भैंसीलाई भत्ता !

62 Views

ज्येष्ठनागरिक तथा एकल महिलाले पाएको सामाजिक सुरक्षाभत्ता र अस्पतालमा सुत्केरी भएवापत महिलाले पाउँदै आएको भत्ताको बारेमा त थाहा पाइएकै थियो । तर, सुत्केरी भैंसीले भत्ता पाएको कहिलेकाहीं मात्रै सुनिन्थ्यो । म्याग्दीको मंगला गाउँपालिकाले भने स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएसँगै पहिलो वर्षदेखि नै कृषकले पालेका भैंसीलाई भत्ता वितरण गर्दै आएको उपाध्यक्ष सिर्जना केसीले बताइन् ।
मंगला–२, लाम्पाटाकी शिवकुमारी क्षत्रीले गतवर्ष गोठमै सुत्केरी भैंसीको भत्ता पाइन् । घरदैलोमै पुगेर गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले सुत्केरी भैंसीलाई रेखदेख गर्न, पौष्टिक दाना खुवाउन र पाडापाडी हुर्काउन ३ हजार भत्ता उपलब्ध गराए । क्षत्रीसँगै लाम्पाटाकी सुमन घर्तीले सुत्केरी भैंसीलाई नै खर्च गर्नेगरी गोठमै ३ भत्ता बुझिन् । गत आर्थिक वर्षमा गाउँपालिका भित्रका २० वटा भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको छ ।
व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्दै गाउँपालिकालाई जिल्लामै पशुपालन र कृषिमा नमुना बनाउने उद्देश्यले गत वर्षदेखि सुत्केरी भत्ता वितरण गरिएको पशु सेवा शाखाका प्रमुख दिर्घबहादुर खड्काले बताए । उनले स्थानीय र उन्नत जातका गाई भैंसीलाई भत्ता वितरण गर्न थालेपछि पशुपालनमा समेत आर्कषण बढेको बताए । गाउँपालिकाले भैंसी व्याएपछि धेरै दुध उत्पादन हुने भन्दै पाडापाडी काटेर खाने चलन हटाउन पाडापाडी संरक्षणको प्रतिबद्धता जनाउनेलाई भत्ता वितरण गर्नेगरी सार्वजनिक सूचना जारी गरेको थियो । सूचना अनुसार कृषकले आवेदन दिएपछि भैंसी व्याएको एकदुई महिनापछि नियमित अनुगमन समेत गर्ने गरेको शाखा प्रमुख खड्काले बताए ।
गाउँपालिकाले गतवर्ष कुँहुमा ६ जना, बाबियाचौरमा ७ र बरंजामा ७ जना कृषकको सुत्केरी भैंसीलाई ६० हजार भत्ता वितरण गरेको जनाएको छ । भत्ता पाउनका लागि कृषकले गोठमै रहेको भैंसी र जन्माएको पाडापाडीको फोटोसहित वडाको सिफारिस र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ । भैंसी सुत्केरी भएलगत्तै किसानले गाउँपालिकालाई खबर गर्न थालेको हुँदा आगामी दिनमा थप प्रोत्साहनसहितका कार्यक्रम ल्याउने गाउँपालिका अध्यक्ष रोकाको भनाइ छ । उनले सूचनाका आधारमा गाउँपालिकामा आउने कृषकले भत्तालाई सदुपयोग गर्ने भएकाले पनि गाईभैंसीको तथ्याङ्क सङ्कलनमा सहज हुने बताउँदै स्थानीय जातका भैसीसँगै उन्नत जातका गाईपालनलाई पनि प्रोत्साहन गरिने बताएका छन् ।
भैंसीका पाडापाडी खरिद बिक्री गर्नेलाई जरिवाना समेत तोक्ने तयारी गाउँपालिकाले गरेको छ । विगतमा एकदुई लिटर दुधको लोभमा भैंसी व्याएको एक हप्तामै पाडापाडी बेच्ने किसानले अहिले भत्तासँगै संरक्षणका लागि गाउँपालिकाले सुरू गरेको विभिन्न कार्यक्रमको सहयोगमा पाडापाडी पाल्न थालेका छन् । यसैबीच गाउँपालिकाले एक वडामा एक बोयर बोका अनुदान, दलित तथा अति विपन्न १ सयजना महिलालाई बाख्रापालन, व्यवसायिक गाईभैंसी फर्म तथा सुधार, नमुना गोठ, घाँस काट्ने मेसिनसहित किसानकै हातमा पुग्ने गरी २३ लाख अनुदान उपलब्ध गराएको छ । जिल्लामा मंगला गापाले मात्रै सुत्केरी गाई भैंसीलाई भत्ता वितरण गर्दै आइरहेको छ ।

सोमवार, साउन ६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...