इंग्ल्यान्ड सेमिफाइनलमा

आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सकिएको खेलमा न्युजिल्यान्डलाई ११९ रनले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो।

इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने तेस्रो टिम बन्यो। यसअघि अस्ट्रेलिया र भारतले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।

अब सेमिफाइनलमा पुग्ने सम्भावना न्युजिल्यान्डको बलियो छ। पाकिस्तानको भने क्षीण सम्भावना छ।

पाकिस्तानलाई सेमिफाइनलमा पुग्न अन्तिम खेलमा बंगलादेशलाई भारी अन्तरले पराजित गर्नु पर्ने हुन्छ। विश्लेषक एस राजेशका अनुसार पाकिस्तानले बंगलादेशलाई ३१६ ले हराउनु पर्नेछ। जसअनुसार पाकिस्तानले पहिले ब्याटिङ गरे ४ सय रन बनाउनु पर्नेछ भने बंगलादेशलाई ८४ भन्दा कमको स्कोरमा रोक्नु पर्नेछ। यसो भए पाकिस्तानले रनरेटमा न्युजिल्यान्डलाई पछि पार्ने छ।

पाकिस्तानले फराकिलो अन्तरको जित हात नपारेको अवस्थामा सेमिफाइनलमा पुग्ने चौथो टिम न्युजिल्यान्ड बन्नेछ।

बुधबार इंग्ल्यान्डले दिएको ३०६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा १८६ रनमा अलआउट भयो। उसका लागि टम लाथमले सबैभन्दा बढी ५७ रन जोडे। कप्तान केन विलियमसनले २७ र रोश टेलरले २८ रन बटुल्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए। जोफ्रा आर्चर, क्रिस ओएक्स, लियाम प्लुङकेट, अदिल रसिद र बेन स्टोक्सले १-१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ३०५ रन जोड्यो।

इंग्ल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जोनी बेयर्सटोले शतक प्रहार गरे। उनले १०६ रन जोडे। उनले ९९ बलमा १५ चौका र १ छक्का हिर्काए। जारी विश्वकपमा उनको यो लगातार दोस्रो शतक हो। ओपनर जासन रोएले ६० रनको योगदान दिए। उनले ६१ बलमा ८ चौका हिर्काए।

जोए रुटले २४ रन जोड्दा जोस बटलर ११ रनमै आउट भए। कप्तान इयान मोर्गानले ४२ रनको योगदान दिए। उनले ४० बलमा ५ चौका हिर्काए। बेन स्टोक्स ११ रन, क्रिस ओएक्स ४ रन र अदिल रसिद १६ रनमा आउट भए। लियाम प्लुङकेटले नटआउट १५ रनको योगदान दिए।

बलिङमा न्युजिल्यान्डका जेम्स नसीम, ट्रेन्ट बोल्ट र माट हेनरीले २-२ विकेट हात पारे। मिचेल सान्टनर र टीम साउथीले १-१ विकेट लिए।

बिहिबार, असार १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...