बेनी नगरका जनप्रतिनिधिकोलागि उत्तम बिकल्प राजीनामा

बेनी नगरपालिकामा बिबादको जरोले धेरै जेलिदै गयो । सामान्य विवाद र मतभेदलाई पनि शाम्य पार्न नसक्दा आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने अन्तिम दिन आज असार १० गते १२ बजे सम्म कुनै पनि काम अगाडी बढ्न नसकेको देखिन्छ । हुन त आज राती १२ बजे सम्म पनि आजै हुने भएकाले एउटा सामान्य आसाको त्यान्द्रो भए पनि ७ दिन पहिल्यै पत्राचार गर्नु पर्नेमा त्यो भएको छैन ।
म्याग्दी जिल्लाको स्थानियतहहरुमा हेर्ने हो भने बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठको बौद्धिकता निकै छ भन्दा फरक पर्दैन । किन भने उनले बेनी नगरपालिका क्षेत्रका अधिकांसलाई अध्यापन गराएका मात्रै छैनन उनी शिक्षण पेशामा आवद्ध भएका कारणले गर्दा उनीबाटै सिकेर धेरै माथि पुगेका जमात पनि निकै छ । तर अहिले उनले सहि निर्णय लिन नसक्दा सिंगो नगरपालिका अनिर्णयको बन्दी पक्कै पनि बन्न परेको हो ।
गत जेठ ३ गते बसेको नगरकार्यपालिकाको बैठकमा भएको एउटा निर्णयको विवादका कारण अहिले सम्म पनि त्यो विवादको गतिरोध अन्त्य हुने तारतम्य नै देखिएको छैन । जो जे भए पनि कुनै पनि संस्थाको नेतृत्वले नै हो त्यसको जिम्मा लिने र त्यसको सही तथा गलत भएका कामहरुको पनि जिम्मेवारी लिने । तर अहिले नेतृत्वमा रहेका कसैले पनि जिम्मेवारी नलिएरै अन्यौलता र अनिर्णयको बन्दी बनाउने काम भएको छ ।
नेपाली शब्दकोशमा हुने शब्दहरु पनि प्रयोग गर्न मिल्ने कुनै शब्द साहेद अब नगरबासी सँग नहुन सक्छ । हुन त नगरबासिलाई भन्न मन लागेका शब्दहरुको प्रयोग यहाँ गर्ने हो भने साइबर क्राइम अन्तरगत जेल बस्न पर्ने अवस्था पनि आउन सक्छ तर पनि नगरबासिहरुले प्रयोग गरेको एउटा शब्द ‘निकम्मा’ चाँही नगरपालिका देखिएकै हो । राज्यले तोकेको समय सिमा असार १० भित्र सबै स्थानिय तहले बजेल ल्याउन सक्नु पर्नेमा १० गते दिउँसो सम्म पनि कुनै तयारी नदेखिएकाले अब भने जनताले आफूले दिएको नेतृत्व असफल भएको महशुष गर्नु बाहेक अन्य कुनै विकल्प पक्कै पनि छैन ।
अबको बाटो के हुने त ? अन्यौलता ब्याप्त छ । अहिले सम्म कहि कतै पनि बजेट आएन भने के गर्ने भन्ने विकल्प उल्लेख गरेको पाइदैन । तर बजेट नआए पछि के हुन्छ त? अहिलेको अवस्थामा बेनीका राजनैतीक दल तथा युवाहरु सामाजिक सञ्जालमा नगरपालिका र जनप्रतिनिधिलाई गालि गर्नमै व्यस्त छन् । अब जनताको नजरमा गिरेर बस्ने कि छाड्ने अरुले सिकाउन पर्ने हुदै होइन ।
कार्यपालिकाको बैठकमा यदी विवाद भएको हो भने त्यसलाई थाँती राखेर अरु काम अगाडी बढाउनु पर्ने जिम्मेवारी जनप्रतिनिधिको हो । तर नुवाकोटमा गोरुलाई वर्षभरी पालेर राखेर माघमा जुधाउने मात्र काम हुन्छ त्यस्तै कामका लागि मात्र जनप्रतिनिधिलाई पालेर किन राख्ने भन्ने सम्मका स्टाटसहरु सामाजिक सञ्जालमा भरिएको वर्तमान अवस्था हेर्दा राज्यले नै केही कदम चाल्न पर्ने अवस्था सृजना पक्कै भएको छ ।
एक पक्षले अर्को पक्षलाई अदालतमा उभ्याउने काममात्र नभएर आफ्नो नेतृत्वको नगरपालिका भित्रका कर्मचारी विरुद्ध समेत मुद्धा हालेका जनप्रतिनिधिले अबको दिनमा काम गर्ने वातावरण त पक्कै बन्दैन । त्यसैले अबको उत्कृष्ट निकाश आफ्नो दम्भ नछोड्ने हो भने राजनीनामा दिएर दम्ब कायम राख्नु नै उत्तम हुनेछ ।
सामाजिक सञ्जालमा देखिएका स्टाटसहरु ।

मङ्लबार, असार १०, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...