उसले प्रेमपत्र दियो, मैले रेस्टिकेट गराएँ

122 Views

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की समानुपातिक सांसद हुन्, गङ्गा चौधरी सत्गवाँ । वामपन्थी राजनीतिबाट प्रभावित गङ्गालाई थारु आन्दोलनले पहिचान दिएको हो । तर, गङ्गा अहिले आफ्नो समुदायको मात्रै कुरा उठाउँदिनन्, समग्र मुलुकको चिन्ता र चासो राख्छिन् ।

मधेस केन्द्रित दलहरूले ‘एक मधेसमा एक प्रदेश’को नारा उठाएर तराईमा उथलपुथल गरिरहेका बेला उनी पनि सोही आन्दोलनमै थिइन् ।

तत्कालीन संविधानसभामा विधायन समितिको सभापति भएका बेला गङ्गाले मुलुकका थुप्रै कानुनहरूलाई सहमतिका साथ संसदमा पुर्याइन् । पुरानो मुलुकी ऐनलाई विस्थपित गर्न बनेको ‘मुलुकी संहिता’को मस्यौदालाई विधायन समितिबाट उनै गङ्गाले सर्वसम्मत रूपमा संसदमा पुर्याएकी थिइन् ।

संविधानसभामा काँग्रेस, एमाले, माओवादीसहितका साना ठूला गरी झण्डै ३२ राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर विधेयक अगाडि बढाउने कुरा सानो चुनौती थिएन । त्यो चुनौती पूरा गरेकी गङ्गाको क्षमतालाई अहिले पनि ठूला नेताहरूले प्रशंसा गर्छन् ।

सामान्य परिवारबाट राजनीतिमा आएकी गङ्गाको माइती घर बर्दिया हो भने विवाह भने दाङ देउखुरीका नन्दकुमार चौधरीसँग भयो ।

अध्ययन गर्दागर्दै विवाह भएको विगतबाट उनी बेलाबेला भक्कानिने गर्छिन् । सानोमा घरपरिवारको तनावका कारण धेरै पटक खाना खान नपाएर आफू र आफ्नी बहिनी भोकभोकै बसेको समेत गङ्गाले सुनाइन् । आफूले पढ्दा पाएको दुःख सम्झिएर दाङका ७ जना गरिब परिवारका विद्यार्थी किताब, कलम, कापी, कपडालगायत अध्ययन दायित्व पूरा गर्दै आएकी सांसद गङ्गा चौधरीसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि कुबेर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

मेरो खाना
मनपर्ने खाना दालभात र तरकारी नै हो । मलाई साधारण खाना नै मनपर्छ । भेजिटेरियन भएकाले माछा, मासु, अण्डालगायत कहिल्यै मन परेन । रेस्टुरेन्टको खानासमेत मन पर्दैन ।
रेस्टुरेन्ट थोरै जानेमध्यको म पनि एक हुँ । कहिलेकाहीँ कार्यक्रममा जाँदा रेस्टुरेन्टको खाना बाध्यताले खानुपर्छ । नत्र मनपर्दैन । रायो र तोरीको साग मेरो मनपर्ने तरकारी हो ।
थारु संस्कृतिको चिल्लो रोटी, सिनकुमारी, फिनी रोटी, खरियालगायत मनपर्छ । पकाउन र ख्वाउन मलाई धेरै रुचि छ ? सबैभन्दा मीठो  पकाउने चाहिँ साग हो ।

मेरो पोसाक
देशका सबै जातजाति, भाषाभाषीले लगाउने सबैखालका  पोसाक मनपर्छ । सबैभन्दा मनपर्ने पहिरन थारुहरूको सांस्कृतिक पहिरन हो । त्यसपछि चोलो र सारी । पोसाकमा मनपर्ने रङ चाहिँ गुलावी हो ।
मलाई मन नपर्ने भन्ने पोसाक केही छैन । मेरो कपडा रेडिमेडभन्दा पनि सिलाइएका हुन्छन् । सारीमा फल्स, ब्लाउजहरू म आफै सिलाउँछु । आजकल राजनीतिमा व्यस्त भएकाले कपडा सिलाउन त्यति भ्याउँदिनँ । पहिले वर्षमा एक दुई जोर किनिन्थ्यो । अहिले भने समयअनुसार चल्नुपर्ने भएकाले सपिङ भइरहन्छ ।

मेरो फिट्नेस
एक्सरसाइज कहिल्यै गरेकी छैन । म अहिलेसम्म फिट छु । यसको कारण खानपिन नै हो ।

मेरो अध्ययन
पहिले पहिले धेरै पढ्थेँ । अहिले राजनीतिमा आएपछि फुर्सद कम हुने भएकाले अध्ययन अलि सेलाएको छ । तैपनि अङ्ग्रेजी भाषा अध्ययन गरिरहेकी छु ।
उपन्यास, ऐतिहासिक दस्ताबेज भरिएको पुस्तक अध्ययनमा मेरो रुचि रहन्छ । ‘डगर’ मेरो मनपर्ने पुस्तक हो । ‘डगर’को अर्थ हो बाटो । बाटो मानिसले कसरी हिँड्नुपर्छ भन्ने कुरा पुस्तकले उल्लेख गरेको छ ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । नयाँनयाँ ठाउँ घुम्न मनपर्छ । यस्ता ठाउँबाट धेरै कुरा सिक्ने अवसरसमेत मिल्छ । म प्रकृति प्रेमी छु । देशको करिब ५० जिल्ला घुमे होला । विदेशमा भारत, थाइल्यान्ड, हङ्कङ, चीनलगायत समेत पुगेको छु । अहिले पुग्न मन लागेको देश स्विजरल्यान्ड हो । यसका बारेमा धेरै चर्चा सुनेकी छु । आफै हेर्न मन लागेको छ ।

मेरो फुर्सद
फुर्सद धेरै हुँदैन । फुर्सदको समय ध्यान र भजन गाउँछु । मनलाई शान्ति राख्न अध्यात्मिक ज्ञान लिनुपर्छ । घरको काममा पनि लाग्छु ।

मेरो खेलकुद
विद्यार्थी समयमा म राम्रो खेलाडी थिएँ । लङ जम्प र हाइजम्प राम्रो खेल्थेँ । यो खेलमा मलाई कसैले जित्न सक्दैन थिए । कराँते पनि खेल्थे । कराँतेको क्षेत्रीय स्तरको खेलाडी हुँ ।
२०७० मा सांसद हुनुभन्दा पहिले गेम खेलिरहन्थे । नारी दिवसमा भाषण गरेर बिताउनुभन्दा खेलकुद कार्यक्रम राख्ने गरेका छौँ । विशेष गरेर आफ्नो क्षेत्रका थारू महिला दिदी बहिनीलाई रुचि हुने खेल भलिबल, कराँतेलगायत खेल खेलाउने गर्दछौँ । अहिले जताततै क्रिकेटको चर्चा सुन्न सकिन्छ । तर म त्यो खेल बुझ्दिनँ । यसमा रुचि पनि छैन ।

मेरो मोबाइल
अहिले मसँग सामसुम जे फाइब मोबाइल छ । तीन वर्ष भयो यो चलाएको । अहिलेसम्म दुईवटा फेरेँ । एउटा एक्सिडेन्टमा परेर फुट्यो, अर्काे बिग्रियो । समाचार, फेसबुक, म्यासेन्जर, ट्विट र कुराकानीका लागि मोबाइल प्रयोग हुँदै आएको छ ।

मेरो टीभी
कहिलेकाहीँ हेर्छु । टीभीमा समाचार हेर्छु, सिरियल हेर्छु । मेरो मनपर्ने एउटा सिरियल छ ‘कुल्फी कुमार बाजुवाला’ । घरमा बुस ब्रान्डको इन्डियन पुरानो १४ इन्चको टीभी छ । त्यो पनि मैले किनेको होइन, आफन्तले गिफ्ट दिएका हुन् ।

मेरो चलचित्र
चलचित्र कम हेर्छु । पछिल्लो समय हेरेको चलचित्र स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कोहिनूर’ हो । करिष्मा मानन्धरका केही चलचित्र हेरेको छु । चलचित्र हलमा गएर हेर्दिनँ । टीभीमा आएको र ट्युटुवबाट हेर्ने हो ।
दुःखी पात्र भएका, सेन्सेटिभ खालका विषयले भरिएका चलचित्र मनपर्छ । कलाकारमा राजेश हमाल, करिष्मा मानन्धर, निखिल उप्रेती, विपना थापा, झरना थापा, रेखा थापालगायतलाई चिन्छु ।

मेरो रोग
अहिलेसम्म त्यस्तो कुनै रोग देखिएको छैन । त्यो गुरुको कृपाले हो । प्रत्येक तीन महिनामा होल बडी चेक गराउँछु । कहिलेकाहीँ नभ्याए ६ महिनाभित्र गर्छु ।

मेरो भाषणशैली
एगे्रसिप भाषण शैली मनपर्छ । मेरो भाषण पनि त्यस्तै हुन्छ । मासलाई कन्ट्रोल गर्ने खालको भाषण गर्न मनपर्छ । म भाषण गर्न थालेँ भने सबैको ध्यान आफूतिर खिच्नसक्छु ।

मेरो मापसे
थारूकी छोरी भएकाले पत्याउनु हुन्न होला । तर म मापसे कहिल्यै गर्दिनँ । मेरो घरमा बन्दा पनि बन्दैन । बनाउन पनि दिन्नँ । २०७१ मा घरमा विवाह भएको थियो ।
थारुहरूको पाहुनाले ल्याउने विशेष कोसेली भनेको रक्सी हो । विवाहमा जम्मा भएको रक्सीमध्ये १०० लिटर अहिले पनि होला । घर बाहिर स्टोर गरेर राखिएको छ । पाहुना आउँदा काम लाग्छ । घरमा रक्सी सजाएर राख्ने शोख राख्दिनँ ।

मेरो सङ्गीत
गीत–सङ्गीत मनपर्छ । आधुनिक गीतसङ्गीत धेरै सुन्छु । गहकिला, मनछुने शब्द भएका गीतसङ्गीत नै राम्रो लाग्छ । भारतीय गायिका आशाभुसले, गायक कुमार सानु र नेपाली गायक नारायण गोपालका गीतहरू औधी मनपर्छन् ।
म थारु गीत पनि गाउँछु । रेकर्ड नगरी धेरै गाएँ । अब भने एक गीत रेकर्डको तयारीमा छु ।

मेरो भुल 
जीवनमा मैले ठूलै भुल गरेकी छु । त्यो के हो भने– मलाई कसैले मन पराउँथ्यो । मैले उसैलाई अस्वीकार गरेँ ।
यो स्कुलले समयको कुरो हो । एक पटक उसले प्रेम भरिएको चिट्ठी अर्थात प्रेमपत्र दियो । मैले प्रिन्सिपललाई लगेर दिएँ । ऊ स्कुलबाटै रेस्टिकेट भयो । त्यो मेरो जीवनकै ठूलो भुल थियो ।
उसले मलाई मन पराउँथ्यो भने भन्नुपथ्र्याे । उसले चिट्ठी लेख्दा अनौठो फिल भयो मलाई । अनि मैले त्यसो गरेँ । अहिले लाग्छ, उसलाई स्कुलबाट रेस्टिकेट नगराउनुपर्ने थियो ।
उसले मेरो हातमा चिट्ठी दिने बित्तिक्कै हेडसरलाई दिएँ । हेडसरले तुरुन्तै स्कुलबाट निकाली दिनुभयो ।

मेरो सौन्दर्यचेत
सौन्दर्यतिर ठिकठिकै रुचि छ । मेरो विचारमा महिलाले दिनमा तीन पटक सौन्दर्यमा ध्यान दिनुपर्छ ।
पहिलो उठ्ने बित्तिकै । घरको काममा लाग्नुअगाडि घरको कामधन्दा गर्दा बटुवाले देख्यो भने भन्छ, ‘आज राम्रो महिला देखेँ । मेरो साइत पर्यो ।’
दोस्रो काम अर्थात अफिस जाने, समाजसेवा लगायतमा निस्किने बेला । यो समय भेटिएका सबैलाई सौन्दर्यताले तान्छ र काम गर्ने वातावरण सजिलो बन्छ ।
तेस्रो अफिसबाट फर्किएर घरको कामधन्दा गरेपछि सुत्नुभन्दा अगाडि यो भने श्रीमान्का लागि हो । यसले श्रीमान्को ध्यान आफूतिरै तान्छ । बाहिर बरालिने चान्स हुँदैन ।
मेरो प्रेम 

मेरो प्रेम विवाह त हैन । मैले मन पराए । घरको मानिसबाट कुरा गरेर विवाह गरेकी हुँ । मेरो प्रेम, जीवनसाथी र सबैभन्दा राम्रो साथी भनेकै श्रीमान् हुन् ।
उहाँले मेरो सुख, दुःखमा साथ दिनुभएको छ । मेरो अहिलेको सफलतामा उहाँकै योगदान छ । उहाँले मेरो हरेक पाइलामा आफ्नो हत्केला नथापेको भए म अहिले यहाँ हुने थिइनँ । मैले ८ कक्षामा पढ्दा उहाँसँग विवाह गरेको थिए ।

मेरो सपना
पारिवारिक सपना केही छैन । छोरा डाक्टर बनेर आउँदैछ । छोरी राम्रो घरमा परेकी छ । देशका लागि देखेको सपना धेरै छन् । अहिले म राजनीतिमा छु । राजनीतिमा जति माथि पुग्यो त्यति उचाइको कामना हुँदो रहेछ । देशलाई समृद्ध बनाउने । हरेक नेपालीलाई सुखी राख्ने मेरो सपना हो ।

मेरो राशि 
मेरो राशि मकर हो । ग्रह, दशामा विश्वास लाग्छ । धेरै हेराउने गरेकी छैन । मेरो ठूलो बुबाले ग्रहदशा हेर्नुहुन्छ । उहाँले मेरो बारेमा जेजे भन्नुभएको थियो । अहिलेसम्म सबै पूरा भएका छन् ।
उहाँले एक समय छोरी ३५ वर्षको उमेरमा तिम्रो राज योग छ भन्नु भएको थियो । मेरो त्यो पूरा भयो । अन्यले भनेको के हुन्छ म भन्न सक्दिनँ । तर उहाँले भनेका सबै मेरो जीवनमा पुगेका छन् ।

मेरो राजनीति
८ कक्षामा अध्ययन गरेदेखिनै मैले म राजनीतिमा थिएँ । मेरो बुबा कट्टर कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँलाई पैसाले पुरिदिए पनि चेन्ज गर्न सकिँदैन थियो ।
मेरो ससुराल घरका सबै काँग्रेस थिए । श्रीमान् नै काँग्रेसका खुमबहादुर जिताउन हिँड्नु हुन्थ्यो । सबै कट्टर काँग्रेसी थिए । परिवारले भोट हाल्न काँग्रेसलाई भन्थ्यो, म हजुरले जेमा भन्नुभयो त्यसमा हाले भनेर ढाट्थेँ ।

जनआन्दोलन भएपछि थारुहट आन्दोलन भयो । आन्दोलनमा म पनि सक्रिए थिएँ । त्यसपछि सांसद भएँ । त्यसपछि धेरैले काँग्रेसमा बोलाए । शेरबहादुर दाइले पनि बोलाउनुभएको थियो । राजनीति गर्न एउटा पार्टीको खोजीमा थिए । श्रीमान्लाई सोधेँ, श्रीमान्ले तिम्रो इच्छा भन्नुभयो । मैले पनि पहिलेदेखि नै कम्युनिस्ट रोजेकाले नयाँ शक्ति हुँदै नेकपामा होमिएँ । यो पार्टीको म २०४९ सालमै सदस्य थिएँ ।

मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । कहिले मरिन्छ, कसैले भन्न सक्दैन ।  कालगतिले मर्न पाऊँ । कुनै एक्सिडेन्टमा वा अकालमा मर्न नपरोस् । अहिले राष्ट्र र जनताको सेवामा छु । मरेपछि पनि नाम अजरअम्बर रहने काम गर्छु ।
राजनीति कसैले कमाउने थलो बनाएका होलान् । तर म देशर जनताको हितका लागि छु । राष्ट्रको समृद्धि र विकास गर्न चाहन्छु । दाङ देउखुरीका लागि ठूलाठूला नेताले अहिलेसम्म नगरेको काम गांगा थारुले गरेकी छ । राप्ती नदीमा अहिलेसम्मै ठूलो पुल बनाएकी छु । म मेरेपछि पनि सबैले यो योगदान सम्झने छन् ।

रातोपाटीबाट साभार

शनिबार, फाल्गुन ११, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...