भाइरल ज्वरो

672 Views

डा. विवेक पौडेल
मौसम परिवर्तनसँगै अहिले भाइरल ज्वरोको बिरामीहरु बढ्दै गएका छन् । शरीरमा ज्वरो आउनु संक्रमणको एउटा लक्षण हो । ज्वरो आफैंमा एउटा रोग हैन । शरीरमा भाइरसको संक्रमण, व्याक्टेरियाको संक्रमणले हुने टाइफाइड, निमोनिया, पिसावको संक्रमण, टन्सिलाइटिस, शरीरमा घाउ, खटिरा, पिलो आदि सयौं कारणले ज्वरो आउन सक्छ । अहिले ओ.पि.डी.मा आउने ज्वरोको बिरामीमा आधा जति भाइरल फिवर÷भाइरल फ्लुको बिरामी पाउँछौं ।
ज्वरो आउनु (१००.४ फरेनहाइटभन्दा बढी), पातलो सिँगान बग्नु, जिउ दुख्नु, टाउको दुख्नु, आलस्य हुनु, नाक बन्द हुनु, खोकी लाग्नु आदि लक्षणहरु भाइरल फ्लुका लक्षणहरु हुन् । सामान्यतयाः यी लक्षणहरु १ हप्तासम्म रहन्छन् । यसता लक्षणहरुलाई घरेलु उपचार सम्भव हुन्छ । धेरै ज्वरो आउँदा पानीपट्टी गर्ने, प्रशस्त तातोपानी, झोल खानेकुराहरु खाने, तातोपानीको वाफ लिने, नुन पानीले कुल्ला गर्ने आदि गर्दा लाभदायक हुन्छ । ज्वरो आउँदा पारासिटामोल ट्याब्लेट दिनको ३–४ पटक सेवन गर्न सकिन्छ ।
कहिलेकाहीँ भाइरल ज्वरो पछि ब्याक्टेरियल संक्रमण पनि हुन सक्छ । धेरै खोकी लाग्ने, तारन्तार वान्ता हुने, कामज्वरो आउने, पिसाब धेरै पोल्ने, टाउको बेस्सरी दुख्ने, शरीर पहेंलो हुने, धेरै पटक पाखाला लाग्ने आदि भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । साना बच्चाबच्चीहरुमा यदि खोकी धेरै लागेमा, कोखा हान्ने, छिटो छिटो सास फेर्ने, खाना खान छाडेमा, तारन्तार वान्ता वा पखाला भएमा चिकित्सक÷स्वास्थ्य संस्थामा देखाउनु पर्छ । भाइरल फ्लु सरुवा रोग हो, यसबाट सर्न नदिन मास्कको प्रयोग गर्ने, बिरामीले सिँगान, खकार जथाभावी नफाल्ने, साबुन पानीले हात धुने, पानी उमालेर खाने गर्नुपर्छ ।
एन्टिबायोटिकको प्रयोग
भाइरल संक्रमण विभिन्न प्रकारका भाइरस जस्तै राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस आदिले गराउँछ । सामान्यतयाः शरीरको प्रतिरोधात्मक शक्ति राम्रो भएमा यो रोग आफैं ठीक हुन्छ । हामीले भाइरल ज्वरोको बिरामीलाई त्यसको लक्षण अनुसारको उपचार गर्छौं । अहिले एन्टिवायोटिकको दुरुपयोग बढ्दो क्रममा छ । ज्वरो आउनासाथ एन्टिवायोटिक प्रयोग गर्ने प्रचलन बढी छ । बिरामी र अभिभावकले पनि “सामान्य सिटामोलले के ठीक गर्ला त ?” भन्ने गरेको पनि सुनिन्छ । जुन बिरामी आफैं ठीक हुन्छm त्यसलाई एन्टिवायोटिक किन ? तर यदि व्याक्टेरियन संक्रमण भएको छ भने चाहिँ एन्टिवायोटिक प्रयोग गर्नुपर्ने हुन्छ, जुन बिरामीको जाँच, रगत पिसाव जाँच आदिबाट थाहा हुन्छ ।
(लेखक पौडेल सञ्जीवनी अस्पताल प्रा.लि., बेनीमा कार्यरत छन् ।)

मङ्लबार, अशोज २, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...