देउतालाई नै चल्न छाडे सुका, मोहोर र डबल

22 Views
किरणकृष्ण श्रेष्ठ

हिजोअस्तिको काठमाडौं

पार्किङबाट गाडी निकाल्दा मैले सोधेँ, ‘कति भयो भाइ?’

‘एक घन्टा भएछ, २५ रुपैयाँ।’

मैले वालेटबाट बीस रूपैयाँको नोट झिकेँ। पाँच रूपैयाँको नोट थिएन। गाडीमा भएका चानचुन एक-दुईका डबल र अरू सिक्काहरू गन्न थालेँ।

उताबाट खस्रो स्वर आयो, ‘ह्या बीस रुपैयाँ मात्र दिनुस्, खुद्रा चाहिएन।’

उसले त्यो बीसको नोट मेरो हातैबाट खोसेर लियो र भन्यो, ‘जानुस्।’

पैसा बचेकोमा खुसी हुनुपर्ने मेरो मन ती डबलका सिक्काप्रति हेला सुनेर दुःखी भयो। दया जाग्यो ती डबलप्रति। कुनै समय यिनै डबलको कत्ति रवाफ थियो! मेरो स्मरणमा ती दिनहरू घुम्न थाले।

म राणाकालीन वा ‘ब्लाक-एन्ड-ह्वाइट’ जमानाको कुरा गर्दै छैन। म कुरा गर्दैछु २०३३-३४ देखि २०४६-४८ बीचको, जब मेरो बाल्यकाल र वयस्ककाल बिते।

मेरो प्रारम्भिक स्मरणमा एक रुपैयाँको डबल प्रचलित नै थिएन। एकको त नोट हुन्थ्यो- अगाडि राजाको फोटो र पछाडि जोडी हरिणको चित्र भएको नीलो रङको नोट। एकपछि पाँचको नोट अनि १०, ५०, १००, ५०० र १००० का नोट थिए। पछि २, २० र २५ का नोट थपिए। एक, दुई र २५ का नोट अचेल विरलै देखिन्छन् ।

नोटलाई रङ र त्यसमा छापिएको जनावरको चित्रबाट पनि चिन्ने र चिनाउने गरिन्थ्यो। ‘हरियो गैंडा’ भन्नेबित्तिकै सयको अन्दाज भैहाल्थ्यो। ‘बाघ’ भनेपछि पाँच सय र ‘हात्ती’ भनेपछि हजारको नोट दिमागमा आउँथ्यो।

जनावरको आकृति र नोटको रकम यति प्रचलित थियो, दुईको नोट निष्कासन हुँदाको एउटा किस्सा सुनाउँछु।

२०३८–४० सालतिर हुनुपर्छ। दसैं बेला थियो। दुई रुपैयाँको नोट भर्खर छापिएर निष्कासन भएको थियो। त्यति व्यापक चल्तीमा थिएन। त्यो नोटको पछाडि चितुवाको चित्र थियो।

दसैंमा खर्च जोहो गर्न काठमाडौंमा गाउँबाट खसी बेच्न आउनेहरू खुब भेटिन्थे। खसीको मोल ठूलो-सानो हेरेर हजारदेखि पन्ध्र सय रूपैयाँ पर्थ्यो। त्यतिमा बाह्र-पन्ध्र धार्नीको खसी मज्जाले आउँथ्यो। एक जना फटाहाले गाउँबाट आएको सोझो मान्छेसँग दुइटा खसीको २५ सयमा मोल छिनेछ। अनि दुईको नोट निकालेर ‘यो हेर बाघ’ भन्दै झुक्याउन खोजेछ।

चितुवाको चित्रलाई बाघ भनेर झुक्किनु ठुलो कुरो भएन। गाउँमा चितुवालाई नै बाघ भन्ने चलन छँदैछ। उसले ‘नोट त सानो रहेछ नि’ भनेछ। जवाफमा त्यो फटाहाले भनेछ, ‘यो नयाँ नोट हो लाटा।’

बिचराले सजिलै पत्याएछ- कालो अक्षर भैंसी बराबर।

अंक नचिन्ने त्यो सोझो गाउँलेले पाँचवटा ‘बाघ’ को सट्टा एउटा खसी दिएछ। पछि पसलमा किनमेल गर्न जाँदा पो छाँगाबाट खसेझैं भएछ। ऊ त्यहीँ खसी बजारमा डाँको छाडेर रुँदैथ्यो भन्ने किस्सा निकै प्रचलित थियो।

एक रूपैयाँको डबल प्रचलनमा आएको ०४० सालतिर जस्तो लाग्छ। त्यसअघि पनि टक्सार विभागले एकको डबल निकालेको थियो, तर आमप्रचलनमा पुग्ने संख्यामा थिएन होला। एकको डबल आउनुअघि सिक्का भनेकै मोहोर (५० पैसा), सुका (२५ पैसा), १० पैसा र ५ पैसा थियो। दुई र एक पैसा पनि थिए, तर मैले ती सिक्का बजारमा प्रयोग गरिनँ। आमाले पूजाको सिदामा लालीगुराँस अंकित एक पैसा र डाँफे अंकित दुई पैसा चढाएको मात्र याद छ।

राष्ट्रिय फूल र राष्ट्रिय चरासँगै राष्ट्रिय जनावर अंकित पैसा पनि थियो। पाँच पैसाको सिक्कामा एकापट्टि गाई र अर्कोपट्टि सगरमाथा चुचुरोमा डमरू झुन्डिएको त्रिशुलको चित्र हुन्थ्यो। त्यो बेला यो पाँच पैसा अर्को एउटा कामलाई पनि अत्यधिक प्रयोगमा आउँथ्यो। सिक्का उछालेर ‘टस’ गर्नुपरे यही पाँच पैसा प्रयोग हुन्थ्यो। बेलायतको ‘हेड अर टेल’, भारतको ‘चित या पट’ को पर्याय बनेको थियो, गाई कि त्रिशुल।

अचेल पाँच पैसाको सिक्का हराए पनि टस गर्दा ‘गाई कि त्रिशुल’ भन्ने चलन छँदैछ।

बजारमा त्यही पाँच पैसाको पनि कम्ता रवाफ थिएन। म सानो हुँदा पाँच पैसामा पाँचवटा पिपी, मिठाइ, तितौरा किनेर खाएको याद छ।

बुबासँग पशुपति जाँदा सडक किनार माग्न बसेकालाई हामी भेटी दिन्थ्यौं, भेटेजति र पुगेजति सबैलाई। भेटी दिन हामी केटाकेटीको हारालुछ हुन्थ्यो। बुबाले एक-एक मोहोर दिनुहुन्थ्यो। त्यसलाई हामी पाँच-पाँच पैसामा साट्थ्यौं र पुगेजतिको कटौरामा खसाल्दै हिँड्थ्यौं।

पाँच पैसाको भेटीले पनि राम्रै आशिष भेट्थ्यो। देउता थानमा चढाउँदा पनि त्यही पाँच पैसा हुर्याउँथ्यौं।

पाँच पैसाभन्दा माथि सुकाको चलन थियो। हामी साथीहरू लामबद्ध भएर एकले अर्कोलाई समात्दै रेलगाडी खेल्दा एउटा गीत गाउँथ्यौं– रेल गाडी छुक छुक छुक… २५ पैसा झिक झिक झिक…। त्यो यस्तो जमाना थियो, जब हामी रेलको भाडा नै २५ पैसा मात्र कल्पना गर्थ्यौं।

‘सिलाबर’को पाँच पैसा हलुको हुन्थ्यो, २५ पैसा अलि गह्रौं धातुको थियो। खल्तीमा राख्न पाउँदा खल्ती नै गह्रुंगो लाग्थ्यो। ८-१० कक्षा पढ्दासम्म काठको सिन्का ठोँसेको पहेँलो-हरियो पानीबरफ २५ पैसामा खाएको मलाई सम्झना छ। त्यसैताका एक मोहोरले दूधबरफ– ‘मिल्क बार’ पाइन्थ्यो। चकलेटमा चोपेको ‘चोको बार’ र कप आइसक्रिम भने एक रुपैयाँ पर्थ्यो।

मिल्क बारसम्म त कहिले कहिले आँटिन्थ्यो, एक रुपैयाँ पर्ने ‘चोको बार’ र कप आइसक्रिम भने गाडामा कोरेको रंगीन चित्र हेर्यो, थुक निल्यो बस्यो। कोनवाला आइसक्रिम त कल्पनैबाहिर।

सुका बोट राखेर किट्टी खेल्दा एक खालमा पाँच सुका, चारचोटि किट्टी भएपछि पाँच रुपैयाँको खाल जित्दा संसार जितेझैं हुन्थ्यो। ती सुका-मोहोर छनछन बजेको सुन्दा कस्तो आनन्द लाग्थ्यो।

साझा बस चढ्दा खलासीले हत्केलाभरि सिक्का राखेर छ्यांग छ्यांग गर्दै भाडा माग्थे, नोट भने औंलाले च्यापेर राख्थे। च्यापेर राख्ने भनेको १, २, ५, १० सम्मका नोट, त्योभन्दा ठूला त बगली वा कन्तुरमा जान्थे। भाडा नै एक मोहोर हुने त्यो समय कसैले १० को नोट दियो भने खलासी झर्को मान्दै भन्थ्यो, ‘चानचुन दिनुस् न।’

स्कुलमा ८-१० कक्षा पढ्दासम्मै टिफिन लाने थोरैमध्ये म थिएँ। प्रायः सबै पैसा ल्याउँथे। टिफिन टाइममा बाहिर गएर समोसा, मोमो, डोनट, कोक खाएर क्लासमा आएर डकार्थे। कहिलेकाहीँ टिफिन बनाउन नभ्याउँदा भने मैले पाँच मोहोर पाउँथेँ। पाँच मोहोर खर्च गर्ने विकल्प यस्ता हुन्थे:

विकल्प १- समोसा १ को १ रुपैयाँ, कोक– ३ मोहोर

विकल्प २- समोसा २ को २ रुपैयाँ, मिल्कबार बरफ– १ मोहोर

विकल्प ३- डोनट १ को १ रुपैयाँ, कोक– ३ मोहोर

विकल्प ४- मःम १ प्लेट साढे २ रुपैयाँ

अघि पार्किङवालाले छाडेको पाँच रुपैयाँमा त हामी दुई भाइको नास्ता मज्जाको हुन्थ्यो।

सिदाको भेटीमा राखिने एक–दुई पैसा विस्थापित भएपछि त्यसको ठाउँ पाँच-दस पैसाले लियो। त्यसपछि सुका र मोहोर, अनि रुपैयाँ डबलले।

सिक्का बजारबाट विस्थापित हुने क्रममा अन्त्यतिर पूजाको सिदामा पुग्दो रहेछ। अचेल सिदामा त सिक्का नै देखिन छाड्यो। अस्ति घरमा श्राद्ध हुँदा १०-२० को नोट देखेँ। कहिलेकाहीँ त ५०-१०० को नोट पनि देखिन्छ। मन्दिर पुग्दा प्रायःले १०-२० को नोट नै चढाएको देख्छु।

सिदा र देउतालाई नै चल्न छाडेका सिक्काहरू बजारमा झन् के काम!

के नेपालको बजारबाट सिक्का विस्थापित हुने धुनमा लागेकै हुन् त?

म अहिले सम्झिरहेको छु ती छग:, नीग:, न्याग:, झीग:, न्याना, छस्का, छमो अनि छर्का या डबल।

म सम्झिरहेको छु ती एक पैसा, दुई पैसा, पाँच पैसा, दस पैसा, बीस पैसा, एक सुका, एक मोहोर र रुपैयाँ डबलका ती रवाफिला दिन।

र, हेर्दैछु यी एक, दुई, पाँच र दस रुपैयाँका सिक्काहरूका महत्वहीन समयहरू।

@KiranKrShrestha

(यो स्तम्भ  सेतोपाटी डटकममा पाक्षिक रूपमा प्रकाशन हुनेछ।)

आइतवार, साउन २६, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...