तातोपानीमा नमस्ते मोबाइलले काम गरेन

113 Views

प्रताप बानियाँ
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजार क्षेत्रमा नमस्ते मोबाइलले काम नगर्दा सर्वसाधारणहरुलाई सास्ती भएको छ । प्रसिद्ध तातोपानी कुण्ड रहेको तातोपानी बजारमा नमस्ते मोबाइल फोनको सेवा गुणस्तरीय र प्रभावकारी नहुँदा कुण्डमा आउने बिरामी तथा पर्यटकहरुले सास्ती बेहोरिरहेका छन् ।
मंगला गाउँपालिका–३, बराङ्जास्थित आलडाँडामा रहेको नेपाल टेलिकमको नमस्ते मोबाइलको टावरले राम्रो काम गर्न नसक्दा सर्वसाधारण, बिरामी र पर्यटकहरु समस्यामा परेका हुन् । उक्त टावरमा गएको माघ फागुनतिर परेको चट्याङले क्षति पु¥याएको हुँदा टावरले गुणस्तरीय सेवा दिन नसकेको स्थानीयवासिन्दाले गुनासो गरेका छन् । तातोपानी बजार क्षेत्रलाई लक्षित गरेर राखिएको टावरले भनेजस्तो काम दिन सकेको छैन ।
चट्याङले क्षति पु¥याएको टावरको राम्रोसँग मर्मत हुन नसक्दा त्यसको असर प्रत्यक्ष रुपमा मोबाइल फोनमा देखिएको छ । मोबाइलमा एनटिसीको टावर देखाए पनि फोन नलाग्ने, फोन लागेपनि कुरा गर्दा नबुझिने र घर, पसल तथा होटलभित्र मोबाइल फोनले काम गर्न नसकेको तातोपानीका होटल व्यवसायीहरु बताउँछन् । मोबाइल फोनले राम्रो काम नगर्दा तातोपानी क्षेत्रमा दिनहुँ आउने पर्यटक, कुण्डमा स्नान गर्ने बिरामी एवं स्थानीयवासीहरु पीडा भोग्न बाध्य बनिरहेका छन् ।
मोबाइल फोनले राम्रोसँग नटिप्दा होटल व्यवसायी र पाहुनाहरुलाई समस्या भएको तातोपानी कुण्ड नजिकै सञ्चालित तुलाचन होटल एण्ड थकाली भान्सा घरकी सञ्चालक मन तुलाचनले गुनासो गरिन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले कुण्डमा डुब्न आउने बिरामीहरुलाई लक्षित गरेर टेलिकम म्याग्दीमार्फत नमस्ते मोबाइल फोनको टावर स्थापनाका लागि जग्गा व्यवस्थापन गरिए पनि टेलिकमले काम नगरेको बताए । उनले नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीसँग टावर निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएर टावरको घर निर्माण गर्ने भनेपनि टेलिकमकै ढिलाई र वेवास्ताले गर्दा समस्या भैरहेको गुनासो गरेका छन् । उनका अनुसार टेलिकमले अनेक बाहना बनाएर टावर बनाउने कामलाई अल्झाएको हुँदा एबिसी केबुलमार्फत टावर जडान गर्ने आश्वासन दिएको भए पनि त्यसको समेत काम अघि बढेको छैन ।
यता सोही विषयमा बुझ्दा नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले भने बराङ्जामा रहेको टेलिकमको टावर मर्मत गरेर सञ्चालनमा ल्याइएको हुँदा पहिलेभन्दा काम गरेको दावी गरेका छन् । उनले तातोपानीवासी र कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकलाई लक्षित गरेर स्थापना गरी सञ्चालनमा ल्याइने नमस्ते मोबाइलको टावर निर्माणका लागि आवश्यक पहल भैरहेको प्रतिक्रिया दिए । १० मिटर अग्लो टावर राखेर सञ्चालनमा ल्याउने तयारी भैरहेको बताउँदै उनले अब छिट्टै नै टावर निर्माणको काम अगाडि बढाइने जानकारी दिए ।
तातोपानीको उपल्लो र तल्लो बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटलहरु थपिनुका साथै सानाठूला गरी तातोपानीमा १५ ओटा होटल सञ्चालनमा रहेका छन् । तातोपानी कुण्डकै कारणले गर्दा तातोपानी बजारमा दैनिकजसो पर्यटकहरु थपिँदै गएको देखिन्छ ।

सोमवार, असार २३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

राष्ट्रिय

म्याग्दीमा दुई जनामा डेंगु लागेको भेटियो

हिमाली जिल्ला म्याग्दीमा पनि दुई जनामा डेंगुरोग लागेको भेटिएको छ । बुधबार बेनी अस्पतालमा स्वास्थ्य चेकजाँच गर्ने क्रममा २ जना..



sidebar ad
Loading...