गुणस्तरीय शिक्षाको विकल्प छैन: प्राचार्य सुवेदी

528 Views

एक महिना अगाडि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशन भएपश्चात् कक्षा ११ को भर्ना पनि सुरु भैसकेको छ । यसै सन्दर्भमा कक्षा ११-१२ को अध्ययन, विगतमा परीक्षाको उत्तीर्ण दर, वर्तमान शैक्षिक अवस्था, परिवर्तित सन्दर्भमा स्थानीय तहको भूमिकालगायत विषयहरुमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित चारवटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुसँग हामीेले कुराकानी गरेका छौं । यसै सिलसिलामा प्रकाश माध्यमिक विद्यालयका प्राचार्य हरिकृष्ण सुवेदीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
एसइइको नतिजालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
सबैभन्दा पहिला रुप्से दैनिक पत्रिकालाई धन्यवाद दिन चाहन्छु । शैक्षिक सत्र २०७५ मा सञ्चालित एस.ई.ई. परीक्षाको नतिजाको सम्बन्धमा यहाँले प्रश्न सोध्नुभएको छ । विगतका वर्षको तुलनामा यसवर्ष हाम्रोमा उल्लेख्य नतिजाभन्दा पनि औसत नतिजा आएको छ । ‘ए’ प्लस वा ‘ए’ ग्रेड ल्याउने विद्यार्थीलाई केन्द्रमा राखेर अन्य उपलब्धिलाई नजरअन्दाज गर्नु हाम्रो विचारमा ठीक होइन । फेरि प्रकाश माध्यमिक विद्यालयमा पढ्ने बहुसंख्यक विद्यार्थीको पारिवारीक पृष्ठभूमी र आर्थिक अवस्थाले पनि हामीलाई धेरै ठूलो अपेक्षा गर्न दिँदैन । यसवर्ष प्रकाश माध्यमिक विद्यालयबाट जम्मा ७६ जना एस.ई.ई.मा सम्मिलित भएकोमा ४ जनाले GPA, ६ जनाले GPA 2.85 वा सो भन्दामाथिले २७ जनाले, GPA 2.45 वा सो भन्दामाथि, ३९ जनाले GPA 2.35 वा सो भन्दामाथि ल्याएका छन् । हामी सबैलाई थाहा भएको कुरा हो, अन्यत्र भर्ना नपाएपछि वा शुल्क तिर्न नसक्ने अवस्था आएपछि प्रकाश माविलाई सम्झिने चलन छ । विभिन्न क्षमता र पृष्ठभूमीका विद्यार्थीलाई एउटै छानामुनि पढाउँदा हुने कठिनाइका बाबजुद जस्तो नतिजा आएको छ, त्यसमा असन्तुष्ट हुने कुनै कारण देखिँदैन ।
अबको शैक्षिक जनशक्ति कस्तो हुनुपर्छ ?
निश्चय पनि अबको शैक्षिक जनशक्ति भनेको विश्वबजारमा बिक्ने खालको हुनु आवश्यक छ । तर, त्यसका लागि आवश्यक पूर्वाधारको विकास हुनु पहिलो शर्त हो । शैक्षिक संस्थालाई गुणस्तरीय बनाउनका लागि योग्य र प्रतिबद्ध शिक्षक, कर्मचारी र सहयोगी भूमिकामा विद्यालय व्यवस्थापन समिति आवश्यक पर्छ । यसबाहेक नीतिगत तहमा रहेका कतिपय समस्यालाई सुल्झाउने दायित्व भने तालुकवाला निकायको जिम्मेवारी हो ।
शिक्षाको क्षेत्रमा तपाईंले सोचेको परिवर्तन के होला ?
हाम्रो शिक्षाप्रणाली निर्वाहमुखी र परम्परागत ढर्राको छ । संघीय व्यवस्था लागू भएपछि स्थानीय तहको पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार स्थानीय सरकारले पाएका छन् । स्थानीय माटो र संस्कृति सुहाउँदो पाठ्यक्रम निर्माण गरेर स्थानीय सरकारले यसलाई उपयोग गर्न सक्छन् । अझ स्पष्ट शब्दमा भन्ने हो भने अबको शिक्षाप्रणाली भनेको “Think globally, Act locally” को अवधारणामा आधारित हुनुपर्छ । यसले मात्रै हाम्रो आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने मेरो बुझाई हो ।


राज्यले शिक्षामा गर्नुपर्ने परिवर्तन के–के होलान् ?
शिक्षामा राज्यले परिवर्तन गर्नेभन्दा पनि शिक्षामा राज्यले गर्नुपर्ने मुख्य काम के हो भन्दा उपयुक्त हुन्छ होला । सबैभन्दा पहिले शिक्षा र स्वास्थ्यका सम्बन्धमा आफ्नो नीति के हो भन्ने कुरा राज्यले स्पष्ट पार्नुपर्छ । हाम्रो संविधानमा एकातिर १२ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गर्ने भनिएको छ । अर्कोतिर ११ र १२ कक्षामा अध्यापन गर्ने शिक्षक, कर्मचारीको सम्बन्धमा संघीय शिक्षा ऐनले केही बोलेको छैन । यस्तो दोहोरो नीतिले शिक्षानीतिमा स्पष्टता आउँदैन । दुई तिहाई जनमतसहित सरकार सञ्चालन गरेको हुँदा अहिले विषयगत मन्त्री वा सरकारका लागि काम गर्न सहज वातावरण उपलब्ध भएको छ । यस्तो अवस्थामा मुलुकको शिक्षा नीति के कस्तो हुने ? निजी शैक्षिक संस्थाको बारेमा सरकारको धारणा के हो ? भन्ने बारेमा पनि अबको संघीय शिक्षा ऐनले बोल्नुपर्छ । अर्को कुरा सरकारले शिक्षा क्षेत्रलाई तुलनात्मक रुपमा न्युन बजेट उपलब्ध गराउँदै आएको छ । सरकारले भनेजस्तो “समृद्ध नेपाल सुखी नेपाली” को उद्देश्यलाई पूरा गर्ने हो भने गुणस्तरीय शिक्षाको व्यवस्था गर्नुको विकल्प छैन । मुलुकको परिवर्तन गर्छौं भन्ने तर, निर्णय नगर्ने हो भने त कसरी हुन्छ होला र ?
अन्त्यमा केही भन्नु छ कि ?
झण्डै ९१ वर्ष पहिले गुरुकूल शिक्षा शुरु गरेको संस्था नै अहिलेको प्रकाश माध्यमिक विद्यालय हो । यस विद्यालयले सामाजिक आवश्यकता र अभिभावकको रुचिलाई ध्यानमा राख्दै समय समयमा आफ्नो तह र विषयगत अध्यापनमा नयाँपन ल्याउँदै आएको छ । पछिल्लो समय २०६५ सालदेखि प्रकाश माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञान विषयसहितको उच्च शिक्षा प्रदान गर्दै आएको छ । खासगरी क्षमता भएर पनि आर्थिक अभावकै कारण विज्ञान विषय पढ्नबाट बञ्चित भएका विद्यार्थीहरुले घरमा भएको रुखासुखा खाएरै भए पनि उच्च शिक्षा पूरा गरुन् भन्ने उद्देश्यले विज्ञान विषय पढाउन सुरु गरिएको हो । तर, अझै पनि कतिपय ठाउँमा यस बारेमा सही सूचना पुग्न नसकेको हामीलाई लागेको छ । त्यसैले क्षमता भएर पनि आफ्नो रुचि अनुसारको विषय पढ्न नपाएका विद्यार्थीहरुलाई प्रकाश माविमा अध्ययन गरेर आफ्नो उज्ज्वल भविष्य सुनिश्चित गर्न आग्रह गर्दछु ।
अन्त्यमा, प्रकाश माध्यमिक विद्यालयको गतिविधि र शैक्षिक अवस्थाको बारेमा संस्थागत धारणा राख्ने मौका दिएकोमा रुप्से दैनिकलाई फेरि पनि धन्यवाद ज्ञापन गर्दछु ।

मङ्लबार, साउन १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...