कसूर गर्ने उद्योग गर्न नहुने

111 Views

कसैले कुनै कसूर गर्ने उद्योग गर्न हुदैन । जुन कसूरको उद्योग भएको हो सो कसूर हुन असम्भव भएता पनि उद्योग भएको मानिनेछ । यस ऐनमा अन्यथा ब्यवस्था भएकोमा बाहेक कसूर गर्न उद्योग गर्ने  वा गराउने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुन्छ । अपराधको तेस्रो चरणमा उद्योग पर्दछ । यो तयारी पछिको चरण हो । अपराध सम्पन्न हुनु भन्दा अगाडिको चरणमा पर्दछ । अपराधको तयारी र अपराध सम्पन्नताको प्रयास बीचको दुरी यकिन गर्न साह्रै अप्ठारो पर्छ । अपराधिक कार्य सम्पन्नताको प्रयासरत अवस्था हो । अपराधिक कार्य गर्न लागेको तर अपराधिक कार्य कुनै कारणबश सम्पन्नता हुन सकेन भने  सो कार्य उद्योगको रुपमा आउने गर्दछ । यो प्रयासमा अपराध सम्पन्नता गर्ने मनसाय रहेको देखिनु पर्छ । अर्को अर्थमा भन्ने हो भने अपराध सम्पन्नताको मनसाय लिएर अगाडी बढेको हुनुपर्छ । यसमा अपराध सम्पन्न गर्ने इच्छा शक्ति रहेको पुष्टि गर्नुपर्छ ।

अपराध सम्पन्न उदेश्य नभएका लापर्वाही तथा हेलचक्राइ जस्ता तत्व रहने अपराधमा यो अपराधको प्रयोग आउदैन । हाम्रो संहितालाई हेर्दा ‘आपराधिक मनसाय बमोजिमको तयारी पुरा गरी सकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहाने व्यक्तिले अपेक्षित परिणाम प्राप्त गर्नका लागि गरेको कुनै भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थालाई अपराधको उद्योग भन्ने गरिन्छ । अपराधको उद्योग स्थापित हुन कर्ताबाट निजको आपराधिक मनसाय  बमोजिम अपेक्षित परिणाम प्राप्त गर्नको लागि कुनै न कुनै कार्य गरेकै हुनु पर्छ । आपराधिक कार्य अपराध  मानिएको निषेधित परिणामसँग कति नजिक छ वा गरिएको कार्य परिणाम ल्याउनका लागि कति सारवान रुपमा भएको छ भन्ने कुरा पनि विचारणीय हुन्छ । यस सम्बन्धमा फौजदारी विधिशास्त्रभित्र उद्योगको गम्भिरता परिक्षण गर्न विभिन्न सिद्धान्त‚अन्तिम चरणको सिद्धान्त‚सारवान सिद्धान्त जस्ता विभिन्न सिद्धान्त प्रमुख छन । कानूनले अपराधको रुपमा परिभाषित गेरका सबै खालका आपराधिक कार्यहरुको उद्योग हुँदैन वा उद्योगको रुपमा अपराधीकारण गर्न सकिदैन । मनसायपूर्वक गरिने कसूरहरुमा मात्र मनसाय र तयारीको चरण पछि सो मनसायबमोजिम कर्ताले कुनै कार्य गरेमा परिणाम नआएको अवस्था भएपनि सो कार्यलाई नै उद्योगको रुपमा अपराधीकरण गरिने भएकोले आपराधिक मनसायको रुपमा लापर्वाही वा हेलचेक्रयाइँ  जस्ता निम्न स्तरको मनसाय तत्व अपराधको तत्वको रुपमा रहने गरी परिभाषित गरिएको हुन्छ । अपराध वा मनसायको अपवादको रुपमा रहेको आवेश वा भवितव्यको आधारमा हुन सक्ने अपराधमा उद्योग नहुने भएकाले उद्योगलाई आपराधीकरण गर्न सकिने प्रकृतिका अपराधहरुको लागि सम्वन्धित परिच्छेदमा अपराधिकरण गरिएको अवस्थामा सोही व्यवस्था आकर्षित हुने र अन्य अवस्थामा प्रस्तुत व्यवस्था आकर्षित हुने गरी यस परिच्छेदमा उद्योगलाई अपराधिकरण गरिएको छ । सैद्धान्तिक रुपमा उद्योगको अपराध कायम हुन सक्ने तर सम्बन्धित परिच्छेदमा उद्योगलाई छुट्टै अपराधको रुपमा परिभाषित नगरिएको अवस्थाम त्यस्तो अधुरो वा अपूर्ण कार्य यो दफा बमोजिम सम्वन्धित अपराधको उद्योग मानिने व्यवस्था छ ।’ यसरी यो संहितालाई हेर्दा उद्योगमा लापर्वाही वा हेलचेक्रयाइँलाई पनि समावेश गर्न खोजेको छ । जसलाई न्यून मनसाय तत्वको रुपमा राखेको छ । जहाँ कार्य गर्ने इच्छा शक्ति हुँदैन । त्यसमा उद्योगको अवस्था रहदैन । मनसाय तत्व नभएको ठाउँमा उद्योग हुन नसक्ने सैद्धान्तिक दृष्टिकोण छ । तर कुनै कसूरको सम्वन्धमा उद्योगको बारेमा व्यवस्था गरेकोमा  सोही बमोजिम कानूनमा व्यवस्था नभएको अवस्थामा यो दफा उद्योगमा आकर्षित हुने गरेको पाइन्छ । यसले अभियोजन पक्षलाई कुनै अपराध गर्ने मनसाय राखेको तर सो बमोजिम अपराध नभएको अवस्था र उक्त अपराधको उद्योगको सम्बन्धमा त्यहाँ कुनै व्यवस्था रहनेछ भने यो दफा बमोजिम मुद्दा चलाउन सक्ने व्यवस्था गरिएको देखिन्छ ।

अपराधको सम्पन्नताको प्रयत्न असफल भएमा आपराधको सम्पन्नताले पूर्णता प्राप्त गर्न सक्दैन ।अपराधको सम्पन्नतामा सजाय नभए पनि अपराधको प्रयत्न वा प्रयास गरे वापत सजाय हुने कानूनमा व्यवस्था भएमा अपराधको प्रयत्नको दायित्व अभियुक्तमा आउछ । प्रतिवादी अशोक वस्नेतको मुद्दामा दोलखा जिल्ला अदालतले सजाय गरेको पाइन्छ । घ कुमारी कक्षा ११ को परीक्षा दिन भनि प्रतिवादीको होटलमा बसेकी हुन्छिन । घ कुमारीलाई बोलाई घरमा को को छन भनी सबै कुरा सोधी घरायसी अवस्थाको बारेमा जानकारी लिएपछि निजकै साथमा निजसँगै कोठामा पुगी बसी घ कुमारीको अर्को साथीलाई गोप्य कुरा छ भनी बाहिर पठाई घ कुमारीलाई आफ्नो कोठामा जबरजस्ती लगि खाटमा पल्टाई जबरजस्ती करणी गर्ने प्रयास गर्छ । जबरजस्ती करणी गर्ने क्रममा घ कुमारीले प्रतिवादीलाई घाँटीमा चिथोरेको र  लात्ताले हिर्काइ आफू उम्कन सफल भएको कुरा उल्लेख गरी जाहेरी दिएकी थिइन । घाउँ डाक्टरको जाँचबाट पुष्टि हुन्छ । पिडितले पछि बयान परिवर्तन गरी रिसले जाहेरी दिएको भने पनि प्रतिवादीलाई सजाय भएको थियो । यसमा मनसाय तत्वलाई लिई प्रतिवादीले पिडितलाई शारिरीक आक्रमण वा भौतिक कार्यलाई अदालतले ग्रहण गरी दोषी गढाउ गरेको देखिन्छ । यहाँ पिडितलाई कोठामा लगेर खाटमा पल्टाइ जबरजस्ती करणी गर्न लाग्दा पिडितले घाँटीमा चिथोरेको र लातले पेटमा हानेकाले अपराधले सम्पन्नता पाउन सकेन । यहाँ प्रतिवादीलाई कोठामा लानु’ खाटमा पल्टाउनुले प्रतिवादीको मनसाय तत्व देखिन्छ । पिडितको आफ्नै प्रयासले प्रतिवादीको मनसाय पुरा नभएको देखिन्छ । संहिताले उद्योगलाई २ चरणमा लिएको देखिन्छ । पहिलो पिडित उपर पुगेको घात र दोस्रो कुरा असम्भव कुरा पनि अपराध हुने । यो घात खास गरेर अपराधिले अपराध सम्पन्न गर्न खोज्दा पिडित पक्षबाट उम्कन भएका प्रयासका कारण अपराधले सम्पन्नता नपाउनुलाई नै भनिन्छ । यो घात गर्ने क्षमता पिडितमा हुने कुरा इङ्कित गरेको छ । यसमा प्रतिवादीले अपराध सम्पन्नतामा प्रयास र उक्त कार्य गर्न सक्षम पनि देखिन्छ ।

एक पुरुषले एउटी महिलालाई  जबरजस्ती करणी गर्न सक्छ की सक्दैन भन्ने सन्दर्भमा भने समान बल वादी प्रतिवादीमा नहुन सक्छ तर महिला बलवान भएमा पुरुषबाट यस्तो काम सम्पन्न नहुने र पुरुष बलवान भएमा कहिले काही यो सम्भव पनि हुनसक्ने कुरा गरेको पाइन्छ । महिला कमजोर‚थकित र विरामी परेको अवस्थामा भने करणी हुन सक्ने कुरा बताएको पाइन्छ । जे होस करणी नै नभए पनि यस्तो परिस्थितिमा उद्योग हुने गर्दछ । माथि उल्लेखित मुद्दामा पनि कोठामा लैजानु र खाटमा पल्टाउनुले पनि प्रतिवादी वलवान देखिन्छ भने वादीले पनि घाँटीमा चिथोर्नु लातले पेटमा हिर्काइ कार्य सम्पन्न हुन नदिनुले कमजोर देखिदैन । संहिताले यस सम्बन्धमा ‘पूर्ण अपराधिक कार्य गर्न कानूनी रुपमा असम्भव भएमा वा भौतिकरुपमा असम्भव भएमा त्यस्तो कार्यको उद्योग पनि स्थापित नहुने अवस्था हुन सक्छ । भौतिक रुपमा पूर्ण अपराध हुन असम्भव छ तर कर्ताको कार्यको परिणाम स्वरुप उक्त अपराधिक कार्य हुन असम्भव रहेको अवस्थामा भने निज सो अपराधको उद्योगको लागि दायित्वधीन सिद्धान्तलाई फौजदारी विधिशास्त्रले स्वीकार गरेको छ ।’ यसमा कानुनी कुरामा अपराध सम्भव छैन भने त्यो अपराध हुँदैन । यस अन्तर्गत कुनै बस्तु गैरकानूनी नभएमा उक्त वस्तुलाई कर्ताले गैरकानूनी भन्ने विश्वासमा परेको अवस्थालाई यसले कानूनी रुपमा असम्भवतामा राखेको छ ।

शुक्रबार, बैशाख २०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...