जागिर खान आएको होइन भन्छन्- दस्यसचिवमा सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्। सिलवालले सोमबार मन्त्रीस्तरिय निर्णयबाट राखेपको जिम्मेवारी पाएका हुन्।

गत असार ९ गते केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्त भएका सिलवालले सोमबार दिउँसो नै सपथ लिएका छन्। उनलाई खेलकुद मन्त्री जगतबाहादुर विश्वकर्माले पद तथा गोपनियताको सपथ गराएका हुन्।

सदस्यसचिवको जिम्मेवारी पाएपछि उनले आफू जागिर खान खेलकुद परिषद्को सदस्यसचिव नभएको बताए। ‘प्रधानमन्त्री र मन्त्रीज्यूले आग्रह गरेपछि खेलकुदमा केहि गर्नका निम्ति परिषद्‌मा आएको हुँ,’ सिलवालले भने।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिक आइरहेकाले रुटिङ बनाएर काम गर्ने सिलवालको भनाइ छ। उनले खेलकुदमा अवसर भन्दा पनि चुनौती भएको बताए। ‘साग नजिकिरहेको छ। समय थौरै छ। अवसर भन्दा चुनौती बढी छ,’ उनले भने।

दुई पटक सरिसकेको साग आगामी मंसिर १५ देखि काठमाडौं र पोखरामा हुने तय छ। त्यसका लागि ठोस काम अघि बढेको छैन। भौतिक पूर्वाधारका काम समयमै सक्ने चुनौती छ। प्रतियोगिताको उद्घाटन र समापन हुने दशरथ रंगशाला विगत ५ वर्षदेखि पुनर्निर्माण भए पनि अझै सकिएको छैन।

सिलवाल यसअघि २०७२ मा राष्ट्रिय खेलकुद परिषदले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए। त्यसअघि २०६३ मा उनी क्यानको सदस्य थिए। उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए।

सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष समेत हुन्। तत्कालीन एमालेका ओलीनिकट खेलकर्मीहरू मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध छन्। यस्तै नेता माधवकुमार नेपाल निकटका भने नेपाल खेलकुद महासंघमा छन्।

सिलवाल सञ्चालक रहेको गोल्डेनगेट कलेजले फ्रेन्चाइज क्रिकेटमा आफ्नो टिम किनेको छ। धनगढी प्रिमियर लिग (डिपिएल) मा गोल्डेन गेटको स्वामित्वमा रहेको काठमाडौं गोल्डेन्सले सहभागिता जनाउँदै आएको छ।

सिलवालले यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने इच्छा देखाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको सम्बन्ध भएको झन्डै तीन दशक हुन लागिसकेको छ। केपी ओली तत्कालिन प्ररायु संघका अध्यक्ष हुँदा सिलवाल सचिव दिए।

सोमवार, असार २३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...