म्याग्दीमा १४ ओटा तातोपानीका कुण्ड !

80 Views

प्रताप बानियाँ
हिमाली जिल्ला म्याग्दीमा १४ ओटा तातोपानीका कुण्डहरु रहेको पाइएको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा तातोपानीका कुण्डहरु (मुहान) भेटिएका हुन् । तातोपानीका कुण्डहरुमध्ये अधिकांशको संरक्षण गरिएको छ ।
बेनी नगरपालिकामा मात्रै ५ ओटा तातोपानीका मुहानहरु रहेका छन् । बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजार क्षेत्रमा रहेका यी मुहानलाई संरक्षण गरिएको छ । तातोपानीको तल्लो बजार नजिकै रहेको यस कुण्डभित्र तातोपानीका २ ओटा मुहान रहेका छन्भने बाहिरपट्टी २ ओटा र ओढारमूनि एकवटा मुहान रहेको स्थानीयले बताएका छन् ।
यसैगरी जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने अन्नपूर्ण गाउँपालिकामा ५ ओटा तातोपानीका कुण्डहरु रहेका छन् । अन्नपूर्ण–१, दोवास्थित सेकार तातोपानी कुण्ड, २ नम्बर वडाको भूरुङ–तातोपानी २ वटा मुहान, ५ नम्बर वडाको शिखमा रहेको पाउद्वार तातोपानी र घारको पोखरेबगरमा रहेको रातोपानीको कालीगण्डकी किनारमा तातोपानीको मुहान रहेको छ ।
त्यस्तै पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–१, गूर्जा र २ मुदीको सिमानामा पर्ने फल्टिङ खोलामा तातोपानीको कुण्ड रहेको गाउँपालिकाले जनाएको छ । यस्तै मुदीको बगरामा पनि तातोपानीको कुण्ड रहेको छ । यता मंगला गाउँपालिका–३, बराङ्जाको पखेर र उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दर्मिजामा गरी तातोपानीको एक–एक वटा मुहानहरु रहेका छन् ।
स्वास्थ्यका दृष्टिकोण र सदरमुकामदेखि नजिकै रहेको हुँदा सिङ्गा तातोपानीको कुण्ड पर्यटक र बिरामीको मुख्य रोजाइमा पर्ने गरेको छ । तातोपानी कुण्डबाट प्राप्त आम्दानीले स्थानीय सरस्वती माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापन गरिनुका साथै कुण्डमा कार्यरत कर्मचारी र कुण्डमा थप पूर्वाधार विस्तारमा लगानी गरिएको छ । सिङ्गा तातोपानी कुण्डमा देशका मुख्य नेताहरुको उपस्थिति बढ्नुका साथै दैनिकजसो बिरामीहरु आउने गरेका छन् ।
मंगलाको बराङ्जामा रहेको तातोपानी कुण्डको संरक्षण गर्न चालु वर्षमा बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष सिजना केसीले बताइन् । त्यसैगरी गूर्जा र मुदीको सिमानामा रहेको तातोपानी कुण्डमा १० लाख रुपैयाँको लगानी गरेर कुण्डको क्षमता बढाइएको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छिन् । उनका अनुसार मुदीको बगरामा रहेको तातोपानी कुण्डको पनि आवश्यक संरक्षण गरिएको छ भने दुवै कुण्डमा एक पटकमा ३०÷३५ जनाको क्षमता रहेको छ । धौलागिरी बेसक्याम्प जाने बाटोमा पर्ने भएकाले बगरामा शौचालय र ढाँटी समेत बनाइएको छ ।
उत्तरी भूरुङ–तातोपानीमा रहेको कुण्ड विशेष गरी पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु रहेको छ । शिखको पाउद्धारमा रहेको तातोपानी भने अत्यन्तै नुनिलो रहेको छ । रघुगंगाको दर्मिजामा रहेको तातोपानी कुण्डमा पनि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी संरक्षण गरिएको जानकारी दिएको छ । तातोपानी कुण्डको संरक्षण र संवद्र्धन तथा प्रचारप्रसारमा स्थानीय तहहरु लागिपरेका छन् ।

सोमवार, साउन २७, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...