“विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति बनाऔं”

145 Views

एक महिना अगाडि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशन भएपश्चात् कक्षा ११ को भर्ना पनि सुरु भैसकेको छ । यसै सन्दर्भमा कक्षा ११/१२ को अध्ययन, विगतमा परीक्षाको उत्तीर्ण दर, वर्तमान शैक्षिक अवस्था, परिवर्तित सन्दर्भमा स्थानीय तहको भूमिकालगायत विषयहरुमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित  न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
एसइईको नतिजालाई कसरी हेर्नुभएको छ ?
नेपालमा एसइईको इतिहास खासै लामो छैन, वि.सं. २०७२ सालबाट एसएलसी परीक्षालाई एसइई नामांकरण गरिएको हो भने पास र फेल भन्ने आधार हटाएर अक्षराङ्कन पद्दति (लेटर ग्रेडिङ)मा मापन गर्दै आइएको छ । फलामे ढोकाको रुपमा लिइने एसएलसी जसलाई पढाइको अत्यन्तै महत्वपूर्ण उपलब्धिको रुपमा अर्थात् अनिवार्य पास गर्नुपर्ने तहको रुपमा लिइएको छ । विद्यालय तह पुरा गरेर उच्च शिक्षाका लागि यसलाई पार गर्नेैपर्ने अवस्थाले गर्दा पनि अत्यन्तै महत्वपूर्ण रुपमा हेरिन्छ । हामीले उत्तीर्ण गरेको एसएलसी र अहिलेको एसइई परीक्षामा धेरै अन्तर छ । कारण जब पास र फेल भन्ने कुरा हटाएर स्तरीकरण गर्न थालियो यसले विद्यार्थीमा पढ्ने मानसिकता कम हुँदै गएको छ ।
यस वर्षको नतिजालाई हेर्ने हो भने पढाइको स्तर खस्कँदै गएको देखिन्छ । खस्केको यस अर्थमा कि उच्चतम जिपिए प्राप्त गर्नेको सङ्ख्या न्युन छ भने, मध्यम र न्युन जिपिए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या अधिक छ । यसले पनि के देखाउँछ भने मूल्याङ्कन पद्दतिले पनि यसलाई प्रभाव पारेकै हो । मेरो भनाइको अर्थ फेरी पुरानै पद्धतिमा फर्कनुपर्छ भन्ने होइन तर, सिकाई क्रियाकलाप र विद्यार्थीमा पढाइप्रतिको रुची बढाउन सम्पूर्ण पक्षबाट पहल गरिनुपर्दछ । म्याग्दीको नतिजालाई हेर्ने हो भने सन्तोषजनक नतिजा नै देखिन्छ तर, एसइई परीक्षा नै शैक्षिक र सिकाई उपलब्धि मापन गर्ने आधार होइन । कस्तो परीक्षा प्रणाली छ परीक्षा केन्द्रको वातावरण लगायतका कुराले नतिजा राम्रै देखिएला तर त्यसपछिको अवस्था सन्तोषजनक छैन ‘ए’ प्लस÷ए ग्रेड प्राप्त गर्ने विद्यार्थीहरु पनि कक्षा ११ र १२ मा कता हो कता बिलिन हुँदै गएको यथार्थ पनि छ । अझै यसलाई त निजी र सामुदायिक भन्दै तुलना गर्दै अनावश्यक प्रतिस्पर्धा गर्दै आएको पाइन्छ । परीक्षा सञ्चालन प्रक्रिया, परीक्षाको वातावरण, अभिभावक शिक्षकको भागदौड लगायतका कुरामा मेरो पुरै बिमति छ । एउटा विद्यार्थीलाई स्वतन्त्रपूर्वक लेख्ने वातावरण प्रदान गरौं, आफ्नो दिमागले जति सक्छ त्यति लेखोस् अनि बल्ल यसको खास मूल्याङ्कन हुन्छ । अहिलेको यो पद्धतिलाई मैले देशको शैक्षिक प्रतिशत उच्च देखाउनको लागि मात्रै हो कि जस्तो देखेको छु ।
अबको शैक्षिक जनशक्ति कस्तो हुनुपर्दछ ?
सरल भाषामा भन्छु, मलाई कलमले मुटुको सर्जरी गर्न आउँछ, मुखले पुल, भवनको डिजाइन गर्न आउँछ, किसानी कसरी गर्ने खरर भन्न सक्छु तर यथार्थमा मलाई केही गर्न आउँदैन । यही हो अहिलेसम्मको जनशक्ति भनेको किताब, कक्षाकोठामा मात्रै सीमित राखेर गरिने सिकाई क्रियाकलापले यस्तै जनशक्ति तयार गर्ने त हो । प्रयोगात्मक शिक्षातर्फ अभ्यास गर्ने हो भने मात्रै समाजले चाहेको जनशक्ति तयार गर्न सकिन्छ । धेरैले व्यवहारीक शिक्षा जीवनपयोगी शिक्षा भन्दै फलाकिरहेका छन् । के हो व्यवहारिक शिक्षा भनेको ? हामीलाई नारा चाहियो त्यसलाई हल्ला–खल्ला ग¥यो पुग्यो हो । हाम्रो जस्तो परिवेशमा यस्तो स्रोत साधनले र जनशक्तिले कसरी व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्न सकिन्छ ? कसैले सोचेकै छैनौं । विज्ञान विषय पढाई हुन्छ खोई त्यसको लागि प्रर्याप्त प्रयोगशाला ? कम्प्युटर पढाई हुन्छ खोई प्रर्याप्त कम्प्युटर र जनशक्ति ? पेशा व्यवसाय जस्ता विषयको अनिवार्य पढाई हुन्छ खोई त्यसका लागि प्रर्याप्त प्रयोगात्मक सिकाई अभ्यास र पूर्वाधार ? हो यस्तै–यस्तै चुनौतीका कारण हामीले चाहेको जस्तो जनशक्ति तयार गर्न सकेका छैनौं । अबको जनशक्ति भनेको नेपाली र विश्व बजारमा सजिलै बिक्न सक्ने खालको हुनुपर्छ जसको लागि एउटा शिक्षकले चाहेर मात्रै पनि हुँदैन राज्य, विद्यालय र अभिभावक सबैले चासो दिनुपर्छ ।
शिक्षाको क्षेत्रमा तपाईले सोचेको परिवर्तन कस्तो हुने अपेक्षा गर्नुभएको छ ?
शिक्षाले जीवनमा परिवर्तन ल्याउनुपर्छ त्यो पनि सकारात्मक परिवर्तन । जबसम्म हामीले पढाएका नानीबाबुहरुमा सकारात्मक परिवर्तन आउँदैन त्यसको कुनै अर्थ छैन । कक्षाकोठा र पाठ्यपुस्तक मात्रै सिकाइको परिधि होइन । जब एउटा शिक्षक स्वतन्त्र भएर आफ्नो कलालाई उपयोग गर्न सक्दछ अनि मात्रै सिकाइको वातावरण तयार हुन्छ । सरकारी विद्यालयमा राजनीतिले बढी प्रश्रय पायो भन्ने कुरा आउँछ, भने निजीमा दमन, शोषण र स्वतन्त्रता छैन भन्ने आरोप । यो कुरा बहसका विषय पक्कै हो तर नेपालको जुनसुकै विद्यालयले उत्पादन गरेको जनशक्ति राष्ट्र निर्माणमा योगदान दिने त हो नि । शिक्षालाई प्रतिस्पर्धा होइन सहकार्यको रुपमा अगाडि बढाउनुपर्दछ भन्ने मेरो बुझाई छ । हाम्रा विद्यार्थी ध्भिि त्चबष्लभम होइन ध्भिि भमगअबतभम हुनुपर्छ । संस्कारयुक्त सिकाई हुनुपर्दछ । सरकारले पाठ्यक्रम निर्माण गर्दा सामाजिक, आर्थिक, भौगोलिक, अवस्था र जनशक्ति उपलब्धतालाई समेत आधार मानेर निर्माण गर्नुपर्दछ । खास कुरो एउटा शिक्षक कक्षामा अपडेट भएर इमान्दारिताका साथ पढाउँछ भने स्वभावैले सिकाई राम्रो हुन्छ । त्यसैले सिपयुक्त संस्कारयुक्त, र विश्वबजारमा बिक्ने गरी जनशक्ति तयार हुनुपर्दछ । राज्यले राम्रोलाई राम्रो भनेर यथार्थ मूल्याङ्कन गर्न सक्नु पनि पर्दछ । देशमा दुईथरी शिक्षा हनुहुँदैन तर निजीको योगदान राम्रो छ भने त्यसलाई उत्साहित गर्न किन कन्ज्युस्याँई गरिन्छ?
राज्यले शिक्षामा गर्नुपर्ने परिवर्तन के–के हुन सक्छन् ?
सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अगाडि बढाएको छ तर शिक्षाको अवस्था दयनीय छ । स्कुल, कजेलहरुमा योग्य, दक्ष र सिपमूलक गुणस्तरीय शिक्षाको अभाव छ । सरसर्ती हेर्दा नेपालको शिक्षाले शैक्षिक बेरोजगारी उत्पादन गरिनै रहेको छ । हाम्रो शिक्षा क्षेत्र अझै पनि पुरानै शैलीमा अल्मलिएको छ । सुधार गर्नका लागि शैक्षिक योजना तथा रणनीति नबनेका होइनन् । तर पनि ती नीति या त अपूर्ण थिए, या त राम्रोसँग कार्यान्वयन हुन सकेका छैनन् । शिक्षा सुधार प्रक्रिया गन्तव्यमा पुग्न नसक्नुको मूल कारण जिम्मेवार तहका व्यक्तिहरुमा इमान्दारिता नहुनु हो भन्ने कुरा स्वीकार गर्नुपर्छ । अझै पनि गुणस्तरीय शिक्षा भनेको राम्रो अङ्क ल्याएर परीक्षामा पास हुनु हो भन्ने मात्र बुझिन्छ । यति मात्रै होइन पाठ्यक्रम निर्माण, शिक्षा क्षेत्रका लागि विनियोजन गर्ने बजेट विद्यालयमा शिक्षक दरबन्दी, लगायतका कुरामा सरकारले केही गर्न सकेको छैनभन्दा पनि अत्युक्ति नहोला । के कति जनसङ्ख्याको लागि कस्तो विद्यालय स्थापना गर्ने, साधारण र प्राविधिक शिक्षा के कसरी सञ्चालन गर्ने, पाठ्यक्रम कस्तो हुने, कतिवटा विषय अध्यापन गराउने, शिक्षकको योग्यता र तालिम के कस्तो हुने, भाषाको माध्यम के हुने, शैक्षणिक क्रियाकलाप र शैक्षिक सामग्री कस्तो हुने, प्रविधिको प्रयोग के कसरी गर्ने, अनौपचारिक शिक्षा के कस्तो मोडलबाट सञ्चालन गर्ने जस्ता विषयलाई राज्यले अत्यन्तै महत्वका साथ हेर्नुपर्दछ अनि मात्रै शिक्षामा सुधार आउन सक्ला ।
कक्षा १२ को नतिजालाई कसरी हेर्नुभएको छ ?
केही दिन अघि मात्रै कक्षा १२ जसलाई एसएलसी भनिएको छ, त्यसको नतिजा प्रकाशन भएको छ । कक्षा १२ को नतिजा पनि अक्षराङ्कन पद्दति र जिपिएमा प्रकाशन गर्ने गरिएको छ । राष्ट्रिय नतिजालाई हेर्ने हो भने जिपिए ४ ल्याउने सङ्ख्या छैन भने उच्चतम जिपिए ल्याउनेको सङ्ख्या पनि अत्यन्तै न्युन छ । एसइई र राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा तुलानात्मक रुपमा हेर्ने हो भने ११ र १२ को परीक्षा अलि स्तरीय छ । अझै म्याग्दीको सवालमा भन्नुपर्दा कक्षा १० को एसइई परीक्षा कक्षा ११ र १२ को जत्तिकै स्तरीय बनाउने हो भने विद्यार्थीको वास्तविक क्षमता र विद्यालयको स्तर मापन अर्कै हुन्थ्यो होला । म्याग्दीमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा अहिलेसम्म विद्यालयगत रुपमा मूल्याङ्कन भएको त छैन तर सामाजिक सञ्जाल र समाचारमा आए अनुसार निजी तथा सरकारी दुवै विद्यालयको नतिजा उत्कृष्ट छ । काठमाडौं, पोखाराका विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरी छनौट गरेर लिएका विद्यार्थीहरुको तुलनामा हामीले सबैखाले विद्यार्थी राखेर पढाउँदा पनि करिब ७० प्रतिशतको नतिजा दिन सक्नु पनि चानचुने कुरा होइन । व्यवस्थापन समूहतर्फ वेष्ट पोइन्ट आवासीय माविको नतिजा जिल्लामा उत्कृष्ट नै छ । समग्रमा जिल्ला प्रथम, द्वितीय पनि हुन सकेको छ । मेहेनेति शिक्षक, विद्यार्थीहरुको नियमितता र आन्तरिक परीक्षा तथा अन्य कुराको नियमनले गर्दा यो सम्भव भएको हो ।
अन्त्यमा, केही भन्नु छ कि ?
आफ्नो भनाइ राख्ने अवसर दिनुभएकोमा रुप्से दैनिकलाई धन्यवाद । अन्त्यमा, मानिसको एउटा समाजमा जन्मन्छ, समाजमा जन्मिसकेपछि उसलाई हिँड्डुल गर्न, समाजसँग घुलमिल हुन, समाजसँग समान भएर शिक्षित नागरिकको पहिचानसहित बाँच्नका लागि उसलाई शिक्षाको आवश्यकता पर्दछ । शिक्षा लिएर नै मानिसले समाजलाई स्वच्छ र समृद्ध बनाउन सघाउ पु¥याउँछ । जुन समुदायका मानिसले शिक्षा आर्जन गरेका छन् । ति समुदायका मानिस शिक्षित मात्र हुँदैन उनीहरुले आफ्नो टोल, समुदाय र समाजको विकास र समृद्धिको लागि घर घरबाट पहल गरी विकास र समृद्धितिर लम्कन्छन् । त्यसकारण विकास भन्ने कुरा भौतिक संरचनाको पक्ष भए पनि मानवीय सोच, विचार, दृष्टिकोण र सकारात्मक सोच पनि हुनुप¥यो । त्यसलाई निर्देशित गर्नका लागि मुख्य रुपमा शिक्षाको अहम् भूमिका रहेको छ ।

मङ्लबार, साउन २१, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...