चिजले बजार नपाउँदा कृषकलाई समस्या

156 Views

ग्रामीण भेगमा उत्पादित चिजले बजार नपाउँदा कृषकलाई समस्या भएको छ । स्थानीयवासीको संयुक्त लगानीमा २०७१ बैशाखदेखि सञ्चालन गरिएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिजले बजार पाउन नसक्दा कृषकहरु समस्यामा परेका हुन् ।
दिनहुँ उद्योगबाट उत्पादन हुने चिज बजार अभावका कारणले गर्दा बिक्री वितरण हुन सकेको छैन् । २८ जनाको सामूहिक लगानीमा सञ्चालित हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको चिज बजारको समस्याले नियमित रुपमा बिक्री गर्न समस्या भएको संस्थाका सचिव श्यामप्रसाद खड्काले गुनासो गरेका छन् । गाउँका कृषकको सक्रियतामा उत्पादन गरिएको चिजले अफ सिजनमा बजार नपाउँदा भण्डारणमा थन्क्याउनुपरेको उनले बताए ।
१० लिटर दुधबाट एक केजी चिज उत्पादन हुने गरेको छ । उद्योगमा मौज्दात रहेको सयौं किलो चिजलाई सवारीसाधन तथा खच्चडबाट ढुवानी गरेर बिक्री गर्ने गरिएको सचिव खड्काको भनाइ छ । गाउँमा उन्नत जातका गाईपालन गरेका कृषकले दैनिक उद्योगमा दुध खपत गर्ने गरेकाले पनि बजार अभावका कारण कृषकलाई राहत दिन नियमित उत्पादन गर्नुपर्ने बाध्यता रहेको छ । कृषकहरूको दूध सङ्कलन गरेर चिजसँगै घिउ उत्पादन गरी बिक्री गर्ने गरिएको छ ।
बजार व्यवस्थापनका लागि सहकारीमार्फत विभिन्न स्थानमा समेत पुगेको बताउँदै लगानी, उत्पादन क्षमता र जनशक्तिको कुनै समस्या नभए पनि बजार व्यवस्थापनको दृष्टिकोणले चुनौती देखिएको सचिव खड्काले बताए । चिज र घिउ प्रतिकेजी ८ सय ५० मा बिक्री हुने गरेको छ । घिउ गाउँ आसपासको क्षेत्रमै खपत हुने भएकाले पनि घिउको आम्दानीबाटै अफ सिजनमा कृषकलाई भुक्तानी दिने गरिएको छ । गाउँका ३२ जना अगुवा कृषकले दैनिक खपत गर्ने दुधलाई उद्योगले प्रति लिटर ४५ देखि ७० रुपैयाँमा खरिद गर्ने गरेको छ ।
चिजको नियमित खपत नहुँदा कृषकलाई दुध खरिद गर्न र भुक्तानी दिन समस्या भैरहेको बताइएको छ । कृषकहरुले व्यावसायिक रुपमा उन्नत जर्सी र होल्यान्ड जातको गाईपालनमा ५० हजारदेखि तीनलाख रुपैयाँसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि एक लाखदेखि तीनलाख रुपैयाँसम्म लगानी गरी स्थानीयले उन्नत जातको गाई खरिद गरेका छन् । चिज उद्योगबाट एकजना कृषकले मासिक सात हजारदेखि ३२ हजारसम्म आम्दानी गर्ने गरेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल बताउँछन् । गतवर्ष उद्योगबाट चिज र घिउ गरी ३८ लाखको कारोबार भएको थियो । उता अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा २०५८ सालमा स्थापना भएको खयरबराही डेरी उद्योगबाट दैनिक चिज उत्पादन भैरहेको छ ।
उद्योगबाट हुने आम्दानीले स्थानीय पाउद्वार माविमा शिक्षकको तलबसँर्गै कृषकलाई प्रोत्साहन गर्न घाँस, औजार, अनुदानका साथै तालिम समेत उपलब्ध गराउने गरिएको छ । दुवै उद्योगमा उत्पादिन चिज जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोरेपानी, भूरुङ–तातोपानी, कास्कीको घान्द्रुक, लेकसाईड तथा मुस्ताङमा घुम्न आउने विदेशी पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।

बिहिबार, असार १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...