बिद्यालय शिक्षा

86 Views

वीणा झा

जसरी एउटा बच्चा यदि सानो बेलामा  सन्तुलित आहार खान पाएन भने कुपोषित हुन्छ र उसको रोग संग लड्ने क्षमतामा कमि आउछ जसको असर पछी सम्म उसको जीवनमा  देखिन्छ | त्यसै गरि यदि बिद्यालयस्तरमा एउटा विद्यार्थीले सहि र सन्तुलित शिक्षा पाउन सकेन भने त्यसको असर उसको पुरै जीवनकालमा पर्छ | एउटा बच्चा कुनै परिवारको मात्रै नभई, पुरै समाज र देशको भविष्य हो त्यसैले उसको शारीरिक, मानशिक र भावनात्मक स्वास्थ्य प्रति सम्बन्धित सबै पक्ष उत्तिकै संबेदनशिल हुन् आवश्यक छ | उसको सोचमा समानता, निष्पक्षता र नैतिकताका कुरा  तब मात्रै जन्मिन सक्छ जब उसले यी कुराहरुलाई अनुभूत गर्न सक्छ | त्यसैले बिद्यालयस्तरको शिक्षा भनेको सिर्फ केहि किताबका अध्यन अध्यापन मात्रै होइन | जीवनको  जग हाल्ने बेला हो जसमा मानविय मुल्य मान्यता खन्याउन आवश्यक छ |

हामीले धेरै उत्प्रेरक कथाहरु सुनेका छौ जो अनेक प्रयाश पश्चात जीवनका उतरार्धमा सफल भएका थिए जस्तो KFC का मालिक त्यसबाट हामीले बुझ्नु पर्ने कुरा के हो भने यदि व्यक्तिले जीवनमा सबैकुरा गुमाए भने पनि यदि उसको आत्मविश्वास ऊ संग बाकी छ भने ऊ पुन: उठ्न सक्छ तर सबै कुरा हुदा हुदै पनि यदि उसमा आत्म बिश्वास छैन  भने उक्त व्यक्ति सफल हुन सक्दैन | त्यो आत्मविश्वासको जग हाल्ने भनेको बिद्यालयमा हो | यदि एउटा विद्यार्थी गल्ति बिना नै सजाय पाउछ, उसलाई बोल्न दियिदैन, उसले बोलेको सुनिदैन र उसले गरेको कुनै एउटा गल्ति लाई बारम्बार औल्याउदै अरुको अगाडी हीनताबोध गराइन्छ भने उसमा आत्म-बिश्वासको बिउ उम्रेला ? बाल मस्तिस्कले विभेदका पिडा भोग्दै यस्तो अवस्थाबाट गुज्रदै अगाडी बढेका पुस्ताले कस्तो नेपाल को निर्माण गर्ला ? यस्तो अवस्था किन आउछ र कसरी त्यसको निर्क्योल गर्ने भनि गम्भीर प्रश्न हो | यदि बिद्यालयमा शिक्षाको समबेदशिलता नबुझेका व्यक्तिको हातमा शक्ति रहन्छ र अभिभावकको आफ्नो बच्चासंगको कनेक्टिभिटी कमजोर रहन्छ भने त्यस्तो अवस्थामा यो परिस्थिति उब्जिन्छ | यसको विकृत रुप आत्म-हत्या सम्म हुन् पुग्छ | पछिल्लो उदाह्र्ण ११ बर्षिय बालकको आत्महत्या जसमा उनका सुसाइट नोटले सम्बन्धित सबैको भूमिका कति महत्वपूर्ण हुन्छ भनि बुझ्न सकिन्छ |

कुनै पनि समस्याको एउटा मात्रै कारण हुनसक्दैन त्यस्तै यसका पनि अनेक कारणहरु हुन्छन जुन एक आपसमा जेलिएका हुन्छन अथवा भनौ अन्तरसम्बन्धित हुन्छन | केहि बुदागत रुपमा :

  • गलत व्यक्ति यो पेशामा आउनु जसलाई बिधालय शिक्षाको समबेदनशिलता र महत्व थाहा छैन उसले सिर्फ किताब पढाउन मात्रै आफ्नो जिम्मेबारी ठान्छ र बिद्यार्थीसंग स्वार्थ बिहिन सम्बन्धले जोडिन सक्दैन | स्वार्थ, जस्तोकि ऊ संग ट्युशन पढ्ने, उसको जात, क्षेत्र र धर्म संग सम्बन्धित अथवा विद्यार्थीको प्रभावकारी पृष्ठभूमि जसको लाभ लिन सकिने सम्भावना रहन्छ |
  • शिक्षण शैलीको ज्ञान नहुनु जसले गर्दा विद्यार्थीलाई सम्बन्धित बिषयसंग जोड्न न सक्नु | जस्तोकि कुनै व्यक्तिको जीवनी पढाउनु को उदेश्य उक्त समयको सामाजिक सांगठनिक संरचना तिनका कार्यशैली अनि उक्त समाजको तत्कालिन  परिवेश बुझाउनु हो जसले बिद्यार्थीहरुले यो बुझ्न सकुन कि सामाजिक अवस्थाले कसरी  व्यक्ति निर्माण गर्छ जसको आधारमा उसले आफ्ना हजुरबाका कार्यशैली र सोच्ने तरिकासम्मलाई जोड्न सकोस तर प्राय व्यक्तिको जन्म मृत्यु तिथिमिति रटाउदै उक्त बिषयलाई  यति बोरिंग बनाई दिन्छ कि विद्यार्थीलाई त्यो शिकाई को सट्टा सजाय जस्तो महसुस हुन्छ | अनि उसको क्रियाशीलतालाई यसले पूर्णत: मारिदिन्छ |
  • गलत संस्कारको निरन्तरता जस्तोकि कक्षामा चुप लगेर बस्ने, शिक्षकले अर्हाएको खुरुखुरु गर्ने अनि केहि प्रश्न प्रति प्रश्न नगर्ने भनेको ज्ञानी भन्ने जुन सोच शिक्षक र अभिभावक भित्र छ त्यसको कारण कतिपय महत्वपूर्ण जिज्ञासा उसले मन मै दबाएर बस्छ | पछि गएर प्रश्न नगर्ने उसको बानी नै बन्छ जसले गर्दा उसको वरिपरी हुने कुनै पनि परिवर्तनमा कुनै प्रश्न कसैलाई गर्दैन | चाहे उसको घर अगाडिको सडक भ्त्काओस, पानी न आवोस वा कुनै किसिमको समस्या होस् उसले पाएको संस्कारबाट निस्किन उसलाई गाहो लाग्छ |
  • चाकडी र चाप्लुसीको बाताबरण | यदी बिद्यालयको उच्च तहको ब्यबस्थापन (बोर्ड ) ले एउटा कर्मचारीको चाकडी र चाप्लुसीको भरमा सेवा सुबिधामा ब्रिधि गर्छ , त्यसैको आधारमा अरु  प्रतिको  सोच निर्माण  गर्छ भने  त्यस्तो बाताबरणबाट विद्यार्थीले पनि सिक्ने त्यहि नै  हो | कुनै व्यक्तिको अगाडी ऊ राम्रो बन्न काम भन्दा चाकडी र चाप्लुसीमा बिश्वास गर्न थाल्छ र  उसमा मिहनेत गर्ने बानी हराउदै जान्छ  |
  • ज्ञान र प्रमाणपत्र बीचको भिन्नता  अभिभावकले बुझ्न न सक्नु  | जबसम्म एउटा विद्यार्थीको सम्पूर्ण क्षमता र ज्ञानलाई प्रमाणपत्रको आधारमा मापन गरिन्छ तबसम्म अ-स्वस्थ प्रतिस्पर्धा चली रहन्छ |

के गर्न सकिन्छ त भनेर सोच्ने हो भने यदि अभिभावक, शिक्षक र बिद्यालयका उच्च तहका ब्यबस्थापन पक्ष शिक्षा प्रति संबेदनशिल भै दिने हो भने यो समस्यालाई केहि हद सम्म समाधान गर्न सकिन्छ | बिद्यालयमा यस्तो प्रधानाध्यापक जो हरेक कर्मचारी संग समान ब्यबहार गर्नुका साथै  उचित सम्मान दिदै सिक्ने –सिकाउने बाताबरण निर्माण गर्न सकोस र उसमा नेतृत्व गर्न सक्ने क्षमता होस् जहाँ हरेक विद्यार्थी निर्धक्क रुपमा आफ्ना समस्याहरु राख्न  सुरक्षित महशुस गरोस | यस्ता शिक्षक जो आफ्नो धार्मिक,राजनीतिक,संस्कृतिक वा आर्थिक आस्था भन्दा माथि उठी हरेक विद्यार्थीको अनुहारमा देशको भविष्य देखोस | बिद्यालयले पूर्ण रुपमा आफ्ना शिक्षकहरुको ट्युशन क्लास निषेध गरोस जसले गर्दा कक्षा समय र बिद्यालय प्रांगणमा मात्रै सिक्ने सिकाउने बाताबरण निर्माण हुन् सकोस | अनि अभिभावकले बिद्यालयसंग उसको बच्चा कतिको खुसि रहन्छ भन्ने रिपोर्ट मागोस र आफुले अवलोकन गरेको आधारमा तुलना गर्दै बच्चाको मनोदशा बुझ्न सकोस  जसले गर्दा बच्चाको नैराश्यता समय मै बुझ्न सकियोस र कुनै  अप्रिय दुर्घटना घट्नु भन्दा अगाडी नै बच्चालाई सुरक्षित अवतरण गराउन सकोस |

यदि सामुहिक पहल गर्ने हो भने भोलिका ती कर्णधारहरुको आत्म बिश्वास, सिक्ने चाहना र निश्छ्लता जोगाउदै सुन्दर नेपालको निर्माण गर्न सकिन्छ |

समाजशास्त्री

बिहिबार, असार १९, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री




sidebar ad
Loading...