म्याग्देली चेली इन्दु बानियाँको ‘दिलराजा दिलरानी’ बजारमा (भिडियाे सहित)

ध्रुबसागर शर्मा/म्याग्दीअनलाइन

म्याग्दी २९ माघ । नेपाली गीत संगीतको क्षेत्रमा ‘तिम्रो न्यानो त्यो काखैमा’, ‘सबै गुमाएर बरु’,‘राम कसम चट्टै’ र ‘गाई चराउने पाखैमा’ जस्ता कर्णप्रिय गीतहरु ल्याएर चर्चाको शिखरमा पुग्दै गरेकी म्याग्देली चेली इन्दु बानियाँको अर्को सांगीतिक कोशेली ‘दिलराजा दिलरानी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘ भ्यालेनटाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर सार्वजनिक गरिएको ‘दिलराजा दिलरानी’ गीतले बजारमा निक्कै सफलता पाउने अपेक्षा गायिका बानियाँको रहेको छ ।

सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै स्थापित गायिकाको रुपमा चर्चा पाएकी बानियाँका यस अघि सार्वजनिक भएका गीतहरुले बजारमा निकै चर्चा पाएका छन् । सुमन श्रापितको शब्द रचना,गम्भीर विष्टको भिडियो निर्देशन वि.वि अनुरागीको संगीत रहेको यस म्युजिक भिडियोमा अहिलेका चर्चित नायक÷नायिका पल शाह र आँचल शर्मालाई पनि देख्न सकिन्छ । युगल स्वर रहेको गीतको गायनमा इन्दु बानियाँलाई वि.वि अनुरागीले साथ दिएका छन् ।

‘तिम्रो न्यानो त्यो काखैमा’ बोलको गीतबाट आफ्नो सांगीतिक करियर शुरु गरेकी बानियाँले ‘सबै गुमाएर बरु’ गीत सार्वजनिक गरेपछि उनको गायकीको चर्चा चुलिएको हो । कर्णप्रिय आवाजकी धनी बानियाँको सानैदेखिको गीत संगीतप्रतिको लगाबका कारण अहिले उनी यो मुकामसम्म आइपुगेको म्याग्दीमा उनलाई नजिकैबाट चिन्नेहरुले बताएका छन् । रेखा कौशल रेग्मीको शब्द रचना रहेको ‘सबै गुमाएर बरु’ गीतले वानियाँलाई म्याग्दीमा मात्रै नभएर देश विदेशमा समेत परिचित गरायो ।

त्यसपछि गायिका इन्दुको स्वरमा सजिएको ‘राम कसम चट्टै’ बोलको गीत बजारमा आएपछि उनको ख्याती चुलियो । गीतको म्युजिक भिडियो सार्वजनिक भए सँगै गीतले निकै चर्चा पाएको छ । अहिले म्याग्दीका गाउँगाउँ र वस्तीवस्तीसम्म पनि यो गीत गुनगनाउने गर्दछन् । बिन्ध्यवासिनी म्युजिक प्रा.लि.को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गीतमा मनोजराज शिवाकोटीको शब्द, संगीत रहेको छ । उक्त गीतको म्युजिक भिडियो काजिस श्रेष्ठले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय निक्कै रोचक देखिन्छ ।

त्यसैगरी कृष्ण पौडेलको शब्द र दिपक शर्माको संगीत रहेको ‘गाई चराउने पाखैमा’ (पहिलो प्रेम) बोलको गीत रेकर्ड गराएकी इन्दु सर्बोत्कृष्ट नबगायिका अवार्डद्धारा सम्मानित भइसकेकी छिन् । ‘गाई चराउने पाखैमा’ गीतबाट इन्दु राप्ती म्यूजिक अवार्ड २०७४ का लागि सर्वोत्कृष्ट नवगायिका महिला सुगम संगीत विधाको अन्तिम ५ सम्म छानिएकी थिईन ।

मङ्लबार, माघ २९, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...