म्याग्दी उवासंघले हितकोषबाट ७५ हजार सहयोग

म्याग्दी उद्योग वाणिज्य संघले व्यवसायिक हितकोषमार्फत पर्वत बेनीका अशु किनारा पसलका सञ्चालक स्वर्गीय पार्थबहादुर जिसीको परिवारलाई ७५ हजार हस्तान्तरण गरेको छ । संघले आफ्ना सदस्यको मृत्यु, आपतविपद् र अप्ठ्यारोमा परेका व्यवसायीलाई राहत उपलब्ध गराउने गरी स्थापना गरेको हितकोषमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
स्व. जिसीको घरमा पुगेर संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यसहितको टोलीले राहत रकम हस्तान्तरण गर्दै व्यवसायीको समस्यामा सधैं साथमा रहेको बताएका थिए । व्यवसायीलाई पर्ने दुःख तथा पीडामा साथ दिइने बताउँदै उनले हितकोषलाई थप फराकिलो बनाइने बताए । व्यवसायिक हितकोषको कार्यविधि अनुसार प्रोपाइटरको मृत्यु हुँदा ७५ हजार, परिवारका सदस्यको मृत्युमा २५ हजार, प्राकृतिक विपद्बाट प्रभावित व्यवसायीलाई क्षतिको मूल्याङ्कन गरी ५० हजारसम्म राहत उपलब्ध गराउने संघका महासचिव महासचिव लिलाराम गौतमले बताए । उनका अनुसार हालसम्म ११ सय व्यवसायीले प्रतिव्यक्ति दुईहजार रुपैयाँका दरले जम्मा गरी हितकोषको सदस्यता लिएका छन् ।
कुल २२ लाख रुपैयाँ जम्मा भएको व्यवसायी हितकोषलाई ३० लाख पु¥याउने लक्ष्य रहेको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । कोषको व्याजबाट उद्योग व्यवसायमा प्राकृतिक विपद्बाट क्षति पुग्दा, व्यवसायी र परिवारका सदस्यको देहावसान हुँदा सहयोग गर्ने व्यवस्थासहितको २०७५ को कार्यविधि नै बनाएर संघले लोकप्रिय कार्यक्रम सुरु गरेको थियो ।
यस अगाडि सदस्यका परिवारको मृत्युमा राहत उपलब्ध गराइसकेकाले पनि विस्तारै कोषको सदस्यता लिनेको सङ्ख्या बढ्न थालेको छ । संघमा एकहजार ८ सयको हाराहारीमा व्यवसायी आबद्ध छन् । प्रति सदस्य एकपटक मात्र दुई हजार रुपैयाँका दरले मात्र शुल्क सङ्कलन गरिन्छ । म्याग्दी उवासंघको अभियानलाई देशका अन्य उवासंघले समेत चासो देखाएका छन् ।

सोमवार, असार २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...