गाजनेमा भगवान् जगन्नाथको रथयात्रा आज

130 Views

म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको रथयात्रा आज हुने भएको छ । रथयात्राका लागि आवश्यक सबै तयारी पुरा भएको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ ।
समितिको आयोजनामा यसअघि बिहीबार सदरमुकाम बेनीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी रथयात्राबारे आवश्यक जानकारी गराइसकिएको छ । रथयात्रा कार्यक्रमका लागि हालसम्म पत्राचार, प्रचारप्रसार, मञ्च व्यवस्थापन, अतिथि खबरलगायत आवश्यक सबै तयारीहरु सकिएको समितिका सचिव निलकण्ठ शर्माले बताए । रथयात्रा कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले गर्ने कार्यक्रम तय गरिएको छ ।
रथयात्रासँगै जगन्नाथ मन्दिरमा सरकारी भोज (खिरखाने) कार्यक्रमको समेत आयोजना गरिएको छ । हरेक वर्ष श्रावण शुक्ल द्वादशी तिथिमा भगवान् जगन्नाथको मन्दिर परिसरमा रथयात्रा गर्ने परम्परा रहिआएको हुँदा उक्त दिन प्रत्यक्ष रुपमा जगन्नाथको दर्शन गर्न पाइन्छ । वर्षको एकपटक सर्वसाधारणका लागि मूर्ति खुल्ला गर्ने गरिएको छ । ऐतिहासिक पर्वत राज्यका समालवंशी तृतीय मल्लराजा दिलिपबम मल्ल (डिम्ब)ले १५६० तिर भारतको उडिसा राज्यबाट भगवान जगन्नाथको मूर्ति ल्याएर गाजनेको हलहलेचौरमा स्थापना गरेका थिए ।
सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, बंगुर र सुंगुरपालन तथा अवैध घरेलु मदिरा उत्पादनमा रोक लगाइएको छ । प्रसिद्ध जगन्नाथ मन्दिरभित्र भगवान् जगन्नाथसहित राम, लक्ष्मण, कृष्ण, बलराम, चतुर्वाहु, नृसिंह, गणेश र विष्णुका अवतार मूर्तिहरु रहेका छन् । मन्दिरभित्र रहेका अधिकांश मूर्तिहरु धातुको सहायताबाट बनाइएको छ । समुन्द्री सतहदेखि २ हजार मिटरको उचाइमा अवस्थित जगन्नाथ मन्दिर जिर्ण बन्दै गएपछि २०६९ सालको मंसिर महिनामा साप्ताहिक महायज्ञ लगाई त्यसबाट सङ्कलित रकमले मन्दिरको पुनर्निर्माण गरिएको छ ।

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...