भव्य बन्दै महायज्ञ

बागलुङ, १० कात्तिक – विद्यालय पुनर्निमाण गर्ने उद्देश्यले विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको सातौं दिन मंगलबार ५३ लाख २३ हजार ९ सय ६४ रुपैयाँ संकलन भएको छ । महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष ईश्वरलाल ब्रजाचार्यका अनुसार उल्लेखित रकममध्ये ३६ लाख ६२ हजार ८ सय १० नगद संकलन भएको छ ।
यस्तै वाक्दान अन्तर्गत १६ लाख ६१ हजार १ सय ५४ संकलन भएको छ । महायज्ञका महासचिव डिल्लीराज गौतमले दिएको जानकारी अनुसार महायज्ञका कार्यक्रम भव्यतापूर्वक संचालन भइरहेका छन् ।
उतराद्र्धमा आइपुग्दा दर्शनार्थीहरुको भीड बढ्दै र थप सहयोग प्राप्त हुँदै गएको जानकारी दिदै बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संयोजक पुष्पमान श्रेष्ठलाई उद्धृत गरेर महासचिव गौतमले भने ‘केन्द्रले थप ५० लाख रुपैयाँ उपलब्ध गराउने भएकाले विद्यालय बनाउने हाम्रो सपना पूरा हुने पक्कापक्की भएको छ ।’
महायज्ञ अन्तर्गत मंगलबार २०५९ देखि २०६५ सम्मका करिब ८० पूर्वविद्यार्थीहरुको पुर्नमिलन गरिएको जानकारी पुनर्मिलन कार्यक्रमका संयोजक बाबुलाल शाक्यले दिए । ‘बिहान पाँचै बजेदेखि राति ११ बजेसम्म महायज्ञका कार्यक्रम संचालन हुन्छन््’ सूचना उत्पादन तथा सम्प्रेषण उपसमितिका संयोजक डिल्लीराज उपाध्यायले भने, ‘मानसिक शान्ति र अध्यात्ममा विश्वास राख्ने दर्शनार्थीहरुको बिहानैदेखि राति सम्म नै भीड लागेको छ ।’ आगन्तुकलाई स्वागत सत्कारमा करिब १५३ जना स्वयंसेवकहरु खटिएको जानकारी स्वयंसेवक उपसमितिका संयोजक मनोज रोकाले दिए ।
‘स्वतस्फुर्त ढंगबाट विद्यालयका विद्यार्थीहरु स्वयंसेवकका रुपमा खटिएका छन्’ रोकाले भने ‘हरेक काममा उनीहरुको सहयोग छ, उनीहरुको सहयोग नभएको भए कार्यक्रम संचालन गर्न निकै गाह्रो हुने थियो ।’ मंगलबार साँझ महायज्ञमा लक्ष्यबत्तिका दीप प्रजवज्लन गरिएको जानकारी दिदै महायज्ञका महासचिव जगन्नाथ आचार्यले भने, ‘स्वतफुर्त रुपमा पूजासामग्री तथा दीप ल्याई प्रजवल्लन गरेका भक्तजनहरुले निकै प्रसन्न मुद्रामा दीप प्रजज्वलित गर्दै मन्दिर परिक्रमा गरेका छन् ।’
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले महायज्ञ ऐतिहासिक रुपले सफल भएको जानकारी दिदै भने, ‘कार्यक्रमका सुरुवाती दिनका हामीलाई अलिक कठिन महसुस भए पनि शनिबारदेखि दर्शनार्थी तथा दानदाताहरुको सहयोगले हामी उत्साहित छौं ।’ महायज्ञ बुधबार सम्म चल्नेछ ।

बुधबार, कार्तिक १०, २०७३ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...