नहुने अवस्थामा हामी किन विकसित हुन सकेका छैनौँ? जस्ता प्रश्न सोधिन्छन्,’ मासेल भन्छिन्, ‘यो उद्विकासले गर्न नसकेको कुरा मात्र होइन। यसलाई प्राकृतिक छनोट वा अन्य कुनै उपायले रोक्न सकिन्न।’
‘बुढ्यौलीको प्रक्रियालाई तपाईं सुस्त गर्न सक्नुहोला तर यसलाई रोक्न सम्भव छैन,’ मासेल भन्छिन्, ‘एकै पटक दुवै काम गर्न सकिँदैन भनेर हामीले गणितीय रुपमा पुष्टि पनि गरेका छौँ। तपाईं एउटा काम ठीक गर्न सक्नुहुन्छ, तर अर्कोले तपाईंलाई छोड्ने छैन। कि त तपाईंको शरीरका सम्पूर्ण कोसिका सुस्त र काम नगर्ने हुँदै जानेछन्, कि तपाईंलाई क्यान्सर लाग्नेछ। तपाईंले जति प्रयास गरे पनि यसलाई रोक्न सक्नुहुन्न।’ यो अध्ययन प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्सेजको जर्नलमा प्रकाशित छ।

बिहिबार, कार्तिक १६, २०७४ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...