लैंगिक संवेदनशीलताको अभाव

56 Views

मार्च महिनाको पहिलो साता विशेष गरी महिला विषयले प्राथमिकता पाउने चलन पछ्याउँदै एउटा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पुगेको थिएँ । कार्यक्रम स्थलमा पुग्दा मसँगै रहेकी साथी अचानक अत्यन्तै प्रफुल्लित भइन् । गेटमा रहेका महिला गार्डले रजिस्टरमा हाम्रो जानकारी समेटी भित्र जाने इशारा गरिन् । यो देखेर समान पेसामा रहेकी ती साथीले मेरो हात समातेर एकछिन् सँगै बसौं भन्दै केही कुरा भन्न खोजेकोले म पनि उत्सुक भई एउटा कुनातर्फको मेचमा सँगै बस्यौं ।

अलि गम्भीर हुँदै साथीले भनिन्, ‘थाहा छ ! हरेक संस्थाले अनि कार्यक्रम सञ्चालकले कार्यस्थलमा महिला गार्ड नै राख्नुपर्छ ।’ म एकछिन् अचम्ममा परें । फेरि सोचें, मार्च महिनाको असर होला तर चुप बस्न सकिनँ, त्यसैले किन ? भनेर सोधी हालें । उनले भनिन्, ‘मलाई त अचेल कलेज पढाउन जानै मन लाग्दैन, हाम्रो कलेजमा पुरुष गार्ड छन् ।’ के भो त ? भनी जिज्ञाशा राख्दा, उनले अलि भावुक हुँदै भनिन्, ‘गेटमा पुग्दा सबै पुरुष सहकर्मीलाई स्यालुट गर्छन् तर मलाई देखे कि नदेखेझैँ यताउता हेर्न थाल्छन् । मलाई बडो असहज लाग्छ । स्यालुट नै नगरे पनि उसको व्यवहारमा आएको परिवर्तन मन पर्दैन ।’

एकछिन् त म शब्दविहीन भएँ अनि फेरि उनको आँखामा हेर्दै सोधें, ‘तिमीले कलेज म्यानेजमेन्टलाई भनिनौ ?’ मेरो प्रश्न सकिन नपाउँदै, अनुहारमा विरक्तपन झल्काउँदै पीडा पोखिन्, ‘भनेको हो, एउटा स्टाफ मिटिङकै बेला कुरा राखें तर सबै जना गलल हाँस्न थाले । मुख्य कुर्सीमा आसीन व्यक्तिले चाहिँ के आइमाई कुरा गर्नुभएको भन्दै मिटिङ शुरु गरिहाले– आजको मुख्य एजेन्डाहरु कलेज व्यवस्थापन बलियो बनाउने, आउन लागेको जाँचको प्रश्नपत्रमाथि छलफल गर्ने आदि । त्यसपछि के–के भने, मैले केही याद नै गर्न सकिनँ । कुन बेला मिटिङबाट निस्कूँ जस्तो भयो, सास निस्सासिएको जस्तो महसुस भयो अनि छिट्टै निस्कें ।’

उनको कुरा सुन्दै गर्दा अर्का सहकर्मीको याद आयो, जो अहिले शिक्षण पेसा छोडी घरमै बसेकी छिन् । उनको अनुभव पनि कम पीडादायी थिएन । हरेक दिन कक्षाकोठा उनका लागि संघर्षको मैदानसरह थियो रे ! कक्षाको लागि जानुअगाडि घर बढार्नु, खाना पकाउनु, सबैलाई खुवाउनु अनि जुठो भाँडा राखी घरबाहिर जान नहुने हुँदा भाँडा माझेर कक्षामा पुग्ने बाध्यता । त्यसपछि प्रस्तुतीकरणले विद्यार्थी असन्तुस्ट, म्यानेजमेन्टको गुनासो– तपाईंको स्वर ठूलो पार्नुस्, कक्षामा विद्यार्थीले केही सुनेनन्, अलि बढी मेहनत गर्नुस् । त्यतिले नपुगेर उनलाई सोध्दै नसोधी समय परिवर्तन गरी बिहानैको क्लास राखिदिएपछि त कलेज नछोडी भयो त ? घर बढार्ने, चिया पकाउने, खाना तयार गर्ने काम छोडेर कलेजमा पढाउन जान सम्भव भएन ।

कि स्थानीय तहमा मेयरले उपमेयरलाई बोल्नै नदिने, बोले पनि नसुन्ने अथवा भनौं महत्वहीन रहेको अनुभूति गराउन खोज्ने, मञ्चमा स्थान दिन नचाहने, प्रायः फूलमाला, चियापानको कार्यक्रममा सहयोगी भूमिका दिने जस्ता मनोवृत्ति कहाँबाट आयो ? यसले समाजलाई कता डो¥याउँछ ? यसले नेपालको समृद्धिलाई सघाउला ?

त्यति बेला तिनको कुराले पनि मलाई निकै असहज बनाएको थियो । मनमा प्रश्नहरुको खैलाबैला नै मच्चिएको थियो । सिंहदरबारभित्र जागिर भएको श्रीमान्, काठमाडौंका नाम चलेको विद्यालयमा माध्यमिक स्तरमा पढ्ने दुई छोराहरु । चारजना शारीरिक र मानसिकरुपमा पूर्ण स्वस्थ व्यक्तिहरु रहेको परिवार । तर पनि समय अभावको कारण उनीले काममा निरन्तरता दिन सम्भव नभएर कलेज छोडेको बाध्यता ।

काठमाडौंमा सयभन्दा माथिको संख्यामा रहेका कलेजहरुमा २५ पनि नपुग्ने महिला लेक्चररहरुको संख्या, किन यति न्यून छ ? पेसाप्रति लगाव नभएर, कि पढाउने क्षमता नभएर अथवा समय व्यवस्थापन सम्भव नभएर कि संस्था र परिवारका सदस्यहरु लैंगिक संवेदनशील नभएर ?

भनिन्छ, सबभन्दा ठूलो गुरु आमा नै हो, किनकि सबभन्दा पहिला आमाले नै सिकाउँछिन् । करिब पाँच सयभन्दा माथिको संख्यामा काठमाडौंमा रहेका पूर्वप्राथमिक विद्यालयहरु, जहाँ स–साना नानीहरु, जसका बोली पनि स्पस्टरुपले फुटेको हुँदैन, त्यति बेला तिनलाई केही सिकाउन सजिलो हुँदैन, निकै चुनौतीपूर्ण हुन्छ । त्यसका लागि त्यो तहमा लगभग सय प्रतिशत नै महिला शिक्षिकाहरु छन् । न भाषाको ज्ञान, न त कम्प्युटर÷इन्टरनेटबाट अथवा पुस्तकबाट स्वयं अध्ययन गर्न सक्ने अवस्थाका ती अबोध नानीहरुलाई पहिलो अक्षर सिकाउन सक्ने महिला शिक्षिका, माध्यमिक तह हुँदै कलेज स्तरसम्म पुग्दा त औंलामै गन्न सकिने संख्यामा भेटिन्छन् । सिकाउने क्षमता नै नहुँदो हो भने कसरी कोरा नानीहरुलाई सिकाउन सकेका होलान् ?

यदि कलेजका विषयगत ज्ञानको अभावको कुरा गर्ने हो भने, त्यो विषयमा डिग्री नै नभईकन त कोही पनि त्यहाँ पुगेका हुँदैनन् । त्यसो भए प्रस्तुतिमा समस्या ? के त्यो समस्या महिलाहरुलाई मात्रै हुन्छ ? यदि आवश्यक तयारी गर्न सकिएन भने पुरुष प्राध्यापक पनि उक्त समस्याबाट गुज्रिनुपरेको हुँदैन ?

त्यसो भए मुख्य समस्या के त ? कतिपय कलेजहरुमा त एकजना पनि महिला लेक्चरर नरहेको अवस्थासम्म पनि छ । साथै अति न्यून संख्यामा रहेका महिला लेक्चररहरु प्रायः उस्तै–उस्तै व्यवहारगत समस्याहरु भोग्दै कोही समस्यासँग जुधिरहने त कोही छोड्ने गरेका भेटिन्छन् । के यसको मुख्य कारण एक महिलाको वरिपरि रहेको संसार लैंगिक संवेदनशील नभएकोले होइन ? यदि सबै पक्ष लैंगिक संवेदनशील हुँदो हो भने एउटा महिलाको व्यक्तिगत जीवन, पारिवारिक जीवन र कार्यक्षेत्रका प्रस्तुति झनै प्रभावकारी हुँदैनथे होला ?

जबसम्म सम्बन्धित कुराबारे संवेदनशीलाता हुँदैन तबसम्म उक्त कुरासँग सम्बन्धित कार्य र व्यवहारहरु उपेक्षित भैरहनु स्वाभाविक नै हो । त्यसैले लैंगिक संवेदनशीलता महिलालाई मात्रै होइन समाजमा रहेका सबै लिंगीलाई गरिनुपर्छ, ताकि एकको समस्या, बाध्यता र विशेषता अर्काले महसुस गर्न सकून् र सहयोग गर्न सकून् । तर विडम्बना ! प्रायः महिलाका कार्यक्रम भन्दै पुरुष सहभागिता ज्यादै न्यून देखिन्छ, जुन अधुरो हो । अब अधुरो प्रयासले पूर्ण सफलता देला त ?

माथिका अवस्थाहरुमा गार्डले समान व्यवहार नगर्नु, कलेज व्यवस्थापनमा उसको कुरा बुझ्न त परै जाओस् सुन्न पनि नचाहनु, विद्यार्थीले कक्षामा सहयोग नगर्नु, घरको कार्यमा कसैको सहयोग नहुनु तथा कलेजले कुनै परामर्श नै नगरी विनाजानकारी असजिलो हुने गरी समय तालिका परिवर्तन गरिदिनु, यो सबमा प्रत्यक्ष सहभागी पुरुषहरु नै साँच्चै दोषी हुन् कि व्यक्तिलाई सामाजिकीकरण गरिने प्रक्रिया र इकाइहरु ?

जसले गर्दै महिलालाई अक्षम देख्ने तथा घर–भान्छामा मात्रै सुहाउने व्यक्तिको रुपमा हेर्ने दृष्टिकोणहरु जन्माइदियो अनि महिलालाई कदर गर्नु, अवसर दिनु, घरायसी कार्यमा सहयोग गर्नु भनेको नेपाली समाजले कोरेको पुरुषार्थको परिभाषा विपरीत भएकोले त्यस्तो नगर्ने जमात बढ्यो । एउटा व्यक्ति जन्मेदेखि जुन किसिमले उसलाई सामाजिकीकरण गरिन्छ वा भनौं लैंगिकीकरण गरिन्छ, उसको व्यवहार र जिम्मेवारीलाई जुन आकार दिइन्छ, उसले जीवनमा त्यस्तै व्यवहारलाई निरन्तरता दिन रुचाउनु स्वाभाविक हो ।

जबसम्म उसको ज्ञानको आकाश फराकिलो बन्दैन, उसको सोच पनि परिमार्जन हुँदैन । त्यसैले माथिका सबै पात्रहरुमा देखिएका चित्रण उही सामाजिकीकरणको असर हो । जसबाट महिला स्वयम् पनि अलग छैनन् । सानै बेलादेखि विभिन्न किसिमका पात्रहरुले आफ्नो वरिपरि, पढ्ने पुस्तक, हेर्ने टिभी कार्यक्रम तथा प्रचारप्रसारमा देखाइने उदाहरणहरुबाट जे सिके त्यही दोहो¥याउने हुन् । त्यसैले यसको लागि पुरुषहरुलाई मात्रै दोषी भन्नुभन्दा लैंगिक संवेदनशीलताको अभाव बुझ्न सकिन्छ तर परिवर्तनको सम्बाहकको रुपमा पुरुषसँग पनि अपेक्षा गरिनु नाजायज होइन ।

यसपालिको १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस लैंगिक समानताको महत्व दर्शाउने राष्ट्रिय नारासहित मनाइयो । समान सोच र समान व्यवहार महसुस गराउन लैंगिक संवेदनशीलता नबढाई सम्भव छ ? त्यो संवेदनशीलता बढाउने वातावरण सिर्जना गर्ने जिम्मा कसको ? युगौंदेखि जरो गाडेर रहेको पितृसत्तात्मक व्यवस्थामा महिलालाई कम आँकलन गर्ने, अवसर दिन नखोज्ने, उसलाई केही आउँदैन भन्दै पन्छाउन खोज्ने अर्थात् समान सामाजिक सम्मान दिन नचाहने प्रवृत्ति जुन विभिन्न कार्यक्रमहरुमा बेलाबखत बाहिर आउने गर्छ, जस्तो कि स्थानीय तहमा मेयरले उपमेयरलाई बोल्नै नदिने, बोले पनि नसुन्ने अथवा भनौं महत्वहीन रहेको अनुभूति गराउन खोज्ने, मञ्चमा स्थान दिन नचाहने, प्रायः फूलमाला, चियापानको कार्यक्रममा सहयोगी भूमिका दिने जस्ता मनोवृत्ति कहाँबाट आयो ? यसले समाजलाई कता डो¥याउँछ ? यसले नेपालको समृद्धिलाई सघाउला ?

महिलालाई दिइने काममा समानता र सम्मानको अभावमा उब्जिँदै गएको वितृष्णालाई घटाउन सम्बन्धित सबै पक्षले कहिले सोच्ने ? अहिले त झन् स्थानीय तहमा लैंगिक समानता बढाउने भनी विभिन्न कार्यक्रमहरुलाई प्रोत्साहन गरिने बेलामा विभिन्न रुपले जुन अप्रभावकारी कार्यक्रमहरु सञ्चालित गरिने परिपाटी देखिएको छ, यसले लैंगिक संवेदनशीलता बढाउनुको सट्टा उल्टो असर गर्दै घर, परिवार र समुदायबीच द्वन्द्व नबढाउला भन्न सकिन्न । त्यसैले सही रुपले उचित तरिका अपनाउँदै अगाडि बढ्नुको विकल्प छैन, नत्र के यसरी नै पात्र र प्रवृत्ति दोहो¥याउँदै २०३० सम्म लक्षित गरिएको लैंगिक समानता प्राप्त गर्न सकिएला ? न्युजअपनेपालबाट साभार(लेखिका झा समाजशास्त्री हुन् ।)

शुक्रबार, साउन ३, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...