‘सिस्ने हिमाल’ बेच्ने ३ जनालाई २० वर्ष कैद, २ लाख जरिवाना

रूकुमकी सिस्ने हिमाल (नाम परिवर्तन) लाई बेचबिखन गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सफाइ दिएका ज्ञानेन्द्र चनरा र सुनिता मुरमुरलाई उच्च अदालत पाटनले जनही २० वर्ष कैद सजाय गरेको छ।

जिल्ला अदालतले १० वर्ष कैद गरेका श्याम डंगोलको कैद पनि उच्च अदालतले १० वर्ष बढाएर २० वर्ष पुर्‍याइदिएको छ।

न्यायाधीश यज्ञराज भट्ट र टेकनारायण कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउँदै उनीहरूलाई कैद र जनही २ लाख जरिवाना सुनाएको हो।

उनीहरूबाट सिस्ने हिमाललाई जनही २ लाख क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ।

उच्च अदालतको फैसलाले न्याय मिलेको महशुस भएको उनले बताइन्। तर आफूलाई सिरिया पठाउने भक्ते परियार र टोपराज अधिकारीलाई पनि कानुनी कठघरामा ल्याएपछि मात्र आफ्नो मन शान्त हुने उनको भनाइ छ।

‘अदालतले तीन जनालाई मात्रै सजाय गरेछ त्यो त चित्त बुझ्यो। मलाई बेच्ने अझ २ जना त खुलेआम घुमेका छन् उनीहरू जेल नपुगी मलाई पूरै न्याय हुन्न,’ उनले सेतोपाटीसँग भनिन्, ‘उनीहरू बाहिर घुमुन्जेल म सुरक्षित छु जस्तो पनि लाग्दैन।’

२०७१ साल वैशाख १ गते ज्ञानेन्द्र, सुनिता र श्याम डंगोलले उनलाई रूकुमबाट काठमाडौं ल्याएर विराटनगर काँकडभिट्टा हुँदै भारत पुर्‍याएका थिए। पाँच दिनपछि भारतको कलकत्ताबाट दुबई हुँदै सिरिया पुर्‍याएर उनलाई बेचिएको थियो।

सिस्ने हिमाललाई डंगोलले कम्पनीमा काम लगाइदिने लोभ देखाएका थिए। डंगोललाई भने सिस्नेका देवर पर्ने ज्ञानेन्द्र चनराले भेटाएका थिए। सिस्ने हिमाललाई कलकत्ता पुर्‍याएर उनीहरूले भक्ते परियार र टोपराज अधिकारीको जिम्मा लगाएका थिए।

ती दुवैले सिस्ने हिमालसहित ५ जना केटीलाई कलकत्तादेखि दुबई पठाए। त्यहाँबाट उनीहरूकै च्यानलका एक व्यक्तिले सिरिया पठाएका थिए।

सिरिया पठाएपछिमात्र आफूलाई ७ हजार अमेरिकी डलरमा बेचिएको थाहा पाएको सिस्ने हिमालले अदालतमा बयान दिएकी थिइन्।

सिरियामा भएको यो समूहको अफिसले उनलाई एउटा घरमा काम गर्न भन्दै पठाएको थियो।

त्यहाँ आफूलाई खान नदिने, यौन शोषण गर्ने, कुटपिट गर्ने, काम गरेको पैसा नदिनेलगायतका शोषण गरेको सिस्ने हिमालले अदालतसमक्ष बयान दिएकी थिइन्।

तीन महिना काम गरेपछि उनी बिरामी परिन्। त्यो परिवारले उनलाई अफिस फर्काइदिएको थियो। त्यो अफिसका कर्मचारीले आफूलाई दिनदिनै यातना दिने गरेको सिस्ने हिमालले बताइन्।

 सिरियाको दमासकसस्थित उक्त अफिसमा दुई महिना बसेपछि उनले लुकेर परिवारसँग सम्पर्क गरेकी थिइन्।

परिवारले अफिसमा दुई लाख पैसा पठाइदिएपछि उनलाई फर्काइएको थियो।

फर्केर आएलगत्तै उनले ज्ञानेन्द्र, श्याम डंगोल, सुनितामुरमुर, भक्ते परियार, टोपराज अधिकारी र कल्पना भन्ने एक महिलाले मिलिजुली आफूलाई बेचेको भन्दै जाहेरी दिएकी थिइन्।

सुरूमा प्रहरीले उनको जाहेरी लिएन। चार महिनापछि विभिन्न संघसंस्थाको सहयोगमा बल्ल उनले प्रहरीमा जाहेरी दर्ता गराउन सफल भइन्।

जाहेरी दर्ता भएको एक वर्षपछि ज्ञानेन्द्रलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि  श्याम र सुनितालाई पक्राउ गर्‍यो।

प्रहरीले सबैविरूद्ध मुद्दा लगे पनि सरकारी वकिलले भने भक्ते परियार, टोपराज अधिकारी र कल्पनालाई फरार रहेको र ठेगाना नमिलेको भन्दै मुद्दा चलाएन।

जबकी सिस्ने हिमालले सिरियाको अफिसबाट फेला पारेर ल्याएको ६ जनाकै ठेगाना र पासपोर्टको फोटोकपी प्रहरीलाई बुझाएकी थिइन्।

सिस्ने हिमालले प्रहरीमा उजुरी दिएपछि ज्ञानेन्द्र  र श्यामको समूहले उनलाई मुद्दा फिर्ता लिन धम्की दिएका थिए।

रूकुम घर भएकी सिस्ने हिमाल एक वर्षदेखि काठमाडौंमा छिन्। ज्ञानेन्द्रलाई अदालतले छोडिदिएपछि उनले ज्यानमार्नेसम्मका धम्की दिएकाले घर छोड्नुपरेको उनले बताइन्।

‘उनीहरूले मलाई नसकेपछि छोरीलाई मार्ने धम्की दिए अनि मैले घर छोड्नु पर्‍यो,’ सिस्ने हिमालले सेतोपाटीसँग भनिन्, ‘मुद्दा काठमाडौंमै भएकाले म यहीँ आएकी हुँ।’

बिहिबार, साउन २, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री

sidebar ad
Loading...