भू–संरक्षणको नयाँ भवन बेनी नगरपालिकालाई हस्तान्तरण

म्याग्दीको बेनी नगरपालिकालाई करिब दुई करोडको लागतमा निर्मित भू–संरक्षण कार्यालयको नयाँ भवन हस्तान्तरण भएको छ । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा तत्कालीन भू–संरक्षण कार्यालयको प्रयोजनका लागि निर्मिण भवनलाई बेनी नगरपालिकाकाले अस्थायी रुपमा प्रयोग गर्नेगरी हस्तान्तरण गरिएको हो ।
शहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत ओखलढुगा जय कालिका जेभीले एक करोड ८० लाख रुपैयाँको लागतमा तीनतले पक्की भवनलाई नगरपालिकाले प्रयोग गर्नका लागि हस्तान्तरण गरिएको प्रवक्ता रामकृष्ण बराईलीले बताए ।
जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई बागलुङका ईन्जिनियर रक्षा श्रेष्ठ र बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले हस्तान्तरण पत्रमा हस्ताक्षर गरेका छन् । भवन हस्तान्तरण कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
भवन अभावका कारण कार्यसम्पादनमा समस्या भैरहेको अवस्थामा नवनिर्मित भवनबाट विषयगत कार्यालयलाई व्यवस्थापन गरी सेवा प्रवाह गरिने नगर प्रमुख श्रेष्ठले बताए । उनले सेवा प्रवाहमा सहज हुनेहुँदा थप संरचनालाई समेत व्यवस्थित गराइने बताउँदै नयाँ भवनबाट शिक्षा, स्वास्थ्य, कृषि लगायतका नगरपालिका भित्रका शाखालाई तत्कालै व्यवस्थापन गरिने बताएका छन् ।
हस्तान्तरणपछि स्थलगत अनुगमनको क्रममा केही निर्माणकार्य अझै सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन समेत दिइएको थियो । विपद्को जोखिममा रहेको म्याग्दीमा दलीय पहुँच नपुग्दा साविकको धौलागिरी अञ्चल हेर्नेगरी पर्वतमा कार्यालय पु¥याइएपछि भू–संरक्षण कार्यालयको नवनिर्मित भवन प्रयोगविहिन अवस्थामा थियो । भवनसँगै आसपासका क्षेत्रमा रहेको जग्गालाई समेत प्रयोग गरी नमुना नगरपालिका बनाउने योजना रहेको छ । संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी प्रयोगविहिन अन्य सरकारी भवनलाई पनि नगरपालिकाको मातहतमा ल्याएर प्रभावकारी सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

मङ्लबार, असार ३१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...