कलेजो दानदाता र पत्रकारहरु सम्मानित

101 Views

ओमकुमारी शान्ति कोषले पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलकी ९ महिने सियाना रन्तिजाको जीवन बचाउने कलेजोदाता चन्द्र केसीलाई सम्मान गरेको छ । कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीलाई शनिबार सम्मान गरेको हो ।
उनलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कदरपत्र प्रदान गरेका थिए । कार्यक्रममा कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाएर पहिलोपटक जिल्ला फर्केकी सियानालाई पुष्पगुच्छाले स्वागत गरिनुका साथै नेकपा अध्यक्ष गोविन्द पौडेलले बल्दो पानस उपहार दिएर उज्ज्वल भविष्यको कामना गरेका छन् ।
यसैबीच अधिवेशनको अवसरमा शान्ति कोषले जिल्लाका १० जना पत्रकारहरुलाई पनि सम्मान गरेको छ । ‘दिन जान्यो, बाँच्न जान्यो’ भन्ने मूल नारासहित म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल संस्था ओमकुमारी शान्ति कोषले आफ्नो पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा नेपाल टेलिभिजनका जिल्ला संवाददाता प्रताप बानियाँ, कान्तिपुर दैनिकका घनश्याम खड्का, ईन्सेक प्रतिनिधि तथा रुप्से दैनिकका कार्यकारी सम्पादक अमृत बास्कुने, अन्नपूर्ण पोष्टका सन्तोष गौतम, गोरखापत्रका ठाकुरप्रसाद आचार्य, नयाँ पत्रिकाका कमल खत्री, आर्थिक अभियानका ध्रुवसागर शर्मा, एभिन्युज टेलिभिजनका घिरन खत्री, एपिवानका राकेश शर्मा र फेवा टेलिभिजनका साधन राम्जाली रहेका छन् ।
यसैगरी संस्थातर्फ बेनी अनलाइन डटकम डटएनपीलाई सम्मान गरिएको छ भने सम्मान जेनिसा पुरीले ग्रहण गरेकी थिइन् । उनीहरुलाई प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, सल्लाहकार प्रमोद श्रेष्ठ र भवबहादुर भण्डारीले सम्मानपत्र प्रदान गरी सम्मान गरेका थिए ।
ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषको प्रत्येक अभियानलाई सञ्चार जगतको माध्यमबाट प्रचारप्रसार गरी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको उपचारलाई सहज बनाउन खेलेको भूमिका तथा परोपकारी क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कनसहित अधिवेशनको अवसरमा पत्रकारहरुलाई सम्मान गरिएको बताए ।

शनिबार, भदौ १४, २०७६ मा प्रकाशित

सम्बन्धित सामाग्री



sidebar ad
Loading...