साउन, हरियो चुरा र मेहन्दी

137 Views

हुन त हरेक महिनाको आफ्नै विशेषता हुन्छ । अहिले साउन सुरु भएको छ । योे महिना हरियोको महिना रुपमा परिचित छ । धार्मिक आस्थाका हिसाबले पनि विशेष महत्व राख्ने गर्दछ यो महिनामा । मेहन्दी र हरियो चुराको पनि चर्चा चल्छ यो महिनामा भने भर्खरै विवाह भएकी बुहारी र सासुसँगै बस्न हुँदैन भनेर साउने पानी छल्ने चलन पनि छ यो महिना ।

हातमा मेहन्दी लगाउने चलन कसरी चल्यो त्यो आफ्नो ठाउ“मा छ । तर, अहिलेका युवतीहरुले मेहन्दी लगाउनुको महत्व भन्दा पनि फेसनका रुपमा यसलाई लिएको पाइन्छ । जति गाढा मेहन्दी लाग्यो उति श्रीमानले बढी माया गर्छन् भन्ने भ्रम पालेर अहिले पनि अधिकांश महिलाहरु यो महिनामा हातमा मेहन्दी लगाउन अभ्यस्त देखिन्छन् । मैले पनि तिउरेको पात टिपेर त्यसमा अमिलो मिसाएर सानामा खुब लाएँ । अहिले पनि लाउँछु । पहिले नबुझेर लगाएँ । त्यसपछि बुझेर पनि लगाएँ र अहिले चाँहि लाउन मन लागे लगाउँछु मन नलागे लगाउँदिन ।

यतिबेला मलाई धेरैले किन हरियो चुरा, मेहन्दी नलगाएको भनेर प्रश्न गरिरहेका छन् । म उनीहरुलाई यो हरियो चुरा र मेहन्दीमा अल्झने समय होइन भन्छु । हाम्रा अधिकारका कुरा गर्ने समय हो भन्छु । महिला हिंसा, चेलीबेटी बेचविखन, यौनिक हिंसा, बलात्कारका घटना दिनहुँजसो भइरहेको अवस्थामा म जस्तो थोरै बुझ्ने महिला कसरी मेहन्दीमा अल्झिएर बस्नु भन्छु । मेरा साथीहरु श्रीमानसँग खटपट भएर हो भन्छन् । उनीहरुलाई जवाफ दिइरहन आवश्यक ठानिन र यहा“ प्रस्तुत भएँ । तर, यो बीचमा मैले जानेको सत्य चाँहि के हो भने मेहन्दी गाढा लाग्दैमा श्रीमानले माया गर्ने होइन । त्यस्तै हामीले ब्रत बस्दैमा श्रीमानको आयु बढ्ने होइन । बरु आत्मिक व्यवहार र समझदारीले बढ्छ ।

त्यही भएर अहिले म मेहन्दी लगाए पनि साउनमै भने लगाउन मन लाग्दैन । पहिले–पहिले गाउँ घरमा खेतीपाती गर्दा, धान रोप्दा हातखुट्टा हिलाले खान्थ्यो होला र त्यसबाट बच्न गाउँ घरमा पाइने तिउरी फुल पिसेर लाउँथे होलान् । तर, अहिले समय फेरिएको छ । बजारमा पाइने अनेकथरी मेहन्दीले तिउरी फूललाई विस्थापित गरेको छ । बजारमा थरिथरिका मेहन्दी पाइन्छन् । त्यही मेहन्दीले हात रङ्गीन बनाउँछन् । कतिपय मेहन्दीमा केमिकल बढी मिसाएर एलर्जी समेत हुने गरेको पाइन्छ । तर, के यी महेन्दीले रङ्गीएका हातजस्तै उनीहरुको जीवनमा रङ्गीन छ त ?

यो साउनको सोमबारले पनि विशेष अर्थ लाग्छ भने यही महिनामा बोलबम जानेहरुको पनि भीड लाग्ने गर्दछ । शिवजीको ब्रत बसेर पूजा आराधना पनि यसै महिनामा गरिन्छ । यही महिनादेखि चाडपर्व सुरु भएको पनि मानिन्छ । विवाहित महिलाले साउनको सोमबार श्रीमानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् भने अविवाहिताले राम्रो पति पाउनका लागि ब्रत बस्ने गरेको पाइन्छ भने कतिपयले भने साथीहरुको लहैलहैमा लागेर पनि ब्रत बस्ने गर्दछन् ।

भाङ, धुतरो खाएर लठ्ठ पर्ने शिवजी जस्तो पति पाउनकै लागि आफू भोकभोकै बसेर ब्रत बस्दा के हाम्रा आमा हजुरआमाको जीवन सुखमय भयो त ? के उनीहरुले सहज जीवन यापन गरे त ? त“ ब्रत बसेकी छस् आराम गर म घरको काम गर्छु भनेर हाम्रा बुवा हजुरबुवाहरुले भने होलान् त ? संस्कार र परम्पराका नामका के हामी पनि अझै त्यसैको अनुसरण गर्ने त ? संस्कार र परम्परा मान्नु हँुदैन भनेर मैले पटक्कै भनेकी होइन । मान्नुपर्छ । तर, गलत संस्कार र परम्परा परिमार्जन गर्ने दायित्व पनि तपाई हाम्रै होइन र ? कि अझै पनि हामी हाम्रा दर सन्तानलाई यही संस्कार सिकाउने ? हुन त कतिपयले महादेव अर्थात शिवजीले पृथ्वीका सबै नराम्रा चीज र वस्तुहरु आफूले धारण र ग्रहण गरेर अरुलाई सुख दिएको भनेर भन्ने पनि गरेका छन् । तर, के वास्तविकतामा यस्तो पाइएको छ त ?

केही वर्ष अघिसम्म साउन महिना त्यति चर्चित थिएन । खेतपाती गर्ने, साउने सङ्क्रान्तिमा लुतो फाल्नेमै सीमित थियो । तर, केही वर्ष भयो साउनमा हरियो चुरा, पोते, मेहन्दीको चर्चा बढेको । भारतीय टिभी सिरियलहरुको प्रभाव पनि हुन सक्छ । प्रभाव नै भए पनि बिर्सदै गएका संस्कार आत्मसात गर्नु गलत होइन तर फेसनको रुपमा लिनु चाँहि गलत हो । हामीले गलत संस्कारको विरोध र राम्रा कुराको अनुशरण गर्नुपर्छ । चाहे जे होस् हरिया, राता, पहेँला चुरापोतेमा सजिएका महिलाहरुको जीवन पनि त्यस्तै हरियो र रङ्गीन बनोस् । रङ्गहीन नबनोस् ।

बुधबार, साउन १, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...