बेनपाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

म्याग्दीको बेनी नगरपालिकाले तोकिएको समयभन्दा ११ दिन ढिलो गरी शनिबार बल्ल आगामी आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ समृद्ध बेनी नगरपालिकाको आधार’ भन्ने मूल नारासहित आयोजित बेनी नगरपालिकाको पाँचौं नगरसभामा नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।
नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले दुई वर्षको अवधिमा नगरलाई आवश्यक पर्ने ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड लगायतका कानुनहरु निर्माण गरिएको बताए । उनले सो अवधिमा राष्ट्रियता, मानव अधिकार, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र समृद्धिलाई ध्यान दिँदै नगरवासीको आवश्यकतालाई प्राथमिकता एवं विकास निर्माणका कार्यलाई अघि बढाइएको जानकारी दिएका छन् ।
नगर प्रमुख श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको नीति, कार्यक्रमलाई प्रदेश र केन्द्रसम्म तादाम्यता मिलाइने, आर्थिक समृद्धिका क्षेत्रलाई प्राथमिकता दिइने, नगरपालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म पुग्ने सडकको स्तरोन्नति गर्ने, नगर विकास योजनाहरुलाई निजी, सहकारी, सार्वजनिक र साझेदारीमा सम्पन्न हुनेगरी बजेटको व्यवस्था गर्ने, नदीखोला ताल तथा जलाधार संरक्षण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने, कृषि एवं पशुपालनलाई व्यावसायिकरण गर्ने उल्लेख गरिएको छ ।
यसैगरी ‘एक वडा, एक युवा क्लब एक खेलमैदान’ कार्यक्रममार्फत युवा तथा बालबालिकाको क्षमता विकास गर्ने, नगरका हरेक योजना तथा कार्यमा महिलाहरुलाई केन्द्रीत गरी आर्थिक रुपले सशक्तिकरण गर्दै लैङ्गिक समानता र समावेसीलाई प्राथमिकता दिने, पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा प्रवद्र्धन र सञ्जालीकरणमार्फत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने जस्ता नीतिहरु अघि सारिएको छ । त्यस्तै आर्थिक, सामाजिक, वातावरण र विपद् व्यवस्थापन, पूर्वाधार विकास एवं अनुगमन तथा मूल्याङ्कसम्बन्धी नीतिहरु पनि अबलम्बन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यसैबीच पाँचौं नगरसभामा नगर उपप्रमुख सन्जु बरुवालले कुल ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँ बराबरको आयव्यय अनुमानसहितको वार्षिक बजेट पेश गरेकी छिन् । बजेट पेश गर्दै उनले आगामी आवका लागि आन्तरिक आयतर्फ तीन करोड तीनलाख, वित्तीय समानिकरण १३ करोड ३६ लाख ९५ हजार, सशर्त अनुदान २४ करोड ९९ लाख, राजश्व बाँडफाँड नौ करोड १७ लाख र सडक बोर्डतर्फ ४० लाख अनुमान प्रस्ताव गरिएको बताइन् । त्यसैगरी गत आवको अल्या दुई करोड रुपैयाँ रहेको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
नगर प्रमुख श्रेष्ठद्वारा यसअघि नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि नगरसभाका सभासदहरुले आ–आफ्नो सुझावसहितको धारणा राखेका थिएभने अन्तरक्रिया र छलफल गरी संशोधनसहित नीति, कार्यक्रम पारित भएको छ । उपप्रमुख बरुवालले पेश गरेको प्रस्तावित बजेट भने आउँदो सोमबारको अर्को नगरसभा छलफल गरी आवश्यक संशोधनसहित पारित गरिनेछ । नगरसभामा बेनी नगरपालिकाका लेखा अधिकृत नारायणप्रसाद सुवेदीले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । हरेक गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा तथा नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेपनि बेनपामा भने आन्तरिक विवादले ढिलाई भएको हो ।

आइतवार, असार २२, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...