पित पत्रकारिता, प्रीत पत्रकारिता !

88 Views

-विनोद ढकाल

प्रायः राजनीति गर्नेहरूसँगको मुलाकातमा उनीहरूले परिचय खुलाउँदै थप्छन्– म पनि पत्रकार थिएँ नि ! यो अन्य पेशामा अब्बलता हासिल गरिसकेकाहरूको पनि टिप्पणी हुने गर्छ । पत्रकारिता साधारण पेशा, आम्दानी हुँदै नहुने पेशा अनि नेपालमा स्थापित भएको जडवादी सोचको शिकार भएकै छ, यसमा मतान्तर सायदै कम होला । सम्पन्न परिवारले कहिले पनि सन्तानलाई पत्रकारिता गर्ने, सूचनाको कर्ममा जुट्नुपर्छ भन्ने सोच परिवारभित्रै पनि दिँदैन । विपन्न परिवारले समाजमा देखिएका अनेक चित्र र चरित्रका हिसाबले यसलाई जोखिमको पेशा पनि ठान्छ । अर्को, पत्रकारिताभित्र वर्ग खुट्याएर व्यवाहार गर्ने ठूलो रोग पनि छ । ठूला मिडियामा काम गर्ने सम्पन्न, सानामा काम गर्ने विपन्न वर्गमा तौलिइन्छन् । यो कटुसत्यबाट गुज्रिरहेका छन् पत्रकारिता गर्नेहरू ।

एक व्यक्तिको पेशा पत्रकारिता हुन सक्छ । त्यसका आधारमा ऊ पत्रकार भनिन्छ । जसरी बैंकमा काम गर्ने बैंकर हो । पत्रिका वा मिडियामा काम गर्ने पत्रकार हो । तर नेपाली समाजमा अन्य क्षेत्रमा काम गर्नेको व्यक्तित्वका सबै पाटा केलाइन्छन्– त्यहि समाजले पत्रकारिता पेशा गर्ने व्यक्तिलाई विविध आयामबाट व्याख्या गर्न वा बुझ्न चाहेन । समाजको कुरा त परै जाओस्, परिवारले पनि विविध आयाममा बुझ्न कठिन भयो । अनि, पत्रकार त्यहि व्याख्याको वरिपरि व्यवाहारको शिकार हुन थाल्यो, त्यहि व्यवाहारको आत्मरतीमा घुलित हुन थाल्यो । जसरी, राजनीतिकर्मी नेता भन्दा मख्ख पर्छन् । त्यसका परिणाम श्यामश्वेतमा देखिनु स्वभाविक हुन थाल्यो । तर, श्वेत पत्रकारितालाई छायाँमा राखेर ‘श्याम’ विषयलाई प्रहार, आक्रमण र आवेगको कारक बनाएर पत्रकारका नाममा पत्रकारिताको खिल्लि उडाउने काम भइरहेको छ । पत्रकारिता, पेशा हो– कुनै व्यक्ति विशेषले यसलाई अँगालेर कसैमाथि प्रहारको हतियार बनायो भन्दैमा पुरै पेशामाथि धावा बोल्नु गलत होइन र ?

कुनै एक मुद्दामा एउटा पत्रकारिता गर्ने व्यक्तिप्रति आक्रमण भयो भने, अर्धचेत समाजले समग्र पत्रकारितालाई त्यहि डालोमा राखेर व्याख्या गरिदिन्छ

सबैले बुझ्न आवश्यक छ, विश्व समाजमा जुनसुकै पेशाको सम्मान उत्तिकै छ ।

अर्को, हरेक दिनका घटनासँग समाज बहसमा उत्रिएको हुन्छ । चिया चौतारो, पान पसल, भट्टी, कार्यालय, या कुनै पनि फूर्सदिलो समयमा बातचितको प्रमूख विषय नै तत्कालिक राजनीतिक मुद्दा हुन्छ । त्यो मुद्दासँग माध्यमका हिसाबले जोडिएको हुन्छ, पत्रकारिता । कसैको जीवनमा भएका अपराध र अपमानका साध्यमा जोडिएको हुन्छ, पत्रकारिता पेशा । कसैलाई ठिक र बेठिक लाग्नु स्वभाविक हो, त्यसैले आफ्ना अनुकूलतामा व्याख्या र चरित्र मापन गरिदिने चलन बसेको छ, नेपाली समाजमा । त्यसैले कुनै एक मुद्दामा एउटा पत्रकारिता गर्ने व्यक्तिप्रति आक्रमण भयो भने, अर्धचेत समाजले समग्र पत्रकारितालाई त्यहि डालोमा राखेर व्याख्या गरिदिन्छ । जसरी, राजनीतिले कर्मचारीतन्त्र भ्रष्ट भयो भन्छ, कर्मचारीतन्त्रले राजनीतिक नेता कामै नलाग्ने भए भन्छ । नेपाली समाजको ठूलो रोग वा जड के हो ? भन्नेचाहिँ खुट्याउने इमान्दार प्रयास कहिले पनि हुन सकेन । कसैको देवत्वकरण र कसैको राक्षसीकरण गर्न निमेष पनि लाग्दैन, यो समाजलाई । अझ, अहिले सामाजिक सञ्जालले सहज बनाइ दिएको छ ।

विश्वमा अहिले ‘नागरिक पत्रकारिता’को बहस चलेको छ । सबैभन्दा शक्तिशाली मिडिया सामाजिक सञ्जाल बनेको छ । जो कोहीले आफ्ना सूचना, विचारलाई कुनै न कुनै प्रारूपमा व्याख्या गरिरहेका छन् । आधिकारिकताका हिसाबमा कुनै परिचयपत्र नबोके पनि सञ्चारको माध्यम बनेर जब आम मानिसमाझ सूचना लिएर कोही पुग्छ भने, त्यो सञ्चारकर्मी भयो कि भएन ? त्यसैले आम मानिसले पनि आफ्नो सञ्चारकर्मप्रति उत्तरदायी हुन जरुरी हुन्छ भन्ने आत्मचिन्तन नगरेसम्म, द्वारिकलाल चौधरी पनि बनिरहन्छन्, रवि लामिछाने पनि चलिरहन्छन् । ज्ञानेन्द्र शाही पनि चलिरहन्छन्, सुरेन्द्र केसी, भण्डारी अनेक अनेक पनि चलिरहन्छन् ।

कोही पत्रकारले समाचार लेखेकै आधारमा कसैसँग मुनाफा लिने कोसिस गर्छ भने, त्यो त पीत पत्रकारिता पनि होइन । खास अर्थमा पत्रकारिता नै होइन । त्यो अपराध हो । अपराधलाई पित पत्रकारिताका नाममा व्याख्या किन गर्ने ?

पित पत्रकार कि पत्रकारिता ?

जुनसुकै पेशामा फरक पाटो, खराब पाटो हुन्छ । पत्रकारिताभित्र पनि त्यस्ता तत्व नभएका होइनन् । अझै छन् । अझ कतिपय त आफ्ना अन्य पेशामा भएका गल्ती, कमजोरी र अपराधको ढाकछोपको प्रमूख ढालका रूपमा पत्रकारितालाई उपयोग गर्छन् । जसले जीवनलाई पत्रकारिता, पत्रकारितालाई जीवनको प्यासन ठान्छ त्यो निर्दोष हुन्छ । तर, त्यहि डालोमा ऊ पनि पर्छ । कसैसँग रिस उठ्यो कि पत्रकार बनिदिने चलन पनि छ । कतिपयले उपयोग गर्ने प्रचलन पनि हुन्छ ।

कुनै पनि विषयलाई भावनात्मक रूपमा प्रस्तुत गरेर त्यसलाई विचार बनाउने कोसिस गरिन्छ, त्यो प्रयोग गरिन्छ भने त्यसलाई पित पत्रकारिता भनिन्छ । यहाँ त पित पत्रकारिताको व्याख्या नै गलत अर्थमा बुझाउने प्रयास भएको छ । कोही पत्रकारले समाचार लेखेकै आधारमा कसैसँग मुनाफा लिने कोसिस गर्छ भने, त्यो त पीत पत्रकारिता पनि होइन । खास अर्थमा पत्रकारिता नै होइन । त्यो अपराध हो । अपराधलाई पित पत्रकारिताका नाममा व्याख्या किन गर्ने ? त्यसबेला भन्न सक्नुपर्छ– पत्रकारिता अँगालेको व्यक्ति जो पत्रकार हो, त्यो अपराधी भयो ।

मेयर चौधरीकै सन्दर्भलाई जोडौं । चौधरीले सबै अन्तरवार्तामा रामप्रसाद चौलागाँई र आफूलाई मन नपरेका व्यक्तिलाई भ्रष्टाचारी भनेका छन् । चौलागाई मेयरको टिकटका निम्ति चौधरीसँगका स्पर्धी थिए भने, केही कर्मचारी चौधरीप्रति वफादार बनिदिएनन् । उनले बारम्बार पित पत्रकारिताको कुरा गरेका छन् । उनको हकमा आएका समाचार वा प्रश्नहरू पित छैनन् । उनलाई कुनै व्यक्ति जसले पत्रकारिता पेशा अँगालेको छ, मन परेन भने, समग्र पेशालाई गाली गर्ने, त्यो पनि कानुन उल्लंघन गर्दै ? उनले गरेको असंवैधानिक चरित्रलाई श्वेत देख्ने सामाजिक दृष्टि कुन दुरबिनबाट हेरिन्छ, त्यो पनि जान्न मन छ । यो अराजकतावादी विचार थियो, त्यसलाई मलजल गर्ने र सही माथि सही थाप्ने अराजकताको समर्थन गरेको होइन ? लोकतन्त्रमा यस्तो हुन्छ ?

जनताको सूचना जोखिममा

पत्रकारिता गर्नेहरू मानक होइनन्, माध्यम हुन् । एकातिर जनताको सूचना पाउने प्राधिकारको रक्षा गर्नका लागि मिडिया काउन्सिल विधेयकविरुद्ध लड्न परेको छ, अर्कातिर समाजसँग पनि । व्यक्तिगत मुनाफा र स्वार्थका लागि काम गरेको समूहले समग्र पत्रकारितालाई प्रहार गर्नका लागि अनेक प्रोपोगाण्डा गरेका छन् ।

पत्रकारिता राज्यको कुनै पनि अंग होइन । यो फगत प्रचार भएको छ चौथो अंग भनेर । नेपालको संविधानमा शक्ति सन्तुलनको चौथो अंग पत्रकारिता भनेर कहाँ उल्लेख छ ? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति सन्तुलनका आधार बनाइएका छन्, त्यहाँ पत्रकारिता भन्ने कहाँ छ ?

राज्य कहिले पनि मिडियाप्रति उत्तरदायी र जिम्मेवार हुँदैन । मिडियाले राज्यका गल्ती कमजोरी र उसका उत्तरदायित्वबिमुख सूचना जनतासम्म पुराउने काम गरिरहेको हुन्छ । एक अर्थमा राज्यसँग मिडिया लडिरहेको हुन्छ । यसकारण राज्यले आफ्नो प्रचारतन्त्रका लागि स्वतन्त्रता नियन्त्रणमा राखी सरकारी सञ्चारमाध्यम चलाएको हुन्छ । नेपालमा पनि छन् । राष्ट्रिय समाचार समिति, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन यसैका उदाहरण हुन् । यी समाचार माध्यममा आएका समाचार पढेर कसैले धारणा बनाएको छ ? सत्य मानिदिन्छ ? अहिले मिडियालाई गाली गर्नेले नै मान्छ त ? यो, प्रश्न छाड्छु ।

पत्रकारिता राज्यको कुनै पनि अंग होइन । यो फगत प्रचार भएको छ चौथो अंग भनेर । नेपालको संविधानमा शक्ति सन्तुलनको चौथो अंग पत्रकारिता भनेर कहाँ उल्लेख छ ? कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति सन्तुलनका आधार बनाइएका छन्, त्यहाँ पत्रकारिता भन्ने कहाँ छ ? संवैधानिक कुनै आयोग छ, पत्रकारिताको ? हुनुपथ्र्यो, जसले जनताको सूचना पाउने प्राधिकारलाई सँधै काम गर्न सक्थ्यो ।

अहिले पत्रकारिता सम्बद्ध विभिन्न संस्था र पेशागत संस्थाले राज्यले आफ्नो धारणाअनुकुल, शासन अनुकुल मिडियालाई बाँध्न खोज्दा, पत्रकारको जागिर जाँदैन । पत्रकारको गाँस हडपिँदैन । तर, जनताको सूचना पाउने अधिकार, राज्यको गलत र नियोजित भ्रष्टाचारसम्बन्धीका खबर, बिचौलियाहरूले लुटिरहेको जनताको पसिनाका विषयमा लेख्यो कि, थुनिदिन्छ । त्यो लोकतन्त्र हुँदैन । लोकतन्त्र भनेको प्रेस स्वतन्त्रताको पार्यावाची हो । स्वतन्त्र प्रेस भनेको, स्वतन्त्र पत्रकारिता पेशा हो, व्यक्ति होइन । पत्रकार भन्ने तर उदण्ड बन्ने छूट होइन ।

अतः कुनै पनि धारणा बनाउनुअघि लोकतन्त्र, वैचारिक स्वतन्त्रताको समानान्तरमा पत्रकारितालाई राखेर विचार गर्नु राम्रो होला । अन्यथा, आम मान्छेले पत्रकारको नाममा आम मानिसलाई कालो मोसो दल्छु भन्नु नौलो कुरा हुनेछैन । पत्रकारिताको देन, यसले गरेको समर्पणको जगमा लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा छु भन्नेहरूले पनि हेक्का राखून् । मैले त, डेढ दशको यो यात्रामा आक्रामक समूहले आरोप लगाउँदा, सुन्दै आएको हो पित पत्रकारिता तर निडर, स्वतन्त्र र इमानमा रहेर गर्दै आएको प्रीत पनि पत्रकारिता नै हो ।

बिहिबार, जेष्ठ २३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...