पसिनाको मूल्य कति!

117 Views

प्रत्येक दिन विहान उठे देखि बेलुका सुत्ने बेला सम्म हामीले प्रयोग गर्ने सबै चिज मजदुरकै पसिनाको कमाई हो । विहान सवेरै देखि राती सम्म पनि मेहनत गरेर जब मजदुरले काम गर्दछन् तब मात्र मानिसले खानका लागि रोटी अनि लगाउनका लागि कपडा तयार हुन्छ । जब सम्म मजदुरले आफ्नो पसिना धर्तीमा मिसाउँदैन तब सम्म धर्तीबाट केही पनि उब्जनी हुनेवाला पनि त छैन । हामी कहिँकतै जानु परेको खण्डमा सवारी मजदुर, वैदेशिक यात्रामा निस्कन परेमा हवाइ मजदुर अनि सामुन्द्रीक यात्रामा पनि मजदुरकै भरमा हाम्रो दिन चलेको हुन्छ । जति सुकै आर्थिक सम्पन्न भए पनि उसको पनि भान्सामा मजदुर नै रहेको हुन्छ भने गाडी चालक पनि त मजदुर नै हो ।
आज भन्दा दुई सय वर्ष पहिला देखिनै मजदुरको स्वास्थ्य अनि शारिरिक आवश्यकता र उसको क्षमताका आधारमा दिनमा ८ घण्टा मात्र काममा लगाइनु पर्छ भन्ने माग उठ्दै आएको भएपनि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरबाट सुरु भएको मजदुरहरुको आन्दोलनले पछि मात्र मूर्त रुप लिएको थियो । मजदुरहरुका लागि ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरंजनका लागि समय हुनु पर्ने माग जायज नै थियो तर मालिक वर्गको अवरोधले गर्दा समस्या भएकै हो । ८ घण्टा मात्र काम गर्ने मजदुर माग पुरा नगरेपछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौं मजदुरहरुले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पुरा नगर्ने निर्णय तत्कालिन अमेरिकी सरकारको थियो । तर त्यो आन्दोलन थामिएन सरकारी दमन पनि चल्यो र छ जना मजदुरको ज्यान गयो । त्यत्तीले मात्र त्यो आन्दोलन रोकीएन मजदुर नेताहरू पार्सन, स्पाइस र एंगेल्स लागयतलाई मृत्युदन्ड नै दिइयो तै पनि आन्दोलन नरोकीए पछि अमेरिकी सरका झुक्न बाध्य भयो ।
सन १८६६ अगष्ट २० मा बाल्टीमोरमा भेला भएका मजदुरहरुले ८ घण्टा काामको माग राख्दै नेसनल लेवन युनियन स्थापना गरेका थिए । लेवर युनियनले पनि मजदुरको हक हितका लागि कदम चाल्दै र संगठित गर्दै अगाडी बढ्दै जाँदा मजदुरको पक्षमा काम गर्ने र मजदुरहरुलाई कसरी उनीहरुको पेशालाई सम्मानित पेशा हो भन्ने आभाष दिलाउने भन्ने तर्फ पनि सोचिन थालेको छ । अहिले पनि बाल मजदुर तथा श्रम अनुसारको पारिश्रमिक नपाउने समस्या मजदुरहरुले झेल्दै आएको यथार्थ हो । जब सम्म उद्योगी र श्रमिकको बीचमा रहेको खाडल पुरिने छैन तब सम्म संसारको उन्नती मात्र नभएर न त साहु न त श्रमिक कसैको पनि भलो हुने छैन । आजको मौनताले भोली तिम्रो गर्जन भन्दा पनि माथिल्लो रुप धारण गरेमा अन्यथा हुने छैन । मजदुर दिवसको शुभकामना ।

बुधबार, बैशाख १८, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...