मैले अवार्ड र पुरस्कारको लागि कहिल्यै गाइन : खड्ग गर्बुजा

420 Views

म्याग्दीको दुर्गम मराङ गाविसमा जन्मिएर लोक संगितको क्षेत्रमा लागेका खड्ग गर्बुजालाई हामीले म्याग्देली मात्र भन्दा अन्याय हुन सक्छ । खड्ग गर्बुजा देशकै गहना हुन् । लोक तथा दोहोरी गितको क्षेत्रमा छुट्टै पहिचान बनाएका गर्बुजाले यानीमायाँ, सालैजो लगायतका दर्जनौ भाकाका गितहरुमा स्वर दिएका छन् । स्थानीय लोक भाकामा शब्द तथा लय संकलनमा खप्पीस गर्बुजा सँग उनको विगत वर्तमान र भविष्यका बारेमा अमृत बास्कुनेले गरेको कुराकानी ।

प्रश्न ः स्वागत छ तपाइलाई ।

उत्तर ः  धन्यवाद ।

प्रश्न ः नेपाली गित संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ, कसरी यो क्षत्रेमा आउनुभयो  ?

उत्तर ः  म गायक नै बन्छु भनेर यस क्षेत्रमा लागेको चाहीं होइन, म लाहुरे हुने प्रक्रियामा थिएँ, अकस्मात मेरो जीवनमा एउटा भयङ्कर दुर्घटना भयो । गाउँमै ब्रिटीस आर्मीको छनोटका गल्ला आएकाथिए म छनौट भएँ र उनले गलेश्वरमा पुनः आउन भनेर गएका थिए । बिचमा लगभग एक महिनाको अवधि थियो । त्यो अवधिका क्रममा म गाउँ भन्दा तलको भिरमा घाँस दाउराका लागि गएको बेलामा एक्कासी लड्न पुगेँ र म हिडडुल गर्न नसक्ने अवस्थामा पुगे । ह्वीलचेयरको सहारामा हिड्न पर्ने अवस्थामा पुगेँ । जुन दुर्घटनाले मेरो लाहुरे हुने चाहनामा पुर्णविराम लाग्यो, त्यसपछि मैले आफ्नो पिडा, बिलौना र वेदनाहरु गीतमार्फत व्यक्त गर्न थालें, गीतसंगीत मार्फत आफ्नो वेदना पोख्दा पोख्दै संगीतको नसा लाग्यो, त्यसैले लाहुरे बन्न त सकिन, अब सानोतिनो भएपनि गायक (गाईने) बन्न सक्छु कि भन्ने प्रयासमा लागेँ अहिले यहाँ सम्म आइपुगेको छु हेरौ पछि कहाँ सम्म पुग्न सकिन्छ के हुन्छ ?

प्रश्न ः म्याग्दीको दुर्गम गाउँ मराङमा जन्मनु भएको मान्छे देशमै छुट्टै पहिचान बनाउनु भएको छ, यस क्षेत्रमा आउन कसले दियो प्रेरणा ?

उत्तर ः तपाईंले भनेजस्तै छुट्टै पहिचान बनाएर कुनै विशिष्टता हासिल गरिसकेको अवश्था त होइन । तरपनि नेपाली लोक संगीतको लागि गर्नुपर्ने काम धेरै छन्, मैले पनि अझै सिक्दै छु, म यस्तो ठाउँ र समुदायमा जन्मिएँ, जुन ठाउँ र समुदायमा लोक संगीत बाहेक संसारमा अरु प्रकारका संगीत पनि हुन्छन भन्ने सम्म पनि थाहा थिएन, जहाँ हरेक दिनको मेलापात, दाउराघाँस र उकाली ओरालीको थकाई मेट्न प्रत्येक  साँझ रोधी बस्ने चलन थियो, त्यस्तो समुदायमा जन्मिएर हुर्किएको कारण मेरो नसा नसा र रगत रगत र मनमस्तिस्कमा नेपाली लोक संगीतले कव्जा जमायो । त्यसैले मेरो प्रेरणाको स्रोत भनेको म जन्मिएको परिवेश र त्यहाँको परम्परागत सांस्कृतिक सम्पदा नै हुन् । तर जुन बेला म यस क्षेत्रमा प्रवेश गरे, त्यसबेला नेपाली लोक संगीत अत्यन्तै उत्पिडीत र उपेक्षित अवश्थामा थियो । बजारमा जताततै हिन्दी गीतको क्यासेट मात्रै बिक्रि हुन्थे, हरेक संचार माध्यममा लोक गीत सुन्न बिरलै पाईन्थ्यो । नेपालको राष्ट्रिय चिनारी बोकेको नेपाली लोक संगीतको दयनिय अवश्था देखेर यसको संरक्षण, सेवा, प्रवर्दन र विकाश गर्नु पर्छ भन्ने चेतना म मा विकाश भयो र आजसम्म निरन्तर नेपाली लोक संगीतको सेवामा क्रियाशील छु । यसलाई मैले मात्र होइन अहिले यस क्षेत्रमा रहेका र पुराना कलाकार जो अहिले निश्क्रिय बस्नु भएको छ उहाँहरुले पनि गर्न आवश्यक छ ।

प्रश्न ः तपाई त अहिले गित संगितको क्षेत्रमा हुनुहुन्छ तर तपाइको परिवार पहिला कुन क्षेत्रमा थियो त ?

उत्तर ः  मेरो पारीवारिक पृष्ठभूमि सांगीतिक पटक्कै होइन । मेरो पारीवारिक पृष्ठभूमि नितान्त किसानी र गोठाले हो । म पनि पहिला लाहुरे हुने रहरले त्यतै लागेँ तर मेरो जीन्दगीमा आएको कहालीलाग्दो समयले मलाई लाहुरे त हुन दिएन पिडा दियो । त्यही पिडा भुलाउनका लागि म गित गाउन थालेँ र अहिले यस क्षेत्रमा आइपुगेँ ।

प्रश्न ः अहिले सम्म कति वटा गितमा स्वर दिनुभएको छ ? तपाईले स्वर दिनु भएको पहिलो गित कुन थियो ?

उत्तर ः  मैले कति गितमा स्वर दिँए भन्ने मलाइ ठ्याक्कै एकिन त छैन तर मलाई लाग्छ नौ सय देखि एक हजार गितमा मैले स्वर दिएँ कि जस्तो लाग्छ । मेरो पहिलो गीत रेडियो नेपाल मा २०४७ साल कार्तिक महिनामा रेकर्ड भएको थियो, जुन यस प्रकार थियो ः कर्म दिने भावी नि कस्तो ! उनीपनि रैछन कि मै जस्तो !! म्याग्दी तिरैतिर , दुखीको जिन्दगी संधै पिरैपिर !!!!

प्रश्न ः तपाई गितमा स्वर मात्र दिनु हुन्छ कि शब्द र संगित पनि गर्नुहुन्छ ?

उत्तर ः मैले आफूले गिति एल्वम निकाल्नुका साथै अरुको गितमा पनि स्वर दिएको छु । समय र परिस्थिति अनुरुप नै काम गर्ने हो । गित गाउनु पर्ने क्रममा अन्य शंकलकहरुले म सँग के चाहनुहुन्छ म त्यही अनुरुप नै गर्ने गर्छु । अरुको गीत गाउँदा मैले प्रायजसो स्वर मात्रै दिने गरेको छु । आफ्नो अल्वमको लागि भने मैले आफैं शव्द, लय सबै कुरा म आँफै सृजना र संकलन गर्छु । प्रायजसो मैले नेपाली लोकसंगितलाई नै बढवा दिने काम गरेको छु अहिले सम्म । सालैजो, सिरफुले मायाँ, यानीमायाँलगायतका गित मेरो प्राथमिकतामा पर्ने गरेका छन् ।

प्रश्न ः अहीले सम्म तपाईका कुनै गितले केही अवार्ड पाएका छन्, कति गितहरु अवार्डको लागि मनोनयनमाा परेका छ?

उत्तर ः पहिलो कुरा त मैले कुनै पनि गीतसंगीत अवार्ड र पुरस्कारको लागि सृजना गर्दिन र गाउदिन, मेरो लागि अवार्ड, पुरस्कार, सम्मान जे भने पनि स्रोता र दर्शकको मायाँ, सद्भाव र प्रशंशा नै हुन् । मेरो गीत संगीत सुनेर राज्य, समाज र विभिन्न संघ संस्थाबाट स्वतस्फुर्त रुपमा थुप्रै पुरस्कार, अवार्ड र सम्मान प्राप्त भएका छन् । सबै भन्दा ठुलो पदवी चाहीं प्रवल गोरखा दक्षिन्वाहु हो । यी सबै प्राप्त गर्नको लागि मेरा सबै गीतले आफ्नो आफ्नो भूमिका खेलेका छन् । तर मैले कहिल्यै पनि अवार्ड पाउँछु भनेर गाएको हैन र अवार्डको लागि खुल्ने मनोनयनमा पनि मैले दर्ता गरेको छैन अहिले सम्म गितलाई लगेर । संगित भनेको मानिसको मनमा बस्ने चिज हो त्यसैले जति धेरै जनता दर्शक श्रोताको मनमा बस्न सक्यो मेरा लागि त्यही नै हो ठूलो अवार्ड र मेरो उद्देश्य भनेको श्रोताको मनमा बस्ने अवार्डका लागि मात्र हुन्छन् ।

प्रश्न ः तपाईले स्वर दिएर रेकर्ड भएको पहिलो गित कुन थियो ? र यो कस्तो रह्यो पहिलो गित अनि अहिले सम्का कुनै यस्ता गित छन् धेरै उत्कृष्ट भयो भनेर सम्झन लायक ?

उत्तर ः   मेरो पहिलो गीत माथी नै भनिसकें मैले रेडियो नेपालमा रेकर्ड गराएको थिएँ कर्म दिने भावी नि कस्तो ! उनीपनि रैछन कि मै जस्तो !! म्याग्दी तिरैतिर , दुखीको जिन्दगी संधै पिरैपिर !!!! भन्ने बोलको गित । मैले आफूले सृजना गरेका र गाएका सबै गीत सम्झना लायक नै हुन्छन । मैले लेखेर गाएका गित लाग्छ अहिले सम्म यस्तो पनि गाइएछ भन्नेखालको भएको छैन । प्राय गाउँ ठाँउ र समाज अनि समाजका व्यक्तिहरुलाइ नै लक्षित गरी तयार गरीएको हुन्छन् मेरा गित र यसले समाजको यथार्थतालाई नै उठान गरेको हुन्छ ।

प्रश्न ः म्याग्दीमा हुँदा तपाईले लोकदोहोरी गितका प्रतियोगितामा सहभागीता जनाउनु भएको छ ?

उत्तर ः मैले म्याग्दी जिल्लामा कुनै पनि दोहोरी गितका प्रतियोगिताहरुमा सहभागिता जनाएको थिइन् । जब म काठमाडौं गएँ त्यसपछि मात्रै यो क्रम शुरु भएको हो ।

प्रश्न ः तपाईले साँगितिक क्षेत्रमा पाइला हाल्दा र अहिलेका गित संगितमा के फरक छन् ?

उत्तर ः समय अनुसार केहि फरक भएका छन् । नेपाली मौलिक लोक संगीत भनेको मनोरञ्जनको साधन मात्रै होइन, यसले नेपालको पहिचान पनि बोकेको हुन्छ । समय र दर्शक स्रोताको माग भन्दैमा जबरजस्ती बाङ्गो टिङ्गो पारेर नेपाल आमाको अनुहार कुरुप बनाउन मिल्दैन । अहिले नेपाल आमालाई कुरुप बनाउने काम भयो कि जस्तो लाग्छ मलाई ।

प्रश्न ः म्याग्दी जिल्ला लोक संगितको धनी जिल्ला हो अहिलेको अवस्था कस्तो लाग्छ ?

उत्तर ः  म्याग्दी जिल्ला लोक संगीतको धनि जिल्ला हो भन्नेमा कसैको बिमति छैन । अझै पनि कुना काप्चामा लुकेर र दबिएर रहेका लोक भाकाहरु म्याग्दी जिल्लामा धेरै छन् । तिनीहरुलाई उद्दार गरेर प्रचार प्रसारमा ल्याउन जरुरी छ । साथै लोक संगीतको जुन मूल्य, मान्यता र मर्यादा हो, त्यो बिषयमा पनि धेरै संबेदनशील र सचेत हुन जरुरी छ । यस्ता यस्ता चिजहरु छन् म्याग्दीमा त्यसलाई बाहिर निकाल्न जरुरी छ । म्याग्दी जिल्लामा पाइने गित संगितका भाका र यहाँको बारेमा बाहिर निकाल्न मात्र सके पनि नेपाली लोकसंगितलाई माथि उठाउन निकै ठूलो मद्दत पुग्नेछ ।

प्रश्न ः अन्त्यमा केही भन्नु छ कि ?

उत्तर ः  समस्त नेपाली आमाबुवा, दाजुभाई दिदीबहिनीहरुमा मेरो बिनम्र अनुरोध यो छ कि, २१ औं शताब्दीमा हामीले चाहेको खान लाउन र गर्न पाउनुपर्छ , त्यसमा हामि स्वतन्त्र छौं । तर पनि कुनै बिषयमा भने केहि परिधिभित्र बाँधिनु पर्ने हुन्छ । नेपाली मौलिक कला र संगीत नेपालीको गौरव र चिनारी हुन् । यसको आफ्नै मूल्य, मान्यता, गरीमा र मर्यादा छन् । नेपाली मौलिक कला र संगीतको यी मूल्य र मान्यताबाट हामी कलाकारहरुले बाटो बिराउन सक्छौं, हामीलाई सचेत गराउने र झक्झकाउने काम तपाई दर्शक स्रोता र पाठकहरुकै हो, तपाइहरुको सल्लाह र सुझावको प्रतिक्षामा हामी कलाकार सँधै हुने छौं । जय गीत जय संगीत, जय जन्मभूमि ।

आइतवार, साउन २७, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...